© २०२३
बसन्त पोखरेल
पहिले ओखरका कुरा गरौँ । मेरो पहिलेको अनुभवमा मेरा तीनजना दिदीहरू, बाबालाई टिका लगाइदिन आउने एकजना फुपु गरी चारजनाले भाइटिकाको दिनमा टिका लगाइदिएपछि दुईओटा ढोकाको सँघारमा आठओटा हाडेओखर लोहोरोले हानेर घाजाघाजा पार्थे । आँगनमा पस्ने बाटोको बीचमा ढुंगा राखेर पनि फुटाल्थे । सँघारमा र ढुंगामा फोर्ने गर्दा त्यसका टुक्रा कति पिँढी र बाटोमा छितरिएका हुन्थे भने कति घरभित्र जान्थे । एकपटक त ठूली दिदीले ओखर फोर्न लाग्दा नफुटेर चिप्लियो । उछिट्टिएर कुन दुनियाँमा पुग्यो भेटाउनै सकिएन । त्यहि भएर होला ओखर फोर्न लाग्दा दिदीहरूले नजिक नआउ है भन्थे । टुक्रा भएको हाडेओखर नांगा खुट्टाले टेक्यो भने घाउ नै पारिदिन्थे । खुट्टा रगताम्ये हुन्थ्यो । भुईंमा नहेरी बाहिर दगुर्न लाग्दा मेरो खुट्टामा ओखरको टुप्पो धसिएर घाउ भएको अनुभव मैले बटुलेको छु । हाडेओखर सँघारमा किन फोरिन्छ त्यसको कारण मलाई अहिलेसम्म जानकारी छैन । हाडेओखरभित्र घाँजी हुन्छ, तर, निकै कम । त्यसको घाँजी निकालेर खानको लागि तीखो चुच्चो भएको हतियार चाहिन्थ्यो । त्यसले कोट्याएर निकाल्नु पथ्र्यो । एउटा हाडेओखरमा बढी भनेको पाँच ग्राम घाँजी हुँदो हो । खानुपर्दा कम्तीमा पाँच मिनेट खर्चनु पथ्र्यो । हिमाली क्षेत्रमा उम्रने हुर्कने र फल्ने ओखर प्रजातिको बडो अनौठो वनस्पति दिएको छ प्रकृतिले । घाँजीको हिसावमा न खानु न फाल्नुको । अघिपछि यसको खोजी कसैले गर्दैन । तिहारमा यो नभई हुँदैन । ओखरको महिमा तिहारमा अहिले पनि उत्तिकै छ ।
वास्तवमा दिदी बहिनीहरूले घरभित्र दाजु भाइलाई टिका लगाएर खान दिने क्रममा बाहिरबाट आक्रमण गर्न वा खाद्य परिकार खोस्न कुनै शत्रु नआओस्, आइहालेमा त्यसको खुट्टामा बिजोस् र यतै अल्मलियोस् भनेरै यसो गरिएको हुनुपर्छ जस्तो लाग्छ । तर, आफू घरभित्रबाट बाहिर निस्कने कुरालाई विर्सिइन्छ । यमराजबाट दाजु भाइलाई जोगाउन वा शत्रुलाई ओखर फोरे झैँ घाजा घाजा पारेर फोर्छु भन्दै फोरेको एउटा मनोगत कला हो जस्तो पनि लाग्छ । जे होस् ओखर फोर्ने चलन अहिले पनि तिहारमा छँदैछ । यसरी ओखर फोर्ने चलनलाई हेर्दा तिहार उच्च पहाडी भेग जहाँ ओखरको उत्पादन हुन्छ त्यहाँबाट शुरुवात भएको हो कि भन्ने अनुमान पनि गर्न सकिन्छ । दिदी बहिनीले तिहारमा दाजुभाइलाई दिने खाद्य परिकारमा ओखरलाई पनि सामेल गरिएको छ । तिलौरा बनाउँदा त्यसमा ओखरका घाँजी मिसाइएको हुन्छ ।
तिहारमा दाजुभाइलाई टिका लगाइदिएपछि दिदी बहिनीले सबैभन्दा पहिले खान दिने खाद्य परिकार हो तिलौरा । तिलौरा बिनाको तिहार नै हुँदैन भन्दा पनि फरक पर्दैन । तिलौरालाई मिष्ठान्न परिकार मानिन्छ । त्यसो त तिहारमा बनाइने रोटीहरू पनि अधिकांश गुलियो हालेर पकाइएको हुन्छ । फिनी र झिनिया रोटी बाहेकका रोटीहरू गुलिया नै हुन्छन् । गुलियो नहालिए पनि फिनीरोटीलाई रोटीकी रानी वा महारानी भनिन्छ । फिनीरोटी मन नपराउने मानिस सायद यो दुनियाँमा कोही हुँदैन । चिनी रोगका विरामीले पनि फिनी रोटी खान हिच्किचाउँदैन् । चाख मानेर खान्छन् । स्कूलमा मैले नौ कक्षामा पढ्दाको कुरा हो, स्वयंसेवक भएर आएका एकजना जर्मन शिक्षकले गाउँलेले उपहार दिएका फिनीरोटी झोलामा हालेर विद्यालयमा ल्याएर नास्ता खान्थे । उनले भन्थेः टिम्रो घरमा फिनी रोटी पाक्यो भने मलाई भन है, म किन्डिन्छु, औटाको डुई रूपैयाँ डिन्छु । त्यसैले