© २०२३
नीजि क्षेत्रको सबैभन्दा ठूलो छाता संगठन प्यूठान उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि व्यवसायीहरू चुनावी दौडधुपमा व्यस्त छन् । तीनवर्षे कार्यकाल सकिएपछि आउँदो मंसिर २९ गते संघको नयाँ नेतृत्वका लागि अधिवेशन हुँदैछ । सर्वसम्मतको प्रयास थालिएपनि सहमती जुट्न नसकेपछि व्यवसायीहरू चुनावी मैदानमा उत्रिने भएका छन् ।
मंसिर दोस्रो सातासम्म सम्पन्न गर्नेगरी हाल नौ वटा बजार क्षेत्रको निर्वाचन चलिरहेको छ । शनिबारसम्म झिमरुक गाउँपालिका र प्यूठान नगरपालिका बजार क्षेत्रको अधिवेशन सकिएको प्यूठान उद्योग वाणिज्य संघका कार्यकारी निर्देशक प्रकाश खनालले जानकारी गराए । झिमरुक बजार क्षेत्रमा धर्म बहादुर जिसीको नेतृत्वमा बामपन्थी विचारमा आस्था राख्ने व्यवसायीहरूको प्यानलै विजयी भएको छ । नौवटै स्थानीय तहमा संघको बजार क्षेत्र बिस्तार भइसकेको खनालले बताए । उनका अनुसार मंसिर १७ गतेसम्म सबै बजारक्षेत्रमा अधिवेशन सकिने छ ।
ऐरावती गाउँपालिका बजार क्षेत्रको अधिवेशन विशेष कारणले स्थगित भएको छ । एशोसियट सदस्य तर्फ सगरमाथा पञ्चरत्न गु्रप प्रालीका झवेन्द्र शर्मा निर्विरोध विजयी भएका छन् । राज डेकोर होम विजुवारका प्रोपाइटर शर्मा संघकै निवर्तमान कार्यकारी निर्देशक हुन् ।
बस्तुगत सदस्यमा विजुवारकै व्यवसायी सूर्यचन्द्र खनाल निर्विरोध निर्वाचित भएका छन् । उनले हार्डवयर व्यवसायी संघ प्यूठानको तर्फबाट प्रतिनिधित्व जनाएका थिए । संघमा जिल्लाभरका २ हजार ४३ जना व्यवसायीहरूले मतदान गर्न पाउने छन् ।
जिल्ला नेतृत्वका लागि दुइ प्यानल बनाएर चुनावी मैदानमा उत्रने देखिएको छ । बामपन्थी आस्था राख्ने व्यवसायीहरूले प्यानल तयार गरेर प्रचारप्रसारमा लागिसकेका छन् । संघका बरिष्ठ उपाध्यक्ष केदारमान कक्षपतीको नेतृत्वमा प्यानल तयार भएको छ । बरिष्ठ उपाध्यक्षमा यज्ञ बहादुर खत्री(प्रभात), प्रथम उपाध्यक्ष दुर्गा भुषाल, द्धृतिय उपाध्यक्ष मूक्तीप्रसाद पोख्रेल, महासचिव कृष्णभक्त गिरी र उपमहासचिवमा पदम खड्का चुनावी मैदानमा छन् । पूर्व एमाले, माओवादी र राष्ट्रिय जनमोर्चामा आस्था राख्ने व्यवसायीहरूले चुनावी तालमेल गरेका हुन् । नेपाली कांग्रेसमा आस्था राख्ने व्यवसायीहरूले हालसम्म प्यानल खडा गरेका छैनन् ।
तर, जिल्ला नेतृत्वमा केही व्यवसायीहरूको आकांक्षा भने देखिएको छ । गौमुखी अर्डर एण्ड सप्लार्यस बाग्दुलाका प्रोपाइटर संघका पूर्व सचिवालय सदस्य प्रमोद पोख्रेलले अध्यक्षमा उम्मेदवारी दिने प्रतिक्रिया दिएका छन् । तर, पार्टीको जिल्ला नेतृत्वले अझैसम्म नेतृत्वमा जानेहरूको लगाएको छैन् । अध्यक्ष पदकै लागि संघका कोषाध्यक्ष रामचन्द्र पौडेलको नाम चर्चामा आएपनि उनले बरिष्ठ उपाध्यक्ष केदारमान कक्षपतीलाई नै सहयोग गर्ने प्रतिक्रिया दिएका छन् । ‘व्यवसायिक संस्थालाई राजनीति गर्ने थलो बनाउनुहुँदैन्’,उनले भने,‘बरिष्ठ उपाध्यक्षलाई मानेर जाने निर्णय गरेका छौँ ।’ गाउँगाउँका उद्योग, व्यवसायीहरूले नेतृत्व फेरिएपनि आफूहरूको दुःखमा साथ नपाएको गुनासो गर्दै आइरहेका छन् । à