© २०२३
बि.सं. २०३८ सालतिर सुमधुर संगित विद्यालय र सुमेररत्न शाक्य बुटवलमा चलेको नाम थियो । संगित विद्यालय बाद्यबाधन र गायन सिक्ने थलो थियो भने सुमेररत्न त्यस विद्यालयका संचालक तथा प्रशिक्षक । बाद्यबाधन र गायन सिक्न रहर गर्ने यूवाहरू उनको दैलोसम्म पुग्थे । उनी पनि मिहिनेत गरीगरी ती यूवाहरूलाई सिकाउन अघि सर्थे ।
त्यतिबेलाको समय सम्झदै शाक्य भन्छन्, सिक्नका लागि नवलपरासीको सुनवलदेखि भैरहवासम्मका यूवाहरू विद्यालयमा आउँथे । शुल्क भने मासिक १ सय ५० देखि २ सयसम्म थियो । शाक्य भन्छन् त्यो विद्यालय २०४२/०४३ सम्म चल्यो त्यसपछि बन्द भयो । विद्यार्थीको चाप भयो, समय पुगेन, एक्लै भएँ चलाउन सकिएन । साधारण विद्यालयको शिक्षक पनि भएका कारण समय दिन सकिनँ पुरानो कुरा सम्झदै शाक्यले भने । त्यतिबेला बागेश्वरी संगितालय खुलिसकेको शाक्य बताउँछन् ।
बाद्यबाधनको तबला तर्फ शाक्यको रुचि र क्षमता छ । हार्मोनियम र गितार बजाउने र गायनमा समेत परिचय बनाएका शाक्य बुवा श्यामरत्न शाक्य र मुक्तिप्रसाद श्रेष्ठको प्रेरणाबाट यस क्षेत्रमा लागेको बताउँछन् । त्यतिबेला बुटवलमा शंकर कपाली नाम चलेका तबला बाधक थिए ।
शंकरनगरका माणिकलाल श्रेष्ठ र उनको जोडीले यस क्षेत्रमा नाम कमाएको थियो । माणिकलाल हार्मोनियम बजाउँथे भने शाक्य तबला । २०३१ सालमा तबला बाधक प्रतियोगितामा राष्ट्रिय च्याम्पियन भई पुरस्कार जितेको शाक्य बताउँछन् । २०३१ सालमै लुम्बिनी अञ्चलका छ वटै जिल्लामा लुम्बिनी सांस्कृतिक मण्डल, बुटवल र रेलिमै सांस्कृतिक मण्डलको नेतृत्वमा सांकेतिक यात्रा भएको थियो । चन्द्रध्वज श्रेष्ठको नेतृत्वमा संगित विज्ञ पन्नालाल शाक्यले नेतृत्व गरेका थिए । यात्राको बाद्यबाधनमा उनी थिए ।
जिल्लाको प्रतिनिधित्व गर्दा होस् वा विद्यालयको प्रतिनिधित्व गर्दा शाक्यले नेतृत्व गरेको समूह सधै प्रथम हुन्थ्यो । क्षेत्रिय शिक्षा निर्देशनालय, पोखराले २०४१ सालतिर आयोजना गरेको नृत्य र गायन प्रतियोगितामा बुटवलको कान्ति माविको नेतृत्व गर्दा पनि उनको समूह प्रथम भएको (हेर्नुस् तस्वीर) थियो । शाक्य नेवारहरूको गाईजात्रा, रोपाइँ जात्राका समयमा उनलाई भ्याईनभ्याई हुन्छ । अहिलेपनि नयाँ पुस्तालाई बाद्यबाधन र गायनमा प्रशिक्षण दिन उनलाई पाल्पा, भैरहवा र बुटवलबाट तानातान हुन्छ ।
शाक्यको घरका कोठाका भित्तामा संगित क्षेत्रमा योगदान पु¥याएबापत सरकारी र संघसंस्थाबाट प्रदान गरिएका सम्मान र प्रसंसा पत्र झुण्डिएका छन् । ५९ बर्षको उमेरमा हिडिरहेका शाक्य संगितलाई साथी ठान्छन् । आफूमा रहेको सीपलाई सम्पत्ति ठान्छन् । आफ्ना सन्ततिले संगिततर्फ देखाएको लगन देख्दा खुसी हुन्छन् । उनका दुई छोरा संगिततर्फ नजिक रहेका छन् । एक छोरा नविनरत्न शाक्य रूपन्देहीको तिलोत्तमा नगरमा रहेको पामीर एकेडेमीका संगित शिक्षक हुन् । छोरी सृष्टि शाक्य नृत्य निर्देशक हुन् भने एक छोरा अष्टे«लियामा रहेपनि संगिततर्फ उनको पनि उत्तिकै झुकाव छ ।
बुटवल–२ सिनेमारोडमा जन्मिएका शाक्यको बुटवल–१० कालिकानगरमा श्रीमती मीरा शाक्य, छोरा, बुहारी र नातिसँग बसोबास छ । बुटवल माविबाट एसएलसी गरेका उनले बुटवल बहुमुखी क्याम्पसबाट आइएड उत्तीर्ण गरेका थिए । बुटवलको कालिका मानवज्ञान माविमा निमावि तहको शिक्षकको रूपमा रहेका शाक्य आउने कार्तिक ९ गतेबाट उमेरका कारण अवकाश लिँदैछन् ।