© २०२३
केही वर्ष अघिसम्म पाल्पाको निस्दी गाउँपालिका–१ डमरा फाँटको तल्लो भागमा मात्र धान बाली उब्जनी हुँदै आएको थियो । अन्य स्थानमा आकाशे पानीको भरमा कोदो, मकै र गेडागुडी मुस्कीलले उब्जनी हुने गर्दथ्यो ।
एक बाली मात्र उब्जाउ हुने फाँटमा ३ वर्ष यता धानका बाला झुल्न थालेका छन् । नेपाल सरकारको सहयोग र स्थानीयको श्रमदानमा पाल्पा र नवलपरासीको सिमानामा पर्ने बौदीखोलाबाट डमरा भोटाहा सिंचाई आयोजना सञ्चालनमा आएसँगै यहाँका ८० हेक्टर भन्दा बढी खेत तथा बारीमा धानका बाला झुल्न थालेका हुन ।
निस्दी–१ को बाका खोलादेखि भोटाहाको हजार फाँट सम्मको पुरानो कुलोमा सिंचाई आयोजना मार्फत बौदी खोलाको पानी मिसाई केही स्थानमा मर्मत गरेसँगै ८० हेक्टर जमिनमा बाह्रै महिना सिंचाई हुँदै आएको छ । डमराको माथिल्लो भागदेखि कालीनदी तट भोटाहा सम्म सिँचाई हुँदै आएको हो । सिंचाई सञ्चालन भएसँगै डमरा क्षेत्रमा बसोबास गर्ने र खेतीपाती गर्ने कृषकहरूको जीवनस्तरमा अहिले सुधार आएको छ ।
डमराका कृषक कृष्णप्रसाद थापा आफ्नो सुख्खा टार सिंचाई भएपछि दंग छन् । उनी भन्छन् ‘सिंचाई आए पछि हामीलाई धेरै सुबिधा भएको छ । पहिलेको सुख्खा टार कुलो आएपछि खेत बनेको छ । तल्लो भागमा थोरै खेत र अन्य बारीमा खेती गरेर १० जनाको परिवार पाल्नलाई उब्जनीले पुग्दैनथ्यो । अहिले उब्जनी बढे पछि बेच्न थालेको छु ।’ थापाले खेतीपाती गरेर अहिले गाउँका अधिकांशलाई जीवन निर्वाह गर्न सहज भएको बताए । भोटाहाका स्थानीय कृषक ज्ञानबहादुर रानालाई पनि वर्षभरी खेतबारीमा काम गरेर आफ्नो १५ जनाको परिवारलाई ६ महिना सम्म खाना पुग्थ्यो ।
बाँकी छ महिना अन्यत्र बाटै किन्नु पर्ने बाध्यता थियो । तर अहिले परिवारका लागि प्रसस्त उब्जाउ हुने गरेका राना बताउँछन् । उनी भन्छन् ‘अहिले खेत र बारी गरी १७ रोपनीमा मकै, धान, गहुँ, आलु गरी वर्षमा तीन बाली लगाउँदै आएको छु । परिवारका लागि आवश्यक खाद्यान्न आफ्नै उब्जनीले पुग्छ ।’ थापा र राना मात्र होईन डमरा, भोटाहाका ८० घर परिवार र डमरा फाँटामा खेती लगाउँदै आएका निस्दी १ अर्मलाङ, पुर्वमलाङ्ग, राहुवन, राईका र नवलपुर रकुवाका सय घर गरी १ सय ८० घरको नहरले स्तर फेरिदिएको छ । सिंचाई पुगे सँगै पहिले खेती गर्दै आएका टारी खेतका कृषकहरूलाई झनै सुबिधा भएको छ । डमराकी सीता कार्की भन्छिन् ‘कुलोको पानी नहुँदा खोल्साको पानीले नपुगेर रातभरी पालो कुरेर बस्नु पथ्यो । अहिले त बारी सिंचाई गर्न पनि कुनै कठिन छैन ।’ समस्या यी मात्र नभई उब्जनी नहुँदा डमराका धेरै मानिस आफ्नो थलो छाडेर तराई तथा अन्यत्र बसाई सर्नु परेको थियो ।कुलाले गाउँका बारी सबै सिंचाई हुने भए पछि अहिले बसाई सराई पनि रोकिएको स्थानीय शिक्षक चिन्तामणी पाण्डेले बताए । सिंचाई आयोजना अन्तर्गत बाकाखोला देखि भोटाहा सम्म कुलो पहिले नै सञ्चालनमा रहेको हो । २०६५ सालमा बौदीखोला देखि बाकाखोला सम्म नयाँ कुलो निर्माण सुरु गरिएको थियो । संगै पुरानो कुलोलाई मर्मत सुधार गरिएको छ । जम्मा ९ किलो मिटर लम्बाई रहेको कुलो नेपाल सरकार र स्थानीयको २ करोड ६० लाखको लागतमा निर्माण सम्पन्न भएको हो ।
कुलोको केही भाग मात्र पक्की रहेको र अधिकांश भाग कच्ची रहेकाले बेला बेलामा समस्या देखिदै आएको डमरा भोटाहा सिंचाई आयोजनाका अध्यक्ष कुल बहादुर रानाले बताए । स्थानीय सरकारको सहयोगमा जसो तसो सञ्चालन गर्दै आएको अध्यक्ष रानाको भनाई छ । उनले कच्ची कुलोका कारण केही ठाउँमा जटिल समस्या देखिएकाले स्याउला र टेकाको भरमा कुलो सञ्चालन गरिरहदै आएको बताए । साथै उनले स्थानीय तहबाट आएको रकमले मर्मत गर्दै आएको र कुलोको स्तर सुधारका लागि प्रतिक्षामा रहेको जानकारी दिए । निस्दी १ का वडा अध्यक्ष पुर्ण बहादुर खाँणले बाह्रै महिना सञ्चालनका लागि प्रदेश र संघीय सरकारले सहयोग गर्नु पर्ने बताए । कुलो मार्फत सिंचाई मात्र नभई निस्दी १ का स्थानीयहरूले लघुविद्युत उत्पादनको समेत काम गरिरहेका छन् । सिंचाईमा कुनै असर नपर्ने गरी २६ किलोवाटको लघु जलविद्युत निर्माण भइरहेको छ । निर्माणका कार्य अन्तिम चरणमा पुगेकाले डमरा, भोटाहा, पूर्वमलाङ, अर्मलाङका २ सय भन्दा बढी घरपरिवार प्रत्यक्ष लाभान्वित हुनेछन् ।