© २०२३
रोल्पा सदरमुकामवाट उत्तरी सिमानामा रुकुम पूर्वसंग जोडिएको एक गाउँ हो थवाङ । रोल्पा जस्तो विकट पहाडी जिल्लामा रहेर पनि सधै राष्ट्रिय अन्तराष्ट्रिय चर्चाको विषय वन्दै आएको थवाङ पर्यटकीय दृष्टिकोणवाट वहुआयामिक महत्व वोकेको थवाङ अझै सम्म राज्यको नजरमा पर्न सकेको छैन ।
चौधौं शताव्दीमा छापकोटे राजा र सत्रौं शताव्दीमा रुकुमकोटे राजालाई घोडावाट खसालेर राज्य विरोधि कित्ताका उभिएको थवाङले ले एक्काईसो शताव्दीमा आई पुग्दा समेत आफ्नो पुरानो विरासतलाई कायमै गरेको देखिन्छ । देशमा भएका ठूलठूला परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्दै आएको थवाङ परिवर्तन पछि भने सधै सत्ताको विपक्षमै रह्यो । मगर वाहुल्य थवाङ पछिल्लो पटक अन्य जातीको समेत मिश्रित वासस्थान वन्न पुगेको छ । दलित,ठकुरी, नेवारहरु पनि थवाङको वासिन्दा भए संगै एकल जातिय वसोवास रहेको थवाङ अव वहुजातिय समाज वन्न पुगेको छ । समुन्द्री सतहवाट २ हजार मिटरको उचाईमा अवस्थीत थवाङ गाउँ समथर भूभागमा अवस्थीत छ । करिव १ हजार घरधुरी रहेको साविकको थवाङमा रहेको ३ वटा वडामा २२९ घरधुरी रहेका छन । काठको फ्लेक र स्लेट ढुंगाले छाना छाएका गुजुमुज्ज र वाक्ला घरमा प्राचिन कला संस्कृती झल्कने हस्तकला समेत अंकित छन । साविक थवाङ गाविसको ३ वटा वडा रहेको ठूलो गाउँलाई नै थवाङ भन्ने गरिन्छ । गाउँमा रहेका सवै वस्तीमा ढुंगा विछ्याएर गाउँलाई नै सफा सुग्घर राखिएको छ ।
थवाङलाई कम्युनिष्टहरु अजम्वरी गाउँ, आस्थाको केन्द्र, कम्युनिष्ट विश्वविद्यालयको नामले संवोधन गर्ने गर्दछन । २०१३ सालमै राजनैतिक चेत वोकेका थवाङीहरु मोहन विक्रम सिंह र खगुलाल गुरुङको पहलमा कम्युनिष्ट पार्टीमा संगठित भएका हुन । कम्युनिष्ट पार्टी माथि प्रतिवन्ध लगाइएको तत्कालिन अवस्थामा किसान संगठनको नामवाट उनीहरु कम्युनिष्ट पार्टीमा संगठित भएका थिए । नेपाल एकीकरण पूर्व बाईसे चौविसे राजाहरुको दमन, उत्पीडनको विरुद्ध संघर्ष गरि राष्ट्रिय अन्तराष्ट्रिय रुपमै सधै चर्चाको शिखरमा रहने थवाङ अहिले सम्म पनि उक्त विरासतलाई निरन्तरता दिईरहेको छ । अरुवेला विभाजित भए जस्तो देखिने थवाङी राष्ट्रिय मुद्धामा भने एक हुदै आएका छन स्थानीय जयप्रकाश रोकाले भने । वाईसे चौविसे राजा लालु शाही र कालु शाहीलाई थवाङवाट लखेटे संगै राज्य संग प्रतिरोधि भावना वोक्दै आएका उनीहरु प्रजातन्त्रको आगमन पछि २०१५ सालमा भएको पहिलो आम निर्वाचनमा संपूर्ण भोट तत्कालिन