© २०२३
६३ बर्षअघि २०१६ सालमा स्थापना भएको देशकै पुरानो र उच्च शिक्षाको ठूलो अभिभारा बोकेको विश्वविद्यालय हो त्रिभुवन–विश्वविद्यालय । यहाँ स्नातक तहदेखि विद्यावारिधि तह सम्म करिव छ लाख विद्यार्थीहरु अध्ययनरत छन् । राष्ट्रिय एबं अन्तर्राष्ट्रिय क्षेत्रमा यो विश्वविद्यालयको एउटा छुट्टै पहिचान छ । नेपालमा राजसंस्था रहुन्जेल नेपालका सबै विश्व–विश्वविद्यालयहरुमा राजा कुलपती हुने ब्यवस्था थियो । ०६२÷६३ को जनआन्दोलन–२ को बलमाभएको राजसंस्थाको खारेजीपछि कुलपति प्रधानमन्त्री र सह–कुलपती शिक्षामन्त्री बन्ने व्यवस्था आयो । त्यसपछिका दिनमा कुलपतीको हैसियतमा सह–कुलपती शिक्षामन्त्रीको सिफारिसमा उपकुलपती नियुक्ती गर्ने परिपाटी एउटा लीलाम बिक्री र भागवण्डाको अखडा बन्न पुगेको कुरा जगजाहेर छ । जसले गर्दा पार्टीको तोक आदेश लागेर नियुक्ती हुने उपकुलपती र उच्च पदाधिकारीले विश्वविद्यालययहरुलाई नचाहेर अथवा नसकेर एउटा सही मार्गमा हिँडाउन सकेनन् । वास्तवमा त्रिभुवन–विश्वविद्यालयले एउटा सक्षम र दुरदृष्टि नेतृत्व नपाँउदा आज आफूलाई जुन रुपमा विश्वसामु उभ्याउनु सक्नु पर्दथ्यो, त्यसो गर्न सकिरहेको पाइँदैन ।
यस्तो स्थितिमा पनि एकातिर त्रिभुवन विश्वबिद्यालयका ६० वटा आङ्गिक क्याम्पस र ८०० भन्दा बढी सम्बन्धन प्राप्त कलेजहरुमा छ लाख भन्दा बढी विद्यार्थीहरुले अध्ययन गरिरहेका छन् भने अर्कोतिर भर्खर खुलेका केही नयाँ विश्वविद्यालयहरुले ५०० जना भन्दा विद्यार्थी पाउन सकेको छैनन् । त्रिविले आफ्ना शैक्षिक एबं अतिरिक्त क्रियाकलापहरुको प्रभावकारी कार्यान्वयन गर्न क्यालेन्डर बनाउने गरेको छ । तर, बिडम्बना उसले आफ्नो क्यालेन्डर अनुसार पठन–पाठन, परिक्षा गराउन र नतिजा प्रकाशन गर्न सकिरहेको छैन । परीक्षा दिएको तीन महिनामा नतिजा आउने भनिए पनि यसको कार्यान्वयन अहिले सम्म देखिदैन । २०७८ पुस महिनामा लिइएको बिबिएस चौथो बर्षको बार्षिक परीक्षाको नतिजा एक बर्ष बितिसक्दा पनिआएको छैन । त्रिविको यो भन्दा गैरजिम्मेवारीपन के हुन सक्छ । यो त एउटा उदाहरण मात्र हो । मसिनो गरी केलाएर हेर्ने हो भने यस्ता उदाहरणहरु बग्रेल्ती भेटिन्छन् । त्रिविको बिगतको भन्दा अहिलेको शाख गिर्दो अवस्थाले गर्दा त्रिविका केन्द्रीय बिभागहरुमा विद्यार्थीको सङख्या घटिरहेको छ ।
