© २०२३
महिला र वालिकाविरुद्धको हिंसा विश्वब्यापी समस्याका रूपमा रहेको छ । यो मानव अधिकारको उल्लंघन र अमानवीय कार्य हो । दुर्भाग्य तिन महिलामा एकका दरले अर्थात् ३५ प्रतिशत महिलाहरूले जीवनमा कुनै न कुनै प्रकारको हिंसा भोग्न बाध्यछन् । त्यसमा पनि गरिव, सिमान्तकृत र अपांगता भएका महिला तथा बालिकाहरू बढी हिंसा पीडित हुने गर्छन् । संसारभरी करिव ३५ प्रतिशत र कुनै कुनै देशमा ७१ प्रतिशत महिलाहरू भूतपूर्व वा वर्तमान श्रीमान्बाट हिंसा भोग्न बाध्य छन् । करिव ६५० मिलियन आजका महिलाहरूको बालविवाह भएको थियो । उनीहरूको विवाह १५ वर्ष अगाडि भैसकेको थियो । विश्वभरि ७१ प्रतिशत मानव बेचबिखनमा महिला र बालिकाहरू परेका हुन्छन् । हरेक चारवटा बालिकामध्ये एउटा बालिका बेचबिखनमा परेको हुन्छ । यो कहालीलाग्दो तथ्याङ्कले महिला हिंसाको समस्या गम्भीररुपमा बढिरहेको देखाउँछ । अर्थात् कुनैपनि महिला वा बालिका सुरक्षित र सम्मानजनक जीवन बाँच्नबाट बञ्चित छन् । विभिन्न राजनीतिक, सामाजिक, मानव अधिकारको उपयोग भैरहेको एक्काइसौं शताब्दीमा समेत लैंगिक हिंसाको निरन्तरता समग्रमा मानव समुदायका लागि लाजमर्दो अवस्था हो ।
हिंसाका विभिन्न स्वरुपमध्ये घरेलु हिंसा, यौन शोषण र दुब्र्यवहार, बाल तथा जबर्जस्ती विवाह, करणी र मानव बेचबिखनजस्ता विभिन्न प्रकारका हिंसा र यातना पर्दछन् । संयुक्त राष्ट्र संघ लागू पदार्थ तथा अपराध कार्यालयले १५५ देशमा गरेको अध्ययन प्रतिवेदनका अनुसार विश्वमा हुने मानव बेचबिखनमध्ये ७९ प्रतिशत बेचबिखन यौन शोषणसँग सम्बन्धित र महिला तथा बालिका पीडित छन् । यी विभिन्न प्रकारका शारीरिक यातना हुन् । यी बाहेक महिला तथा बालिकाहरू मानसिक वा संवेगात्मक, मनोवैज्ञानिक दवाव र तनावमा पारिएका हुन्छन् । तिरस्कार र अपहेलना पटकपटक सहनुपरेको हुन्छ । घर परिवार, कार्यालय, विद्यालय, यात्रा, साथी, ईष्टमित्र जो सुकैबाट र जहिले पनि सुरक्षा खतरा रहिरहेको हुन्छ ।
भ्रुण हत्यादेखि सुरू हुने लैंगिक हिंसा जीवनभर जुनसुकै उमेरमा पनि हुने गर्दछ । बालिका जन्म हुने पहिचान भएपछि भ्रुण हत्या गर्ने अर्थात् गर्भपतन गर्ने चलन बढेको छ । नचाहँदा नचाहँदैमा भएको गर्भधारण वा लापरवाहीका कारण भएको गर्भधारणमा समेत छोरीका आधारमा गर्भपतन गर्ने गरिन्छ । बालिका जन्माउने आमा, बच्चा दुवैको स्वास्थ्य, पोषण र सामाजिक हेराइमा विभेद गरिन्छ । जब बालिका स्कुल जाने उमेर पुगेपछि कुन विद्यालयमा भर्ना गर्ने, कति खर्च गरेर पढाउने भन्नेमा विभेद हुन्छ । सहपाठी र शिक्षकहरूबाट बालिका र महिलाहरु यौनशोषणमा पर्दछन् । बालिका किशोरावस्थामा पुगेपछि उनको यौन शोषण सुरू हुन्छ । जब उनको विवाह हुन्छ, घरेलु हिंसा, कार्यबोझ र पारीवारिक बन्धनको अतिरिक्त बच्चाहरूको स्याहार सुसारको जिम्मेवारी थोपरिन्छ । अझ छोरी पाउने महिला र दाइजो कम ल्याउने महिलाका लागि दक्षिण एसियन मुलुकमा थप हिंसा ब्यहोर्नुपर्ने अवस्था छ । तथापि हिंसाको कारण र स्वरुपमा केही भिन्नता भए तापनि लैंगिक हिंसा विश्वब्यापी समस्याका रुपमा फैलिएको छ ।