कम्युनिष्ट पार्टीलाई दिएको थवाङले २०३७ सालको जनमत संग्रहमा भने संपूर्ण भोट वहुदलमा खसालेको थियो । २०३८ सालको निर्वाचन वहिष्कार गरेको तथा वहुदलमा लागेकै कारण सोही वर्ष तत्कालिन शाही नेपाली सेनावाट मेजर अप्रेशनको समेत सामना गरेको थियो । वहुदलिय व्यवस्था पुनरस्थापना संगै २०५१ सालमा भएको मध्यावधि निर्वाचनमा थवाङवाट ४ भोट मात्र खसेको थियो । माओवादीले संचालन गरेको जनयुद्धको उद्गम थालो मानिने थवाङले जनयुद्ध कालमा भएका सवै निर्वाचन वहिष्कार गरि रह्यो । सात राजनैतिक दल र नेकपा माओवादी वीच भएको शान्ती संझौता पछि २०६४ सालमा भएको पहिलो संविधान सभा निर्वाचनमा थवाङले सवै मत तत्कालिन माओवादी पार्टीका सुप्रिमो प्रचण्डलाई दिएको थियो । २०७० सालमा भएको दोश्रो संविधान सभा निर्वाचनमा शुन्य मतदान संगै थवाङ पुन एक पटक राष्ट्रिय अन्तराष्ट्रिय चर्चाको शिखरमा पुगेको थियो । विभिन्न समयमा राज्य विरुद्ध विप्लव गर्र्दै आएको थवाङ राजनीतिका अतिरिक्त सांस्कृतिक र प्राकृतिक दृष्टिकोणले पनि नेपालको एक महत्वपूर्ण गन्तव्य वन्न पुगेको छ ।
थवाङमा जलजला सामुदायिक अस्पताल संचालनमा रहेको छ । जापानी चिकित्सक रेउकिची इसिदा लामो समय देखी उक्त अस्पतालमा सेवारत छन । डक्टर रेउकिचिले सामुदायिक अस्पतालका लागि नौ लाख रुपैयाँको लागतमा प्रोटेवल एक्सरे मेसिन समेत सहयोग गरेका थिए । यसै गरि अस्पतालका लागि धिरज थपलियाले समेत ईसिजी मेसिन सहयोग गरेको स्थानीय उदय घर्तीमगरले जानकारी दिए । शहिद स्मृती क्याम्पस,शहिद स्मृती पार्क समेत समुदायले संचालन र रेखदेख गरेका संरचना हुन । जिल्ला कृषि विकास कार्यालय रोल्पाको सहयोगमा थवाङलार्य अर्गानिक गाउँ घोषणाका लागि प्रमाणिकरणको काम भईरहेको छ । रासायनिक मल र विषादमुक्त गाउँको रुपमा घोषणा गर्दै प्रांगारिक मल प्रवद्र्धन गर्ने गरि काम भईरहेको स्थानीय अगुवा कृषक हितप्रसाद रोकाले वताए ।
जिल्ला सदरमुकाम लिवाङ, दाङ सदरमुकाम घोराही तथा पूर्वी रोल्पाको प्रमुख वजार केन्द्र सुलिचौर वाट समेत सडक संजालमा जोडिएको थवाङ मध्य पहाडी लोकमार्गवाट छोटो दुरीमा पर्दछ । मध्य पहाडी लोकमार्गले रोल्पा जिल्लालाई नछोए पनि थवाङसंग सो राजमार्ग जोडिदा जिल्लाको समग्र विकासमा टेवा पुग्ने आशा गरिएको छ । लोकमार्गले थवाङलाई जोड्न सके जलजलालाई पर्यटकीय रुपमा थप विकास र विस्तार गर्न सकिने जानकारहरु वताउछन ।
मौलिक परम्पराको संरक्षणमा थवाङ
