© २०२३
नेपालको पुर्व मेचीदेखि महाकालीसम्मको तराईका सबैभन्दा पुराना बासिन्दाहरु नै थारु जाती हो । यो जाति भारतको नैनितालदेखि पूर्वमा ब्रह्मापुत्र नदीसम्म गङ्गा नदीको उत्तर र चुरेको खोँचसम्म र महाभारत पर्वत क्षेत्रको भित्रि मधेशसम्म फैलिएर रहेका छन् । थारु नेपालको चौथो ठुलो जनसंख्या भएको जातीय समूह हो । वि.स. २०६८ को जनगणना अनुसार नेपालमा थारुको जनसंख्या १७ लाख ३७ हजार ४७० रहेको छ । नेपालको तराईका सबै जिल्लाहरुमा थारुहरुको बसोबास रहेको भेटिने भएपनि ती ठाउँका थारुहरु बीचमा भिन्नता रहेको देखिन्छ । कोचिला थारु, चितौनिया र कठरिया थारु, डगौरा थारु, कुसुमिया थारु र राना थारुहरु क्रमशः पूर्वदेखि पश्चिमतर्फ फैलिएका छन् । सबै थारुहरु जल, जमिन र जंगलसंग अभिन्न रुपमा गाँसिएका छन् । तुलनात्मक रुपमा वन र नदिहरुदेखी नजिकका ठाउँमा थारुहरुको वस्ती रहेको पाइन्छ । तराईका भूमिपुत्र थारुहरु उनीहरुको भाषा, सस्कृति, बिहेवारी, भेषभुषा जस्ता आधारमा एक अर्कादेखि भिन्न भएको पाइन्छ । ६ दशक अघिसम्म तराईको ठुलो जातीय समुह र सम्पन्न समुह अहिले आर्थिक सामाजिक रुपमा पछि पर्दै गएको छ । यो लेखमा थारु जातिमा देखिएको सामाजिक–आर्थिक संक्रमणको विश्लेषण गरिएको छ ।
जनासाँख्यीक संक्रमण
जनसाँख्यिक रुपमा हेर्दा थारु जाति नेपालको चौथो ठुलो जातीय समूह हो । वि.स. २०६८ को जनगणना अनुसार नेपालको कूल जनसंख्याको ६.६ प्रतिशत जनसंख्या थारुहरुको छ । भौगोलिक रुपमा हेर्दा तराईको कूल जनसंख्याको १२.५ प्रतिशत जनसंख्या थारुको छ । थारुको कूल जनसंख्या मध्ये ९५.९१ प्रतिशत जनसंख्या तराईमा रहेको छ । २०५८ सालमा थारुको जनसंख्या नेपालको जनसंख्याको ६.८ प्रतिशत रहेकोमा २०६८ मा आइपुग्दा यो संख्या ६.६ प्रतिशतमा झरेको देखिन्छ । वि.स. २०५८ सालमा नेपालका सुनसरी, दाङ, बर्दिया र कैलाली जिल्लामा थारुहरु सबैभन्दा ठुलो जनसांख्यिक समूहमा थिए भने २०६८ मा आइपुग्दा थारुले कैलाली जिल्लामा पहिलो हैसियत गुमाएको देखिन्छ । थारुहरुको प्रमुख बसोबास मानिने नारायणी पश्चिमका जिल्लाहरुमा थारुहरुको जनसंख्याको अनुपात निरन्तर घट्दै गईरहेको छ । अवस्था कतिसम्म भयावह छ भन्ने कुरा कैलाली जिल्लाको थारुको जनसंख्याको हिस्सालाई हेर्दा हुन्छ । वि.स. २०५८ मा कैलालीमा ४३.७ प्रतिशत जनसंख्यीक हिस्सा ओगटेको थारुहरुको जनसंख्या २०६८ मा आईपुग्दा ३ प्रतिशत भन्दा पनि काममा झरेको देखिन्छ । बर्दिया र कंचनपुर जिल्लामा थारुहरुको जनसंख्याको अनुपात केही बढिरहेको भएपनि पश्चिम नेपालका सबै जिल्लाहरुमा थारुको जनसांख्यिक हिस्सा घटिरहेको छ । तराईमा पहाडी क्षेत्रबाट निरन्तर र अनियन्त्रित रुपमा भैरहेको बसाईसराईले गर्दा पुराना सघन थारु बस्तीहरुमा थारुहरु नै अल्पमतमा पर्न लागेका छन् । बाह्य मानिसहहरुको जनसांख्यिक चापले गर्दा मूल बासिन्दा थारुहरु क्रमश पश्चिमतर्फ विस्थापित हुँदै गएका छन् । बर्दिया र कन्चनपुरमा थारुहरुको हिस्सा बढ्नुको कारण पनि यही हो ।