त्रिविले जुन तहमा सेमेस्टर प्रणालीमा लागु गरेको छ ती तहका शैक्षिक क्रियाकलापहरु शैक्षिक क्यालेन्डर अनुसार चलेको आभाश हुन्छ । तर, बार्षिक प्रणाली अनुसार चलेका सङ्काय तथा तहमा शैक्षिक क्यालेन्डर एउटा क्यालेन्डरको रुपमा मात्र रहेको कुरा त्यसको फितलो कार्यान्वयनबाट प्रष्ट हुन्छ । ४ बर्षमा पूर्ण रुपमा सकिनु पर्ने बिबिएस, बिएडलाई पाँचबर्ष भन्दा बढी लाग्नु, पढाई सुरु भएको एक बर्ष पुग्दा पनि परीक्षा फाराम नखोल्नु, तीन महिनाभित्र निकाल्नु पर्ने परीक्षाको नतिजा १४ महिना पुग्दा पनि ननिस्कनु, बिबिएस चौथो बर्षको परीक्षा भएको एक बर्षपछि उत्तर पुस्तिका हरायो भन्दै पुनः परीक्षा लिनु आदि त्रिविका कमजोरीका ज्वलन्त उदाहरणहरु हुन् । यी र यस्ता गतिविधिले त्रिविको गरिमामाथि ठूलो प्रश्नचिन्ह खडा गरेको छ ।
यस्तो अवस्थामा विद्यार्थी संख्या नघट्नु र अरु विश्वविद्यालयमा पनि विद्यार्थीको आकर्षण नुहुनुले पनि त्रिवि सुध्रिन आवश्यक छ । त्रिवि अहिले आफूलाई कसरी सुधार गरेर कम्तिमा पनि एसिया अथवा साउथ एसियाको उच्च कोटीको विश्वविद्यालय बनाउन सकिन्छ भनेर लाग्नु पर्ने बेलामा कुहिरोमा हराएको काग जस्तै भइरहेको छ । बिगतमा त्रिवि नेतृत्व संस्थाको गरिमा बढाउने भन्दा सम्बन्धन बाँड्दै ब्यापार बढाउने र त्यस्ता ब्यापारबाट आर्थिक लाभ प्राप्त गर्नेतिर बढी केन्द्रित भएको देखिन्छ । यो गलत थियो, छ र हुनेछ भन्ने कुरा नेतृत्व तहले बुझ्नु पर्दछ ।
वास्तवमा सामान्यजनले बुझ्ने भाषामा भन्नुपर्दा त्रिभुवन विश्वविद्यालय राष्ट्रकै वौद्धिक वर्गहरुको केन्द्र हो । स्नाकोत्तर , एमफिल मात्र होइन देश विदेशका विभिन्न क्षेत्र तथा बिषयमा अनुसन्धान गरी विद्यावारिधि हासिल गरी वैज्ञानिक अनुसन्धानलाई निरन्तरता दिएका क्षमतावान मानव संशाधनको बाहुल्यता छ त्यहाँ । विकसित देशहरु अमेरिका, बेलायत आदिको कुरा गर्ने हो भने राष्ट्रकै उच्च अहोदामा पर्ने प्राध्यापकहरुको बाहुल्यता रहेको त्रिवि किन यस्तो भइरहेको होला । यसो हुनुमा के–के कारणहरु छन् । के त्रिविका वौद्धिक व्यक्तित्व राजनीतिबाट प्रत्यक्ष प्रभावित छन् ? के ती ब्यक्ति आफ्ना काम, कर्तव्य र अधिकार बिर्सी राजनीति गरिरहेका त छैनन् ? राजनीतिक भागबण्डाको शिकार त भएको छैन त्रिवि ? त्रिविमा कहिलेसम्म भोटो फटाएकै आधारमा योग्य र अनुभवी मान्ने परम्परा राखिराख्ने हो ? यस्ता प्रश्नहरु आम जनमानसमा उब्जिरहेका छन् र यो अस्वभाविक पनि होइन ।