जन्म,मृत्यु, विवाह जस्ता संस्कारका साथै प्रकृती पुजामा मान्यता राख्नु थवाङको मौलिक परम्परा हो । भाषा, रहन सहन र भेषभुसामा समेत मौलिकता झल्काउनु थवाङको छुट्टै विशेषता हो । मुख्य चाडको रुपमा हरेक वर्ष आषाढ १ देखी ५ गतेसम्म भुम्या पर्व मनाउने चलन छ । भुम्या पर्व मगरको मौलिक सांस्कृतिक पर्व भए पनि अन्य स्थानमा लोप हुदै गएको उक्त वर्षलाई थवाङमा भने भव्यताका साथ मनाउने चलन अहिले पनि कायमै छ । नौमती वाजाको १२ प्रकारको तालमा परम्परागत मगर पोषाक लगाएर १२ प्रकारको नाचमा एकै पटक सयौं नरनारीहरु नाच्ने गर्दछन । पछिल्ला दिनमा भुमे वर्प हेर्न तथा सो वारे अनुसन्धान गर्न देश विदेशवाट थवाङ आउनेहरुको लर्को लाग्ने गरेको छ ।
जनकम्युनको अभ्यास
साम्यवादी उत्पादन सम्वन्ध र जीवनशैलीको विकास गर्न व्यक्तीगत सम्पत्ती र स्वामित्व सामुहिकरण गर्दै थवाङीहरुले जनकम्युनको अभ्यास गरेका थिए । २०६० सालमा ६ परिवारवाट कम्युन सुरु गरिएको थियो । २०६३ साल सम्म कम्युनमा आवद्ध हुनेहरुको संख्या ३३ घरपरिवार थियो । शान्ती प्रकृया संगै कम्युनमा आवद्ध २० घर परिवार स्वईच्छाले कम्युनवाट वाहिए संगै १३ परिवारका ८० सदस्यले लामो समय सम्म कम्युनको अभ्यास गरिरहेका छन । अजम्वरी जनकम्युन नाम दिइएएको सो कम्युनले साम्यवादी दर्शनलाई व्यवहारीक प्रयोगमा ल्याउने अपेक्षा गरिएको थियो । यसलाई जनयुद्धकालिन निर्माणको अंश र साम्यवादी व्यवस्थाको प्रतिकको रुपमा लिने गरिन्छ ।
एशियाकै दोश्रो र नेपालको पहिलो ट्रफल अनुसन्धान केन्द्र ः
त्रिवुभन विश्वविद्यालयको आर्थिक तथा प्राविधिक सहयोगमा अजम्वरी जनकृषि सहकारी संस्था लिमिटेड राचीवाङ थवाङमा एशियाको दोश्रो र नेपालको पहिलो ट्रफल अनुसन्धान केन्द्र स्थापना गरिएको हो । यूरोपियन राष्ट्रहरुमा खेती गरिने ट्रफल थवाङमा समेत खेती गर्न सकिने अनुसन्धानवाट नतिजा आए आर्थिक शसक्तीकरणमा कायपलट हुने आशा गरिएको छ ।
जलजलाको प्रवेशद्धार थवाङ
साविक जेल्वाङ,मिरुल, थवाङ र धवाङ गाविसको सिमानामा पर्ने भए पनि धार्मिक पर्यटीकय क्षेत्र जलजलालाई थवाङको सन्नीकट हेर्ने गरिन्छ । जलजला रोल्पा जिल्लाको एक महत्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थलको रुपमा स्थापित छ । जलजलाको पुरानो नाम गामा हो । मगर भाषामा गामाको अर्थ अग्लो लेकको वुकी पाटन भन्ने वुझिन्छ । आजभोली स्थानीयहरुले जलजलाई गोङ भन्दछन । गोङ र गामा मगर खाम भाषाका पर्यायवाची शव्द हुन ।
