© २०२३
बुटवल,१२ पुस । नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई छुट्टाछट्टै भेटेर अर्थतन्त्र सुधारका लागि सुझाव दिएका छन् । महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको महासंघको पदाधिकारी प्रतिनिधिमण्डलले अर्थतन्त्र सुधार हुने कदम चाल्न सुझाव दिएको छ । अर्थतन्त्रमा आयामिक असर परेको र वहुप्रतिक्षित चालु आर्थिक बर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समिक्षाले समेत विद्यमान समस्या सम्बोधन गर्न नसकेको महासंघले अवगत गराएको थियो ।
यस्तै नेपाल उद्योग परिसंघको टोलीले पनि मंगलबार भेट गरेको छ । अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको परिसंघ प्रतिनिधिमण्डलले आज बिहान प्रधानमन्त्रीको निजी निवास खुमलटारमा भेटवार्ता गरेको हो ।
परिसंघले संकटपूर्ण अवस्थामा रहेको मुलुकको अर्थतन्त्रलाई पुनः गति प्रदान गर्न तत्काल चालिनुपर्ने स्पष्ट कदमसहितको अवधारणा प्रधानमन्त्री समक्ष पेश गरेको हो । परिसंघले नेपाली अर्थतन्त्रलाई पुनः गति प्रदान गर्न वित्तीय क्षेत्रको तरलता संकट तथा उच्च ब्याजदर, औद्योगिक प्रबद्र्धन, पूर्वाधार, पर्यटन, ऊर्जा र सूचना प्रविधि क्षेत्रलाई प्राथमिकतामा राख्दै तत्काल गर्न सकिने उपाय समेत सुझाएको छ । परिसंघको यो सुझावलाई सरकारले उच्च प्राथमिकतामा राख्दै कार्यान्वयनमा लैजाने विश्वास अध्यक्ष अग्रवालले गरे ।
परिसंघको बधाई एवं अर्थतन्त्र सुधारका सुझाव ग्रहण गर्दै प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रबाट यस्तै खालको सुझाव खोजेको बताए ।
प्रधानमन्त्री प्रचण्डले सरकारको मुख्य ध्यान अर्थतन्त्र सुधार्नमै रहेको र यसका लागि परिसंघसँग सरकारले सहकार्य गर्ने बताए ।