© २०२३
काठमाडौँ, २९ पुस ।
हिमयुगमा देखिएको हरियो पुच्छ्रेतारा शुक्रबारदेखि पृथ्वीबाट सहजै देख्न सकिनेछ । यो पुच्छ्रेतारा ५० हजार वर्षपछि पृथ्वीबाट हेर्न सकिने भएको हो ।
बीपी कोइराला मेमोरियल प्लानेटरियम अब्जरभेटरी विज्ञान सङ्ग्रहालयका निमित्त कार्यकारी निर्देशक एवं खगोलविद् डा. सनतकुमार शर्माका अनुसार शुक्रबारदेखि करिब एक महिनासम्म यस पुच्छ्रेतारालाई नेपालबाट हेर्न सकिनेछ । “आजभन्दा ५० हजार वर्षपहिले हिमयुगमा नेन्दरथल तथा हाम्रा पूर्वज ‘होमो सेपियन्स’ पृथ्वीमा विचरण गरिरहेको समयमा पृथ्वीबाट सौर्यमण्डलमा देखिएको हरियो पुच्छ्रेतारा नै फेरि पृथ्वीको नजिक आएको हो”, उनले भने ।
यो पुच्छ्रेतारा शुक्रबारदेखि माघको दोस्रो सातासम्म साँझ ७ बजेपछि नाङ्गो आँखाले अवलोकन गर्न सकिनेछ । यस पुच्छ्रेतारालाई पृथ्वीको उत्तरी गोलाद्र्धमा बस्नेले अवलोकन गर्न सक्ने र फेब्रुअरीपछि भने दक्षिणी गोलाद्र्धमा बस्नेले समेत हेर्न सक्ने उनले जानकारी दिए ।
“यो पुच्छ्रेतारा निकै चिसो हिउँको डल्लो हो । यो सूर्य नजिक आउँदा वाष्पीकरण हुन्छ र निकै लामो मुस्लो निस्कन्छ । सोही मुस्लो हरियो रङको पुच्छर आकारको देखिन्छ, यसैलाई हरियो पुच्छ्रेतारा भनिएको हो”, उनले भने ।
नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो)का अध्यक्ष सुरेश भट्टराईका अनुसार अमेरिकाको पालोमार वेधशालामा रहेको ज्विकी ट्रान्सिएन्ट फेसिलिटी (जेटीएफ)बाट पहिलो पटक सन् २०२२ मार्च २ मा निश्चित गरिएको यो धुमकेतु वा पुच्छ्रेतारा सन् २०२१ जुलाई १० देखि सन् २०२३ जनवरी ६ सम्म चार हजार ९६२ पटक अवलोकन गरिएको छ ।
“यो सङ्ख्या पुच्छ्रेतारा हो भनी किटान भएपछि विभिन्न सर्भेमा भेटिएको हो । यो धुमकेतु सबैभन्दा पहिले अमेरिकाको हवाईमा रहेको प्यानस्टार वेधशालाबाट सन् २०२१ जुलाई १० मा देखिको हो,” उनले भने ।
विज्ञान सङ्ग्रहालयका अनुसार यस पुच्छ्रेतारालाई सी–२०२२ ई ३ (जेडटीई) नाम दिइएको छ र यसले सूर्यको वरिपरि आफ्नो कक्षमा परिभ्रमण गर्ने क्रममा शुक्रबार सूर्यको सबैभन्दा नजिक पुग्ने हुँदा यसको अवलोकन गर्न सकिन्छ ।
“नेपालबाट पनि यो दुर्लभ पुच्छ्रेतारालाई ध्रुवताराको नजिकै एउटा टाउको र दुईवटा लामा र छोटा गरी तीनवटा पुच्छरका रूपमा देखिनेछ ।
यसको रङ हरियो देखिनुमा डाई कार्बन अणुको समुपस्थिति भएकाले हो,” डा. शर्माले भन्नुभयो । यो पुच्छ्रेताराको अवलोकन नाङ्गो आँखाका साथै वाइनाकुलर तथा टेलिस्कोपबाट समेत अवलोकन गर्न सकिने उनले जानकारी दिए ।
अध्यक्ष भट्टरार्ईले वेधशाला नेपाल एस्ट्रोनोमिकल सोसाइटीले सन् २०१६ देखि राष्ट्रिय क्षुद्र ग्रह खोज अभियानका लागि सहकार्य गर्दै आएको बताए ।
त्यसमा ‘इन्टरनेसनल एस्ट्रोनोमिकल सर्च कोल्याबोरेसन’ को सहकार्य रहेको छ । उनले क्षुद्र ग्रह खोजका लागि यसै टेलिस्कोपले लिएको तथ्याङ्क उपलब्ध गराउँदै आएको जानकारी दिए । गोरखापत्र