© २०२३
वन जंगलमा हुने जुकाले टोकेर सताएको, पेटमा जुका परी मानिस बिरामी परेको धेरैजसोलाई थाहा भएकै कुरा हो । त्यस्ता जुकालाई कसरी मार्ने भन्ने उपाय मानिसले खोजिरहेका पनि हुन्छन् तर मध्यपश्चिम क्षेत्रिय आयुर्वेद चिकित्सालय बिजौरी दाङले भने उपचार सेवा बढाउन वन जंगलमा पाइने त्यस्ता जुकाको खोजी गरिरहेको छ । जुकाको टोकाइबाट छाला सम्बन्धी रोगको उपचार गराउनका लागि चिकित्सालयले जुकाको खोजी गरेको हो ।
चिकित्सालयलाई सुधार गर्दै लगेका डा. रामकामेश्वर ठाकुरले चिकित्सालयमा जलौका चिकित्सा (रक्त मोक्षण) बाट बिरामीलाई उपचार सेवा दिने योजना बनाएका छन् । नेपालमा पाइने जुकाको संकलन गरी ती जुकाबाट उपचारको सेवा दिने चिकित्सालयको भनाई छ ।
चिकित्सालयका निमित्त निर्देशक डा. रामकामेश्वर ठाकुरले अस्पतालले दिने सेवा क्षेत्र बढाउन र चिकित्सालयप्रति बिरामीको आकर्षण बढाउनका लागि जलौका चिकित्सा (रक्त मोक्षण) शुरु गर्न लागेको बताए । चिकित्सालयले जुका खोजिरहेको र जुका संकलन भएपछि सेवा शुरु हुने डा. ठाकुरको भनाइ छ ।
उनका अनुसार जुकालाई छालामा टोक्न लगाई गरिने उपचार पद्दतीलाई रक्त मोक्षण अर्थात्जलौका चिकित्सा भनिन्छ । यो विधिमा एक पटकमा ५ देखि ७ वटा जुका बिरामीलाई टोकाउनमा प्रयोग गरिन्छ । टोक्नमा प्रयोग गरिएका जुकालाई शुद्धिकरण गरी पुन उपचारका लागि टोकाउन सकिने डा. ठाकुर बताउँछन् । उनले शुद्धिकरण गरेपछि उक्त जुका फरक बिरामीका लागि पनि प्रयोग गर्न सकिने र जुका शुद्दीकरण हुनका लागि करिब दुई हप्ता लाग्ने बताए ।
उपचारमा राखिएको बिरामीलाई १५ दिनको फरकमा १० देखि १५ पटकसम्म जुकाबाट बिधि पु¥याएर टोकाई उपचार गर्नुपर्ने डा. ठाकुरको भनाई छ । डा. ठाकुरका अनुसार जुका बिष लाग्ने र नलाग्ने समूहका हुने र उपचारका लागि बिष नहुने जुकाको प्रयोग यो उपचार बिधिमा गरिन्छ ।
आउने पुष महिनादेखि जलौका चिकित्साको माध्यमबाट उपचार शुरु गर्ने तयारी भैरहेको डा. ठाकुरले बताए । गत असार, साउन महिनादेखि सेवा शुरु गर्ने योजना भएपनि जुका संकलन गर्न नसकिएको कारण सेवा शुरु नभएको उनको भनाइ छ । सेवा शुरु गर्न अहिलेका लागि भारतको बनारसबाट जुका ल्याउने सोंच बनेको उनले बताए । सेवा शुरु गर्नका लागि भारतबाट जुका मगाउँछौं डा. ठाकुरले भनेपछि नेपालमै जुका संकलन गछौं । जुका नशामा रगत जम्ने, चर्म रोग (सोट्यासिस) र कालो छाला हुने (एक्जिमा) लागि रामवाण नै भएको उनी बताउँछन् । à