सांस्कृतिक संक्रमण
थारुहरु प्रकृतिपूजक हुन् । झट्ट हेर्दा हिन्दु संस्कार मान्ने देखिएपनि थारुहरु सांस्कृतिक रुपमा फरक छन् । उनीहरुको पहिचान भनेकै सस्कृति, भाषा र भूमि हुन् । बसाईसराईले गर्दा थारुहरु आफ्नै भूमिमा अल्पमतमा पर्न थालेका मात्र छैनन्, टाठाबाठाले जमिन खोसेर, झुक्काएर सस्तोमा किनेर थारुहरुलाई भूमिबिहीन बनाइरहेका छन् । ४ दशक पहिलेका धेरै जमिन्दार थारुहरु अहिले सुकुम्बासी बनेको देख्न सकिन्छ । सामुदायिक वन बनाउँदा वनदेखि टाढाका थारुहरुलाई वनमा बन्देज लगाउँदा पनि थारुहरु विस्थापित हुने अवस्थामा छन् । भूमिविहीन हुँदाको गरिबीले गर्दा थारुहरु जीविकोपार्जनको लागि थातथलो छोड्ने प्रवृत्ति बढ्दो छ । यही कारण अचेल थारुहरुका सघन क्लस्टर हराउन थालेका छन् । थारु जातिमा धर्म परिवर्तनको लहर विकराल बनिरहेको छ । खासगरी गरिब थारुहरुका बस्तीमा चर्चहरुको संख्या बढ्दो छ । फरक प्राकृतिक अभ्यास गर्ने भएपनि २०५८ सालमा ९७ प्रतिशत थारुहरु हिन्दु थिए । धर्मान्तरणको लहर चलेपछि वि.स. २०६८ सालमा हिन्दु थारुहरुको संख्या घटेर ९४ प्रतिशत भएको थियो । सोही अवधिमा थारुहरुको संख्या बढेर ०.२ प्रतिशत देखि १.७ प्रतिशत भएको देखिन्छ । थारुका बस्तीहरुमा बढिरहेका चर्चहरुलाई हेर्दा पछिल्ला १० वर्षमा धर्म परिवर्तन भयावह बन्दै गएको सहज अनुमान गर्न सकिन्छ । धर्म परिवर्तनसंँगै थारुहरुको मौलिक प्रथा र परम्पराहरु हराउँदै गएका छन् ।
थारुहरुको पहिचान उनीहरुको भाषा र पहिरन हो । बढ्दो सास्कृतिक अन्तरघुलनले गर्दा थारुहरु आफ्नो मौलिक भाषाको कम प्रयोग गर्न थालेका छन् । पूर्वी क्षेत्रमा मैथली र हिन्दी, पश्चिम क्षेत्रमा भोजपुरी, अवधि, हिन्दी र नेपाली भाषाको प्रवेशले थारु भाषाले मौलिकता गुमाउँदै गएको छ । अचेल थारुहरु पनि आपसमा हिन्दी र नेपाली भाषामा कुराकानी गर्न थालेका छन् । भाषा मासिदै जाँदा भाषाले जोगाएका मौलिक र रैथाने ज्ञान, सिप हराउँदै गएका छन् । थारुहरुमा रहेका बडघर÷ महतवा प्रथा, गुरुवा, तन्त्रमन्त्र, झारा प्रथा हराउँदै गएका छन् । मौलिक नाचगानमा डिजेको प्रवेश भैसकेको छ । थारु गाउँमा रहेका देउता थान, साझा ख¥यान र बगैँचाहरु नासिएका छन् । घर निर्माण गर्दा मौलिक पक्षलाई छोडिएको छ । झट्ट हेर्दा धेरै थारुहरु अन्य मधेशी समुदाय वा पहाडी जनजाति जस्तो देखिन थालेका छन् ।
आर्थिक संक्रमण