महिला तथा बालिका हिंसाका कारणहरू धेरै छन् । समाजमा अपहेलित हुनुपर्ने वा बेइज्जत हुन्छ भन्ने डरले र पिडकले सार्वजनिक बेइज्जती गरिदिने धम्की दिएका कारणले गर्दा महिला हिंसा धेरैजसो गोप्य रहन्छन् । फलस्वरुप पिडकहरू हिंसाका लागि हौसिएका हुन्छन् । एकपटक बद्मासी ढाकछोप भएपछि अर्को बद्मासी गर्ने चाहना पलाउँछ । यसरी महिला हिसाको दुष्चक्र बढ्दै जान्छ । महिलाहरू विरुद्धका धेरै हिंसाहरू सामाजिक लैंगिक विभेदका कारण भैरहेका छन् । कतिपय ठाउँहरूमा महिलाहरूका लागि कामको विभेद छ । घरेलु काम, बच्चाको पालनपोषणमा महिलाहरू बढी लगाइन्छन् । यी कामहरूको ज्याला वा मूल्य तोकिएको हुदैन । अर्कोतिर जागिर, ब्यवसाय, राजनीतिलगायत क्षेत्रमा पुरुषहरूको बर्चस्व रहन्छ । यी क्षेत्रबाट आर्थिक लाभ हुुने हुनाले महिलाहरूमाथि पुरुषको दबदबा बढेका उदाहरण छन् । गरिवीका कारण यौन ब्यापारमा संलग्न हुने र हिंसा सहनुपर्ने अवस्था पनि छ । धार्मिक साँस्कृतिक प्रचलनहरू पनि महिलामैत्रीभन्दा पुरुषको आधिपत्य बढाउने खालका छन् । यी सामाजिक मूल्य मान्यताका कारण बच्चादेखि नै छोरा र छोरीका विच विभेदकारी व्यवहार देख्न पाइन्छ । अहिले पनि एक कप चिया पकाउन प¥यो भने छोरालाई नभएर छोरीलाई अ¥हाउने चलन हाम्रो समाजमा छ । आजकल महिलाविरुद्धको हिंसा र बेचबिखनमा महिलाहरू नै अग्रसर हुने पनि देखिएको छ । यी विभिन्न स्वरुपका विभेदकारी ब्यवहार, दुव्र्यवहार र हिंसाका कारण बालिका वा महिलामा शारीरिक तथा मानसिक चोटपटकका साथै दिर्घकालीन रोगहरू लाग्ने र मृत्यु तथा आत्महत्यासम्मका दुष्परिणाम निम्तिने गरेको छ । तसर्थ यी दुव्र्यवहार र हिंसा कम गर्नका लागि प्रभावकारी कदम चाल्नु आवश्यक छ ।
अन्तर्राष्ट्रिय स्तरमा पनि मानव अधिकार, मानव बेचबिखनविरुद्धका सन्धीहरू, महिला विरुद्धका सबै प्रकारका हिंसाको अन्त्यसम्बन्धि सम्झौता गरिनुका साथै विभिन्न महिला सचेतीकरण र सशक्तिकरणका कार्यक्रमहरू सञ्चालन, आर्थिक एवम् राजनीतिक गतिविधिमा महिला सहभागिता, सामाजिक र विकास निर्माणमा महिला सहभागिता, शिक्षा, स्वास्थ्य, पोषणका कार्यक्रम सञ्चालन, दण्ड सजायसहितका कानुनी प्रबन्ध, नारी दिवस र महिला हिंसा विरुद्धको १६ दिने अभियानजस्ता कार्यक्रमहरू गरी सचेतना बृद्धि गरिएका छन् । नेपालमै पनि विभिन्न दिवस, अभियान, लक्षित वर्गका कार्यक्रममा महिलाको सहभागिता, स्थानीय सरकारमा प्रमुख वा उपप्रमुखमध्ये एकजना महिला उठाउनुुपर्ने ब्यवस्था, विभिन्न तहमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्वको ब्यवस्था, महिला आयोगको गठन, महिला शिक्षक, छात्रबृत्ति, नोकरीमा महिला कोटाको ब्यवस्था लगायतका कानुनी तथा कार्यक्रमिक सुधार गरिएको छ । यसबाट महिलाको सहभागिता बृद्धि, शिक्षा स्वास्थ्यमा सुधार देखिन थालेको छ । तर, घरेलु हिंसा, बेचबिखन, यौनशोषण र हत्याका अपराधीहरूलाई राजनैतिक संरक्षणका कारण कारवाही हुन नसकेका घटनाले गर्दा अझपनि बालिका तथा महिलाहरू सुरक्षित र सम्मानित जीवन बाँच्न पाएका छैनन् । यस्तो अवस्था हुनु वास्तवमै लाजमर्दो कुरा हो ।