भन्न सकिन्छ यो रोटी विदेशीले पनि मन पराउँदारहेछन् । सुरक्षित राख्न सकियो भने यो रोटी एक बर्षसम्म पनि जस्ताको तस्तै रहन्छ । जतिबेला पनि खान सकिन्छ । फिनी रोटी पाकेन भने तिहार आएजस्तो लाग्दैन । च्युरीका पातहरू टिपेर गाँसेका ठूला टपरीमा दिदी बहिनीले सेल, अर्सा, अनरसा, फिनी, झिनियाँलगायतका रोटीहरू, बौतामा काँक्राको चाँपेको अचार, तिलौरा, छोपजस्तो चटनी, कुराउनी लहरै राखेर खान दिन्छन् । आजभोलि त बजारमा किन्न पाइने मिठाइका परिकार पनि थपिन्छ । दाजुभाइले तिलौरा खाएपछि फिनीरोटीमै हात हाल्छन् । आँखा र मुखलाई निकै आकर्षित गर्छ फिनीरोटीले । त्यसो त अन्य रोटीले विकर्षण गर्छ भनिएकोचाहिँ होइन । सबै परिकारको आफ्नो ठाउँमा उत्तिकै महत्व छ ।
तिलौरालाई तिहारमा किन बढी महत्व दिइन्छ त्यसको पौराणिक कारण त थाहा भएन । तर, यो निकै पौष्टिक खाद्य परिकार हो । यसमा कालो तिल, बदाम, ओखरका घाँजी, चिनी या मह, सुकमेल, ल्वांगको धुलो आदि बनाएर त्यसमाथि घिउ हालेर साँदिएको हुन्छ । चिल्लोपन बढी हुने हुँदा मुख रसिलो बनाओस् भनेर सबैभन्दा पहिला खान दिने गरेको हुनुपर्छ । यसलाई सगुन पनि भनिन्छ । जोगाएर राखेमा पछिसम्म खान मिल्छ । तिहारलाई वास्तवमा गुलियो पर्ब मानिन्छ । रोटी र मिठाइका परिकार अधिक मात्रामा बन्छन् । शहरबजारमा भन्दा गाउँघरमा आफ्नै घरमा भएका अर्गानिक खाद्य बस्तुबाट बनेका तिहारका परिकारहरू खाँदा बेग्लै सन्तुष्ठि प्राप्त हुन्छ । रोटी पकाउने कार्यक्रम धेरैजसो रातमा हुन्छ । दिनमा कामले फुर्सदै हुँदैन त । छिमेकी महिलाहरू जुटेर पालैपालो एक साता अघिबाट रोटी पकाउन शुरु गर्छन् दिदी बहिनीहरूले । सबैसँग रोटी पकाउने सिप विकास भएको हुन्थ्यो । कार्यविभाजन गरेर काम गर्थे । काठका भाँडा मदुस (सन्दुक) डोका, डाला, नांग्लामा रोटीहरू भरिभराउ हुन्थ्यो । देउसी भैलो खेल्न आउनेलाई नांग्लामा चामलमाथि बत्ती बालेर ओरीपरी सबै परिकारका रोटी राखेर दक्षिणा दिने चलन थियो । अहिले पनि छ । तिहारमा रोटी मानिसले मात्र खाँदैनन् । पशुपन्छीलाई पनि खुवाउँछन् । आजको दिनमा कागलाई रोटी खुवाइन्छ । आज काग तिहार हो । कागलाई सन्देशबाहक पन्छी मानिएको छ । कागको भाषा खोई कसले बुझ्छ त्यो त थाहा भएन तर, मैलेचाहिँ बुझ्दैन । अभ्यास नभएर पनि होला । मेरो घर अगाडिका रुखहरूमा काग आएर बस्छन् । गुँड लगाएर त्यहिँ बच्चा कोरल्छन् । योपाली त एउटा कोइलीको बच्चा पनि कागले कोरलेर चारा दिएर हुर्काएको देखियो । पछि कुहु कुहु गर्दै कता लाग्यो थाहा भएन । भोलि कुकुरलाई रोटी खान दिइन्छ । माला लगाइदिएर सिंगारिन्छ । लक्ष्मीपुजाको दिनमा गाईलाई पुजा गरेर रोटी, नुन, अनाजको परिकार बनाएर खुवाइन्छ । माला लगाइदिने चलन पनि छ । गाईलाई लक्ष्मी भन्ने गरिन्छ । गाई दुधदाता, गोबरदाता, अन्नदाता, जुत्तादाता, टाँकदाता सबै हो । जिउँदो हुँदा पनि यसले दिएकै छ र मरेर पनि मानिसको उपकार गरेकै हुन्छ । लक्ष्मीपुजाको भोलिपल्ट गोरुलाई खाना दिइन्छ । त्यसपछिमात्रै मानिसको पालो आउँछ । यस्तो महत्वको तिहार सबैको लागि शुभ बनोस्, जुवाका खाल ननारियोस् । समाजमा असर पार्नेगरी देउसी भैलो नखेलियोस् । ध्वनी प्रदुषण नगरियोस् । सबैका घरमा अर्गानिक खाद्य परिकारका माथि उल्लेख भएका रोटीहरू पाकुन्, आत्मा तृप्त होस् हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु ।
[email protected]