© २०२३
नेपालगन्ज उप—महानगरपालिकाले सडक क्षेत्रमा सडक अतिक्रमण हटाउन सुरु गरेको छ । पैदलयात्रुको आवागमनमा अवरोध हुने गरि सडक पेटी तथा फुटपाथ कब्जाको प्रयास भएपछि उपमहानगरपालिकाले फुटपाथ क्लीयर बनाउने अभियान शुरु गरेको हो ।
ढल तथा नालामाथिको फुटपाथमा ठेला राख्ने, पसलेले सामान, बोर्ड, मोटरसाइकल राख्ने गर्नाले आवागमनमा कठिनाई हुनुका साथै कुरूपता बढ्दै गएपछि शुक्रबार कार्यवाहक नगर प्रमुख उमा थापा मगर नेतृत्वको टोलीले सुर्खेत रोडबाट सडक अतिक्रमण हटाउन सुरु गरेको हो । प्रहरी दस्तासहित जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक अरूण पौडेल, वडा अध्यक्षहरू सुनिलसिंह हमाल, मो सफीक वेहना, उपमहानगरपालिकाका निरीक्षण शाखाका प्रमुख पवन कनोजीया, नगर प्रहरी सहितको टोलीले नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल अगाडिबाट फुटपाथ खाली गराउन शुरु गरेको थियो ।
सहज हिँडडुल गर्न नसक्ने गरि सडक पेटीमा राखिएका ठेला, सर सामान, साइकल, हेल्मेटहरू नियन्त्रणमा लिइएको छ । नियन्त्रणमा लिइएको दुई ट्रक सरसामान फिर्ता नगरिने पनि उपमहानगरपालिकाले जनाएको छ । यस अघि तेस्रो नगरसभाले माइकिङ गरेर सचेत गराउने, खाली नगरिए जफत गरिएको सामान फिर्ता नगर्ने निर्णय गरिसकेको छ । सचेत गराउँदा गराउँदै सडकपेटीमा सामान राखेको पाइएमा थप कारवाही गरिने निरिक्षण शाखाका प्रमुख कनोजीयाले जानकारी दिऐ । अभियानको निरन्तरतासँगै थप प्रभावकारी बनाइनु पर्ने यात्रुहरूको माग छ । केही ठेला उठाइँदा फुटपातमा बसेर ठेला व्यापार गर्नेहरूले उपमहानगरपालिका विरुद्ध नारावाजी गर्दै केही बेर मुलगेट घेराउ गरेका छन् । थप छलफलका लागि ठेला व्यवसायी व्यवस्थापन समितिका पदाधिकारीलाई आइतबार उपमहानगरपालिका बोलाइएको कार्यवाहक नगर प्रमुख थापाले बताईन । नगरका थप सडक पेटी समेत व्यवस्थित गरिने उपमहानगरपालिकाले जनाएको छ