© २०२३
बुटवल,१५ पुस । सत्तारुढ दलहरुको बिहीबार बसेको शीर्ष वैठकले सरकार सञ्चालनका लागि उच्चस्तरीय संयन्त्र बनाउने र सरकारको न्यूनतम साझा कार्यक्रम ५ दिनभित्र तयार गर्न मस्यौदा समिति बनाउने निर्णय गरेको थियो । बैठकपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले भने दुवै विषयलाई मिसमास गरेर अधुरो सूचना दिएको पुष्टी भएको छ । उनले उच्चस्तरीय संयन्त्र उल्लेख नै नगरी सरकारको न्यूनतम कार्यक्रम बनाउन समिति गठन भएको र संयोजक एमाले अध्यक्ष केपी शर्मा ओलीलाई तोकिएको बताएका थिए ।
तर उक्त कुरा सत्य नभई सरकार सञ्चालन उच्चस्तरीय संयन्त्रको संयोजक ओली र साझा कार्यक्रम मस्यौदा समितिको संयोजक अर्थमन्त्रीलाई जिम्मा दिने निर्णय भएको थियो । पौडेलको संयोजकत्वमा बनेको मस्यौदा समितिमा माओवादीबाट वर्षामान पुन, राप्रपाबाट डा धवलशम्शेर राणा र राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा मुकुल ढकाल सदस्य छन् । पाँच दिनको समय पाएको समितिले शुक्रबारबाट काम थालेको छ । गठबन्धनको साझा कार्यक्रम पनि देशको अर्थतन्त्र सुधारमा केन्द्रित हुने अर्थमन्त्रीको सचिवालय स्रोतको भनाइ छ ।
विदेशी मुद्राको सञ्चितीमा दबाब पर्न नदिन उत्पादनमुखी अर्थतन्त्रमा जोड दिएर सरकारले आफ्नो न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्ने स्रोतले बताएको छ । अर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्रका विषयलाई लिएर विभिन्न क्षेत्रका प्रतिनिधिसँग भेटघाट गरिसकेका छन् । उनले सबैको समस्या समाधान गर्ने आश्वासनसमेत दिँदै आएका छन् ।