© २०२३
चिसो बिस्तारै बढ्दै गर्दा पछिल्लो समयमा बुटवल र आसपासका जिल्लाहरूमा सुन्तलाको कारोबार सुरु भएको छ । बुटवल र आसपासका जिल्लाहरूमा छिमेकी पहाडी जिल्लाहरू पाल्पा, गुल्मी, स्याङ्जा जिल्लाबाट सुन्तला आउने क्रम बढेको हो । चिसो मौसमी फलको रूपमा रहेको सुन्तला अहिले पुर्णरूपमा पाकी नसकेपनि व्यापारीहरूले यसको व्यापार बढाएका छन् ।
काठमाडौंको कालिमाटि थोक बजार केन्द्र पछिको नेपालकै सबैभन्दा ठूलो थोक बजार केन्द्र बुटवलमा यसको कारोबार पछिल्लो समयमा बिस्तारै बढ्दै गएको छ ।
बुटवल कृषि उपज तथा थोक बजार केन्द्र सञ्चालक समितिका अध्यक्ष कलाधर पन्थीका अनुसार यस बर्षको सुन्तलाको कारोबार लक्ष्मी पुजाको दिनबाट नै औपचारिक रूपमा सुरु गर्ने सोँच भएपनि अहिल दैनिक ५ देखि १० क्विन्टल सम्मको बिक्री हुँदै आएको छ ।
अध्यक्ष पन्थी भन्छन्–‘अझै सुन्तलाको माहोल सुरु भयो भन्ने छैन, तर पनि सुन्तलाको कारोबार दिन प्रतिदिन ५, ७, १० क्विन्टल बराबरको कारोबार भैरहेको छ ।’
व्यवसायीहरूले आगामी लक्ष्मी पुजाको दिन पछि मात्रै औपचारिक रूपमा सुन्तलाको कारोबार गर्ने सहमति भएको छ । अहिले हरियो रङ्गमा नै सुन्तला रहेको छ । पहिलो चरणमा नेपाली सुन्तालको बिक्री हुने गरेको कारण अहिले अन्य वाहिरी सुन्तलाको कारोबार भएको छैन ।
बुटवलका रहेको बुटवल कृषि उपज तथा थोक बजार केन्द्रबाट अधिकांस पश्चिम नेपालका सबै जिल्लाहरूमा फलफूल तथा तरकारीको कारोबार हुने गर्दछ । अहिले सुन्तला थोक बजारबाट प्रतिकिलो थोक मूल्य रु. ५० मा थोक व्यवसायीहरूले विक्रि गर्दै आएका छन् ।
गत बर्ष ४० रूपैयाँ प्रतिकिलोमा सुरुमा कारोबार भएको सुन्तला अहिले केही महङ्गो भएको हो । गत बर्षको तुलनामा अहिले १० रूपैयाँ बढेर ५० मा पुगेको छ ।
कारोबार बढ्ने अपेक्षा
गत बर्ष बुटवल कृषि उपज तथा थोक बजार केन्द्रबाट करिब २७ करोड रूपैयाँ बराबरको सुन्तालको कारोबार भएको थियो ।
अहिले गुल्मी, पाल्पा र स्याङ्जा जिल्लामा सुन्तलाको उत्पादन राम्रो रहेको छ । यद्यपी स्याङ्जा जिल्लाको पश्चिम क्षेत्रमा दसैं भन्दा पहिला आएको असिनाको कारण केही क्षति पुगेपनि पाल्पा र गुल्मी जिल्लामा सुन्तला राम्रो उत्पादन भएको छ । जसको कारण गत बर्ष पुरै सिजनमा २७ करोडको कारोबार गरेका बुटवल कृषि उपज थोक बजार केन्द्रका व्यवसायीहरूले यस बर्ष ३५ करोड बराबरको कारोबार गर्ने लक्ष्य लिएका छन् ।
थोकमा भन्दा खुद्रामा दोब्बर मूल्य बढि
सुन्तलाको कारोबार बढेको मौका खुद्रा व्यवसायीहरूले दोब्बर बढि मुल्य लिएर सुन्तला विक्रि गरिरहेका छन् । बुटवल कृषि उपज थोक बजार केन्द्रमा ५० रूपैयाँ प्रतिकिलो थोक मुल्य रहेको सुन्ताल बाहिर आउँदा १ सय रूपैयाँ प्रतिकिलोमा विक्रि भैरहेको छ । जसको कारण विचौलिया खुद्रा व्यवसायीहरूले दोब्बर नाफा कमाईरहेका छन् । à