© २०२३
बाबुआमाको मृत्युपछि बेसाहारा बनेका तीन बालकलाई पाल्पाको रैनादेवी छहरा गाउँपालिकाले विद्यालय जाने वातावरण बनाएको छ । गाउँपालिकाले गास, बासको व्यवस्था गरेपछि तीन बालकहरू दैनिक विद्यालय गइरहेका छन् । गाउँपालिकाको यो प्रसंसनिय कार्य अरू पालिकाहरूका लागि पनि उदाहरण बनेको छ ।
रैनादेवी छहरा गाउँपालिका वडा नं. ४ बिसाउना गाउँका खिमबहादुर बिटालु र आमा टेक कुमारी बिटालुका तीन छोराहरूलाई गाउँपालिकाले विद्यालयमा अध्ययन गर्ने वातावरण बनाएको हो । खिमबहादुर र टेक कुमारीले बुटवलको मैनाबगरमा साँझ बिहानको छाक टार्न र शरीर ढाक्ने एकसरो कपडाका लागि संघर्ष गर्दागर्दै कहिल्यै नफर्किने गरी संसारबाट बिदा भएका थिए । बाबा खिमबहादुर बिटालुको क्षयरोगका कारण मृत्यु भएको थियो भने आमाको मृत्यु कुन रोगबाट भएको थियो भन्ने बारे भने यकिन छैन ।
बाबुआमाको मृत्युपछि ८ बर्षका बिशाल बिटालु, ९ बर्षका सुसन बिटालु र १० बर्षका शुसील बिटालु सडक बालबालिकाको अवस्थामा पुगेका थिए । उनीहरूको अवस्था दयनीय देखेपछि काका चन्द्र बिटालुले गाउँ ल्याएका थिए । उनीहरूको पालनपोषण र पढाइको बारेमा गाउँपालिकाको वडा नंं. ४ मा गई समस्या राखेपछि वडा कार्यालयले उनीहरूका लागि पढाइको व्यवस्था गरेको बेसहारा बनेका बालकका काका चन्द्र बिटालुको भनाइ छ ।
दाजुको छ जना छोरा र एक छोरी गरी सात सन्तान रहेकोमा छोरीको विवाह भइसकेको, तीन जना बेपत्ता रहेको चन्द्र बिटालुले बताए । गाउँमा उनीहरूको जग्गाको नाममा एउटा झुपडी बन्ने पाखोबारी मात्र छ भने घरबास समेत छैन । उनीहरू काका चन्द्रको घरमा आश्रय लिइरहेका छन् ।
खान र ओढ्ने बिछ्याउने कपडा वडा कार्यालयले व्यवस्थापन गरिदिएको छ । खानका लागि चामल, दाल, तेलको व्यवस्था पनि वडाले गरिरहेको छ । उनीहरूको विद्यालयको पोशाक, झोला र स्टेशनरी पनि वडा कार्यालयले किनिदिएको छ । ति बालकहरूलाई विद्यालय तहको शिक्षाका लागि गाउँपालिकाको वडाले सहयोग गर्ने पोख्रेलरको भनाइ छ । उनीहरू बस्नका लागि एक कोठा बनाउनमा सहयोग जुटाउने सोंच रहेको उनले बताए ।
फरक फरक उमेर भएका ती तिन दाजुभाईहरू भदौ महिनादेखि गाउँको सल्लेरी प्राथमिक विद्यालयमा भर्ना भई अध्ययन गरिरहेका छन् । रैनादेवी छहरा गाउँपालिकाको वडा नं. ४ का अध्यक्ष बिष्णु पोख्रेलले वडामा ती बालकको समस्या लिई आएपछि सहयोगको हात बढाएको बताए । पोख्रेलका अनुसार वडा समितिको निर्णय गरी उनीहरूको पढाइ, पोशाक, खाद्यान्न र बसाई व्यवस्था गरिएको हो । गाउँपालिकाभित्र रहेको कुनै पनि बालबालिकालाई विद्यालय शिक्षाको अवसरका लागि आफूहरूले जुनसुकै सहयोग गर्ने गाउँपालिकाका प्रवक्ता तथा शिक्षा समितिको संयोजक समेत रहेका पोख्रेलले बताए । गाउँपालिकाले बालबालिकाको शिक्षालाई प्रमुख प्राथमिकतामा राखेको उनको दाबी छ ।
चन्द्र बिटालुको पनि दुई छोरा र दुई छोरी गरी चार सन्तान छन् । उनी श्रीमती आमा, आफ्ना चार सन्तान र दाजुको तीन सन्तान गरी १० जनासँगै बस्दै आएका छन् । चन्द्रले स्थानीय रूपमा घर बनाउने मिस्त्रीको काम गरि गुजारा चलाइरहेका छन् ।
……………………………
बेसाहारा बनेका बालकका लागि पोशाक, स्टेशनरी, खाद्यान्न सहित ओढ्ने बिछ्याउने कपडा गाउँपालिकाको वडा कार्यालयले व्यवस्थापन गरिदिएको छ । बालकहरूलाई विद्यालय तहको शिक्षाका लागि गाउँपालिकाको वडाले सहयोग गर्छ । उनीहरू बस्नका लागि एक कोठा बनाउनमा सहयोग जुटाउने साेंच पनि हामीले बनाएका छौं ।
बिष्णु पोख्रेल
प्रवक्ता, रैनादेवी छहरा गाउँपालिका, पाल्पा
==============
तस्वीरः कक्षा १ मा भर्ना भएका तीन भाई बिशाल, सुसन र शुसील काका चन्द्र र काकी शोभा बिटालुको साथमा ।
तस्वीरः प्रकाश नेपाल/बुटवल टुडे