यदि यी कारणबाट त्रिवि पछाडि परेको हो भने अनुभव र क्षमता तथा कार्यकुशलताको आधारमा योग्य व्यक्तिको हातमा नेतृत्व सुम्पिनु पर्दछ । यस्तो प्रक्रियाबाट जो नेतृत्वमा पुग्छ ऊ आँट गरेर, हिम्मत गरेर त्रिविको कुलमान घिसिंग बन्नु पर्दछ । त्रिविको भगवान कोइराला बन्नुपर्दछ । भगवान कोइरालाको सफल नेतृत्वले गंगालाल र शिक्षण अस्पतालमा कायापलट भएको थियो भने विद्युत प्राधिकरणमा कुलमानले गरेको चमत्कार जगजाहेर नै छ । सकारात्मक परिवर्तनप्रति दृढ सङ्कल्प भएको ब्यक्ति त्रिविको उपकुलपति हुन जरुरी छ र ऊ राजनीतिप्रति पूर्वाग्रही नभई त्रिविको गुणस्तर माथि उकास्न जस्तो सुकै जोखिम मोल्न सक्ने कुशल ब्यवस्थापक एवं नेता हुन सक्नुपर्दछ ।
त्रिविलाई सही बाटोमा ल्याउन सबैभन्दा पहिलो र महत्वपूर्ण काम भनेको त्रिविमा हुने सबै प्रकारका फोहोरी राजनीतिलाई बन्द गराउनु वा उठ्न नदिनु हो । त्रिवि अब घिस्रिएर उच्चकोटीको विश्वविद्यालय हुनेछैन । त्रिविले माथि पुग्न अब जम्प नै गर्नुपर्ने छ तर जम्प गराउने एउटै उपाय भनेको त्रिबि केन्द्रीय विभागहरुमा मात्रै नभएर सबै आङ्गिक क्याम्पसहरुमा अनुसन्धानको संस्कृति बसाल्नु पर्दछ । तर यो त्यति सजिलो भने देखिदैन किनभने अझै पनि त्रिभुवन विश्वबिद्यालयले बिभिन्न सङ्कायमा उप–प्राध्यापक पदहरुमा उही प्राचिन विधी विज्ञापन गरेर नियुक्ति गर्ने गरेको देखिएकोले पनि त्रिवि सुधारिन चाहँदैन भन्ने सङ्केत गरेको देखिन्छ । विद्यार्थीहरुलाई पास गर्नको लागि मात्र परियोजना कार्य वा सोधपत्र गराउने होइन, उनीहरुलाई सिकाउने उद्देश्यका साथ अनुसन्धानमा संलग्न गराउनुको साथै सोही अनुसार मूल्यांकन गर्ने परिपाटी बसाल्नु पर्दछ । सैद्धान्तिक शिक्षालाई ब्यवहारमा उतार्ने गरी अध्ययन अध्यापन गर्नुपर्दछ । यो अहिलेको आवश्यकता हो । सकेसम्म स्नातक तहका सबै कार्यक्रमलाई सेमेस्टर प्रणालीमा लगि प्रयोगात्मक शिक्षालाई टेवा पुर्याउने खालको वैज्ञानिक पाठ्यक्रम विकास गर्दै सोही अनुरुपका पाठ्यपुस्तकको निर्माण गरी चुस्त दुरुस्त रुपमा कक्षा संचालन गरियो भने यसले विश्वबिद्यालयको गरिमा बढ्ने देखिन्छ ।
यदि वैज्ञानिक पाठ्यक्रम विकास गरी अनुसन्धानात्मक क्रियाकालापलाई जोड दिने शिक्षाको अबलम्बन गर्ने हो भने प्राध्यापकको भर्नाको लागि वैज्ञानिक विधी अपनाउनु पर्दछ । उक्त विधीमार्फत संसारमा छरिएर रहेका, अनुसन्धानमा दख्खल हासिल गरेका नेपाली अथवा आवश्यक परेमा अन्य देशबाट पनि अनलाइनमार्फत दरखास्त आह्वान गरी प्राध्यापकलिन सक्ने प्रणालीको ब्यबस्था गर्न र ती प्रतिभालाई पलायन हुनबाट रोकी ब्यवस्थापन गर्न सके त्रिवि पनि केही बर्षमा अब्बल दर्जाको विश्वविद्यालय हुनेछ । अर्को कुरा हाल देखिएको राजनीतिक कोटा प्रणालीको अन्त्य गरी भागवन्डा नगरी दक्ष एवं सक्षम व्यक्तिलाई नेतृत्व तहमा नियुक्ति गरी त्रिविमा क्रमिक रुपमा सुधार ल्याउनु नै अहिलेको आवश्यकता हो ।