© २०२३
रुपन्देही लगायत तराईका सामुदायिक वनहरु जैविक विविधता सम्पन्न छन् । चुरे क्षेत्रबाट बगेर आउने खोला र खोल्साहरुमा पानी भैरहने र ठुला ठुला रुख, पोथ्रे झाडी तथा घाँसे क्षेत्रहरु भएकोले जिल्लाका उत्तरी क्षेत्रका सामुदायिक वनहरुमा हरिण, बाह्रसिंगे,जंगली खरायो, निलगाई, बँदेल,चरीबाघ, वन बिरालो, बाँदर, स्याल,फ्याउरो, मयुर, वन कुखुरा, लुईंचे, तित्रा , सुगा,अजिंगर र गोहोरो जस्ता पशुपन्छी र सरिसृपहरु प्रसस्तै पाईन्छन् । यहाका सामुदायिक वनहरू बन्यजन्तु सम्पन्न भएपनि वन समुहहरु भने वन व्यवस्थापन र उपयोगमा मात्र केन्द्रित रहेको पाईन्छ. वन फँडानी नियन्त्रण, रुख विरुवाको काँटछाँट र काठ दाउरा बिक्रि गरि आम्दानी गर्ने खालका कार्यहरु सबै सामुदायिक वन समुहहरुले गरिरहेका छन् । केहि सामुदायिक वन समुहले वन भित्र बेसार खेति, घाँस खेति र फलफुल खेति समेत गरेर चर्चा बटुलेका छन् । तर, वनको अभिन्न पाटोको रुपमा रहेका वन्यजन्तुहरुको संरक्षण , व्यवस्थापन र उपयोग सम्बन्धि कार्यहरु भने सामुदायिक वन समुहहरुका योजना र कार्यक्रम भित्र पर्न सकेका छैनन् ।
सामुदायिक वन विकासको मार्गदर्शन २०७१मा वनमा पाईने वन्यजन्त’ एवं जैविक विविधता र तिनको संरक्षण सम्बन्धी व्यवस्थालाइ अनिवार्य रुपमा कार्ययोजनामा समेट्नुपर्ने व्यवस्था गरिएको छ । यिनै बाध्यताले गर्दा सबै सामुदायिक वन उपभोक्ता समुहको कार्य योजनामा ’ सामुदायिक वन भित्र कुनैपनि वन्यजन्तु पक्रन र मार्न पाईने छैन. यदि कसैले कार्ययोजना र बिधान बिपरित वन्यजन्तु मरेमा वा नोक्सानी पुर्याएमा आवस्यक कारवाहीको लागि जिल्ला वन कार्यालय वा सम्वन्धित निकायमा पेश गरिने छ साथै वन र वन्यजन्तुको महत्वबारे जनसमुदायमा व्यापक प्रचारप्रसार गरिनेछ ’ भन्ने वाक्यांश समावेस पाईन्छ । वन्यजन्तु मार्न र पक्रन पाईने छैन भन्ने उल्लेख गरे पनि आफ्नो वनमा रहेका वन्यजन्तुको संरक्षण र व्यस्थापन कसरि गर्ने भन्नेकुरा कार्य योजनामा उल्लेख गरेको भेटिदैन । त्यसैगरी वन ऐन २०७६ अन्तर्गत बनेको वन नियमावली २०७९ ले सामुदायिक वनको कार्य योजनामा ’ वन्यजन्तु सम्बन्धि प्रावधान’ राख्नुपर्ने उल्लेख गरेको देखिन्न ।
जंगलका रुखहरुबाट प्रत्यक्ष र तत्कालै लाभ लिन पाईने , तर वन्यजन्तुबाट त्यस्तो लाभ छिटो लिन नपाईने भएकोले सामुदायिक वन समुहहरुले वन्यजनुको व्यवस्थापनमा चासो देखाएको पाइदैन । वन्यजन्तुलाई अलग राखेर वन संरक्षण हुन् नसक्ने र वनमा वन्यजन्तुको पहिलो अधिकार हुने भएकोले वन व्यवस्थापन सम्बन्धि हरेक कार्यहरु गर्दा वन्यजन्तुलाई असर नपु¥याईकन गर्नु पर्नेमा सामुदायिक वन समुहहरुले त्यस तर्फ राम्ररी ध्यान दिन सकेको देखिदैन । वन्यजन्तुको लागि आहारा र चहलपहलको लागि वन क्षेत्र भएर मात्र पुग्दैन । धेरैजसो वन्यजन्तुको लागि बाक्लो झाडी र ठुला रुख सहितको मानव चहलपहल रहित जंगल आवस्यक पर्छ. तर कुनैपनि सामुदायिक वन समुहहरुले आफ्नो वन क्षेत्र को आंशिक हिस्सा पनि मानव चहलपहल रहित र झाडियुक्त राख्न सकेका छैनन् । सबै वन क्षेत्रमा थिनिंग र प्रुनिंग जस्ता बिरुवा काँटछाँट कार्यहरु गर्ने र सबै मौसममा उपभोक्ताहरुलाई वन प्रवेश गर्न दिने जस्ता कार्यले गर्दा वन्यजन्तुको आहारविहारमा असर परिरहेको छ ।
