© २०२३
विद्यालयमा बालबालिका नियमित नभएपछि रिब्दीकोट गाउँपालिका, पाल्पाले विद्यालयमा दिवा खाजाको व्यवस्था गरेको छ । गाउँपालिकाको ख्याहा, जोगीथुममा रहको कालिका आधारभूत विद्यालयमा दिवा खाजाको व्यवस्था गरिएको हो । उक्त विद्यालय कुमाल बस्तीमा रहेको छ । खाजाका लागि गाउँपालिकाको सहयोग बाहेक स्वतन्त्र रूपमा १ लाख ६० हजार रकम संकलन भएको छ ।
विद्यार्थीको उपस्थिति न्यून र नियमित उपस्थिति नदेखिएपछि दिवा खाजा कार्यक्रम लागू गरिएको गाउँपालिकाका शिक्षा शाखाका प्रमुख विष्णुप्रसाद बेल्बासले बताए । उनका अनुसार गाउँपालिकाले खाजा बापत प्रतिविद्यार्थी दैनिक २० रुपियाँ र खाजा व्यवस्थापन सहयोगीका लागि मासिक चार हजार दिने गरिएको छ । खाजा पकाउने भाँडा, खाने प्लेट र ग्याँसको व्यवस्था गरिएको छ । बालबालिका विद्यालयमा आएको हाजिरी अनुसार निकासा दिइएको र विद्यालयले बार अनुसार रुटिङ बनाएर खाजा खुवाइरहेको बेल्बासेको भनाइ छ ।
दिवा खाजाले विद्यालय छाड्ने र अनियमित हुने दर कम भएको विद्यालयका प्रधानाध्यापक सुरेश कुमालले बताए । खाजा शुरु भएपनि बालबालिकाहरू खुसी भएर विद्यालय आउँछन् प्रधानाध्यापक कुमालले भने, भोक लाग्यो भन्दै विद्यालय छाडेर जाँदैनन् । बालबालिकालाई बारपिच्छे चना अण्डा, रोटी तरकारी, हलुवा, पुलाउ तरकारी, फलफूललाई खाजाको रूपमा दिने गरिएको छ । उनले गाउँपालिकाका कर्मचारी, जनप्रतिनिधी, संघसंस्थाहरूबाट दिवा खाजा व्यवस्थापनका लागि छुट्टै १ लाख ६० हजार रकम उठेको र उक्त रकमलाई बैंकको खातामा राखिएको कुमालको भनाइ छ । उक्त विद्यालयमा कक्षा १–८ मा १ सय ११ बालबालिका र बालविकास केन्द्रमा २० जना बालबालिका रहेका छन् ।
गाउँपालिकामा ३७ सामुदायिक र २ संस्थागत गरी ३९ वटा विद्यालय छन् । गाउँपालिकाले १५ विद्यालयलाई शिक्षण सहयोग अनुदानका लागि २० लाख बजेट विनियोजन गरेको छ । दरबन्दी शून्य रहेको, दरबन्दी कम रहेको र नीजी स्रोतका शिक्षक रहेका विद्यालयका लागि उक्त बजेट अनुदानको रूपमा कार्यविधि बनाएर दिइने गाउँपालिकाका प्रमुख नारायण बहादुर जिसीले बताए ।
…………………….
विद्यार्थीको उपस्थिति न्यून र नियमित उपस्थिति नदेखिएपछि दिवा खाजा कार्यक्रम लागू गरिएको हो । बालबालिका विद्यालयमा आएको हाजिरी अनुसार निकासा दिइएको र विद्यालयले बार अनुसार रुटिङ बनाएर खाजा व्यवस्थापन विद्यालयले गरिरहेको छ ।
बिष्णुप्रसाद बेल्बासे
शिक्षा शाखा प्रमुख, रिब्दीकोट गाउँपालिका, पाल्पा