३१७२ मिटर उचाईमा रहेको घाँसे मैदानी, दलदले भूमि रहेकाले यसलाई जलजला भनिएको हो । दलदले क्षेत्रमा पानी जम्ने र जमिन हल्लिने भएकाले दलदलेवाट जलजला भएको भनिन्छ । पशुपालनका लागी चरण क्षेत्रको रुपमा रहेको जलजला क्षेत्रलाई पशुपालनका लागी राम्रो संभावना वोकेको क्षेत्रको रुपमा लिने गरिन्छ । सो क्षेत्रको वन्यजन्तु, गैरकाष्ट वनपैदावरको संरक्षण तथा भू संरक्षण समेत लाई मध्य नजर गर्दै २०५५ सालदेखी ततलिन विद्रोही माओवादीको पहल तथा स्थानीय समुदायको सहभागितामा चरिचरण वन्द गरिदै आएको छ । २०७३÷०७४ को वजेट नीति तथा कार्यक्रम मार्फत नेपाल सरकारले जलजला क्षेत्रलाई संरक्षण क्षेत्रको रुपमा राखेको छ ।
सिस्ने, पुथा,धवलागिरी, नीलगिरी, अन्नपूर्ण, माछा पुच्छ्रे लगायतका हिमाका हिम चुचुराको मनोरम दृष्य एकैपटक अवलोकन गर्न सकिने सो क्षेत्रलाई प्रकृतिको वरदानको रुपमा लिने गरिन्छ । थार,घोरल, मृग, वदेल,भालु,चितुवा,बाघ,कस्तुरी,रातो पण्डा, डाँफे,मुनाल,कालिज लगायतका वन्यजन्तु पाईने सो क्षेत्रमा पाँच औले,विषमा, अतिस, कुठ,सतुवा, निरमसी, पाषणवेद,सुगन्धवाल, चिराईतो लगायतका जडीवुटी समेत पाईन्छ । समुन्द्री सतहवाट ३२६६ मिटर उचाईमा अवस्थीत जलजलाको चुचुरोको रुपमा रहेको धरमपानी भने ३६०० मिटरको उचाईमा रहेको छ । सदरमुकाम लिवाङवाट समेत देखिने धरमपानीको चुचुरालाई नै धेरैले जलजला भनेको सुनिन्छ । यहाँ माओवादी जनयुद्धका शहिदहरुको संझनामा ५ कुने शहिद स्मृती स्तम्भ समेत निर्माण गरिएको छ । यहाँवाट आकर्षक सूर्योदय अवलोकन गर्न सकिन्छ । राष्ट्रकै सम्पदाको रुपमा रहेको जलजला क्षेत्र चैत्र देखी भाद्र सम्म रंगी विरंगी फुलले प्राकृतिक फुलवारी झै देखिन्छ । दर्जनौ प्रजातीका गुरास,गन्धव,हाङव,रथविरथ,पातव,विन्जेरीव,धस्किनि जिलाव लगायतका फुलहरु चैत्र देखी भाद्र सम्म फुलिरहन्छ भने हिउद सिजनमा पर्ने सेताम्य हिमपातले जलजलाको आकृति नै परिवर्तन हुने गर्दछ ।
वैशाख पूर्णिमा, जेष्ठ पूर्णिमा र जनै पूर्णिमा गरि वर्षमा तीन पटक पुजा चल्ने गर्दछ । यहाँको पुजा हिन्दु धर्मसंग कुने सम्वन्ध नभएको वताईन्छ । वजुथान, वराहथान, लामाथान र झाँक्री थान गरि ४ वटा मन्दिरहरु रहेका छन । रोकामगर यहाँका प्रमुख पुजारी हुन । यहाँ भेडाको वलि दिईन्छ । सुरुमा वलि दिनका लागी प्रतिस्पर्धा हुने गर्दछ । बलि दिनका लागी एक व्यक्तिले २५ हजार रुपैयासम्म भेटी चलाउने गर्दछन । श्रद्धालुहरुले चढाएको बलिको टाउका विक्री र भेटीवाट आएको पैसाले थवाडमा रहेको मावि संचालन हुदै आएको छ ।