पछिल्लो समयमा वैज्ञानिक÷दिगो वन व्यवस्थापनका नाममा पुराना ठुला र धोद्रा रुखहरु सखाप पार्ने क्रम जताततै देखिन्छ । त्यसैगरी वैज्ञानिक वन व्यवस्थापन गर्न काष्ठ प्रजातिका रुखहरुलाइ मात्र महत्व दिएर गैह्र काष्ठ प्रजातिका रुखहरुको फडानी भैरहेकोछ । ठुला र धोद्रा रुखहरु वन्यजन्तुका वासस्थान हुन भने गैह्र काष्ठ प्रजातिका रुखहरु शाकाहारी वन्यजन्तुका आहारा हुन् । सामुदायिक वन समुहले पुराना र ठुला रुख काटेपछि रुखलाई आश्रयस्थल बनाउने चराचुरुंगी र साना वन्यजन्तु समस्यामा परिरहेका छन् ।
चुरे क्षेत्रको भूक्षयको कारणले गर्दा सामुदायिक वन भित्रका खोला र खोल्साहरु क्रमश पुरिदै गएको वनमा पानीको अभाव देखिन थालेको छ. आहारबिहार र प्रजननको लागि उपयुक्त वातावरण वन भित्र नभएपछि वन्यजन्तुहरूको प्रजनन, वृद्धि र विकास सुस्त त भएको छ नै, वनमा भएका वन्यजन्तुहरू पनि अन्यत्र बिस्थापित हुन थालेका संकेतहरु देखिन थालेका छन् । वर्षेनी दोहोरिने वन डढेलो, चरिचरन, भूक्षय, प्रदूषण र जंगल काँटछाँट कार्यले वन्यजन्तुलाई चर्न क्षेत्र, आहारा र पानीको कमी हुन थाले पछि सामुदायिक वनका वन्यजन्तुहरू पनि र आहारको खोजीमा छिमेकी गाउँका खेतवारीमा आउन थालेका छन् । वन्यजन्तुले बालीनाली नोक्सानी गरेर सताउन थालेपछि वन नजिकका गाउँले र सामुदायिक वन समुह बिचमा द्वन्दका स्वरहरु समेत सुनिन थालेका छन् । सामुदायिक बनलाई वन्यजन्तु मैत्री बनाउन अव पनि ढिला गरियो भने अहिले भएका वन्यजन्तुहरू पनि हराउदै जाने र तथा वन र समुदाय बीचको द्वन्द अझ चर्कदै जाने निश्चित छ । यो स्थितिले भविस्यमा वन संरक्षणमा चुनौती थप्ने कुरामा कुनै शंका छैन ।
वन्यजन्तु वनका आधा पाटो हुन् । जुन वनमा वन्यजन्तुहरु हुदैनन् ति वनलाई जीवित मानिदैन र त्यहाको पारिस्थितिक प्रणाली पनि लामो समयसम्म जीवित रहिरहन सक्दैन । वन संरक्षण गर्दा वन्यजन्तु र जैविक विविधताको संरक्षणलाइ प्राथमिकता दिनुपर्ने नितिगत ब्यवस्था गरिएको छ । सरकारका पछिल्ला नितिहरुले त सामुदायिक वन समुहहरुलाई वन्यजन्तु पालन गरि आम्दानि हासिल गर्न पाउने बाटो समेत खोलिदिएको छ । अहिले वातावरण संरक्षणको नाम दिएपनि सामुदायिक वनको व्यवस्थापन उपभोक्ताको आवस्यकता पूर्ति र आम्दानीको दृष्टिले मात्र गरिएको छ , जसले गर्दा सामुदायिक वन समुहहरुको ध्यान वन पैदावार विकासमा मात्र केन्द्रित छन् । वनस्पति र वन्यजन्तुको आपसी सम्बन्धले मात्र वनको अस्तित्व रहन सक्ने र यहि सम्बन्धको उपयोग गरि समुदायले प्रसस्त आर्थिक र वातावरणीय लाभ लिन सक्ने भएपनि समुदाय यो काममा चुकेको देखिन्छ । वनमा वन्यजन्तुको उचित संरक्षण र व्यवस्थापन गर्न सकियो भने वनको संरक्षण त हुनेछ नै पर्या पर्यटन, नियमानुसार वन्य जीवको पालन र विक्रीबाट समेत सामुदायिक वन समुहहरुले दिर्घकालिन लाभ लिन सक्नेछन् । [email protected]