नेपाल–अंग्रेज युद्धले थारुहरुलाई पहिलोपटक आफ्नो थातथलो छोड्ने बनाएको थियो । त्यसबेला तराईमा प्रशस्त जमिन भएकोले पछि फर्केर आउँदा पनि थारुहरुको जमिनसंगको नाता टुट्न पाएको थिएन । राणा शासनमा राणा र शाह तथा अन्य भाईभारदारहरुले तराईको जमिन बिर्ताको रुपमा पाए र थारुहरुको जमिनको स्वामित्व खोसियो । स्वामित्व नभएपनि थारुहरुले बिर्ता जमिन र जंगलमा बसेर जीवन चलाईरहेका थिए । २००७ देखि तराईमा मलेरिया उन्मूलन गर्ने कार्यक्रम सुरु भएपछि तराईमा पहाड र भारतबाट मानिसहरु ओईरिन थाले । धेरै थारुका जमिनहरु जवर्जस्ती खोसिए भने केही थारुहरु जालझेल र प्रलोभनमा परेर सस्तोमा जमिन बेच्न दिन बाध्य भए । यो शिलशिला अहिले पनि निरन्तर चलिरहेको छ । चितवन, दाङ, कैलाली र सुर्खेतमा ५ दशक अघिसम्म सम्पूर्ण जमिनहरुको थारुहरुकै रजाई थियो, तर अहिले ती ठाउँमा थारुहरुका खेतबारी हराएका छन् । थारुहरुको जमिन खोसिएपछि उनीहरु ज्यान पाल्नका लागि धनीहरुको शरणमा पुगे । धनी, शहरिया र जमिन्दारहरुले थारुहरुलाई हरवा–चरवा, कम्लरी राखेर निरन्तर शोषण गरिरहे । आर्थिक रुपमा कमजोर भएपछि थारुहरुले अगाडि बढ्ने अवसर नै पाएनन् । अहिलेको थारु पुस्ता पूरानो आफ्नो आर्थिक वैभवता सम्झेर माथि उठ्ने प्रयास त गरिरहेको छ, तर आर्थिक– सामाजिक रुपमा पछाडि पारिएकोले समाजको मूलधारमा आउन भने लामै समय लाग्नेछ ।
माघी सन्दर्भ
माघे सक्रान्ति अर्थात माघी थारुहरुको प्रमुख पर्व हो । तराईमा थारुहरुका सघन बस्तीहरु हुँदा यो दिन अघिल्लो वर्षको लेखाजोखा गर्ने र आगामी वर्षको योजना तत्था नेतृत्व छनौट गर्ने दिनको रुपमा लिईन्थ्यो । थारुहरु बीचमा भेटघाट गर्ने दुःखसुख साटासाट र रमाईलो गर्ने पर्वको रुपमा लिईने माघी केही वर्ष अघिसम्म मालिकहरुले थारु जातिबाट आफ्नो लागि नोकर, कम्लहरी खरीद गर्ने दिनको रुपमा बद्नाम थियो । कम्लरी प्रथाको अन्त्यपछि यो दिन विशुद्ध साँस्कृतिक चाडको रुपमा र दासता मुक्तिको दिनको रुपमा मनाउन थालिएको छ । हिजोका दिनहरुमा जस्तो माघीको दिनमा विक्री हुनुपर्ला भन्ने डर अहिलेको पुस्तामा छैन, तर पनि सास्कृतिक–आर्थिक संक्रमणले गर्दा सिर्जित आर्थिक सामाजिक दासताले यो दिनमा पनि गिज्याईरहेको हुन्छ । त्यसैले यो दिनलाई खानपिन र नाचगान रमाईलो गर्ने अवसरको रुपमा मात्र नलिएर आफ्नो मौलिक परम्परा, सभ्यता र वैभव हराउँदै गएकोमा चिन्ता लिने, विश्लेषण गर्ने र आउँदा दिनहरुको लागि योजना बनाउने पर्वको रुपमा लिनु जरुरी छ । विकासको नाममा, राजधानीको नाममा अहिले पनि थारुहरुको मौलिक थलोमा प्रहार भैरहेको छ । केही प्रलोभनमा परेर थारुहरुले पनि आफ्नो थातथलो अरुलाई सुम्पदै सुकुम्बासी बन्ने क्रम रोकिएको छैन । माघीको अवसरमा यी सबै कुराहरुको समीक्षा गर्ने सोच सबै थारु समुदायमा विकास हुनु जरुरी छ । संसार बहु–साँस्कृतिक भैसकेकोले थारुहरुका एकल बस्ती, एकल सस्कृति, एकल अधिकार स्थापना गर्न नसकिएला, तर थारुहरुलाई थप आर्थिक, सामाजिक, सांस्कृतिक रुपमा कमजोर बन्नबाट रोक्न सकिन्छ । उनीहरुका परम्परागत र रैथाने ज्ञानलाई संरक्षण र उपयोग गरेर वर्तमानका पुस्ताहरुले फाईदा लिन सक्छन् । जल. जमिन र जंगलमा अग्राधिकार स्थापना गरेर आफ्नो मौलिकतालाई फर्काउन सक्छन् । माघी पर्वले थारुहरुलाई सबल बन्ने आघार प्रदान गरोस–शुभकामना ।