‘दक्ष एवम् अनुभवी शिक्षकहरूबाट अध्यापन गराइने, रोजगारमूलक शिक्षा प्रदान गर्ने, उत्कृष्ट नतिजा ल्याउन सफल, प्रविधियुक्त कक्षाकोठा, बालमैत्री शिक्षण एवम् शान्त सिकाई वातावरण, खेलकुद तथा अतिरिक्त क्रियाकलाप, परियोजना कार्य तथा प्रयोगात्मक अभ्यास गराइने, प्रयोगशाला र पुस्तकालयको राम्रो ब्यवस्था भएको यस विद्यालयमा आफ्ना छोराछोरी भर्ना गराई सुन्दर भविष्यको सुनिश्चितता गर्नुहोस् ।’चैत महिना सुरू भएसँगै प्रायः सबै विद्यालयका यस्तै विज्ञापनले रेडियो तरङ्ग गुञ्जिरहेको सुनिन्छ । पत्रपत्रिकाका पानाहरूमा यिनै शब्दहरू भेटिन्छन् । कुनै समयमा उत्कृष्ट नतिजा ल्याउन सकेको कुनै वर्तमान वा भूतपूर्व विद्यार्थीलाई प्रायोजित प्रशंसा भन्न लगाएर छायाङ्कन गरी प्रचार गर्ने गरिन्छ । नतिजा उत्कृष्ट नभएमा भौतिक सुविधाका बारेमा बताउन लगाइन्छ । होली पर्वसँगै वातावरण फेरिएको छ । सुक्न लागेका पात झार्नका लागि प्रकृतिमा हावा चलेको छ । कच्ची बाटोको धुलो उडेर पाखापखेराका पालुवापनि खैरा भएका छन् । तर विद्यालयका प्रयोगशालाहरूको धुलो टक्टक्याइएको छ । सामग्रीहरू सफा चिटिक्क पारेर राखिएका छन् । रफ कागजपत्रहरू बोरामा बाँधेर लुकाइएको छ वा बेचिएको छ । ग्राउण्डका ढुंगा, प्लाष्टिक, कागज सबै टिप्न लगाइएको छ ।
सरसफाईमा सक्रिय विद्यार्थीले आन्तरिक नतिजामा राम्रो अंक पाउनेछ भन्ने लोभ देखाएर भएपनि विद्यार्थीलाई काममा लगाइएको छ । ट्वाइलेटका ढोकामा छिस्किनी ठोक्ने, रुमाल पर्दा धुने, झ्याल ढोका र भित्तामा रङ लगाउने, भित्ते लेखन गर्ने लगायत कार्यहरूमा सक्रियता देखिन्छ । प्रायः शहर बजारका प्रतिस्पर्धामा जानुपर्ने विद्यालयमा तामझाम बढिरहेको भेटिन्छ । फागुनतिरबाट नै विद्यालयहरूमा स्टाफ बैठक अलि बाक्लो हुन थाल्छ । प्रधानाध्यापकहरूले शिक्षकका कुरा सुन्न थाल्छन् । अहिलेसम्म गर्न सकिएन, नयाँ शैक्षिक सत्रमा गर्ने हो भनेर आश्वासनपनि दिन्छन् । पुस्तकालय विस्तार, क्यान्टिन निर्माण, तारबार, ग्राउण्ड स्तरोन्नति, स्टाफलाई तातो पानी लगायत जस्तासुकै प्रस्ताव पनि प्रधानाध्यापकले स्वीकार गर्दछन् । दिनदिनै प्रार्थनामा विद्यालयको प्रशंसा गर्दै छिमेकका साथीहरूलाई पनि सोही विद्यालयमा भर्ना हुन मनाउन आव्हान गरिन्छ । विद्यालय ब्यवस्थापन समितिले पनि ब्यवस्थापन र स्टाफसहितको अवलोकन भ्रमणको योजना बनाउँछ । सरकारी तथा गैरसरकारी संस्थाहरूको आयोजनामा अन्तरक्रिया कार्यक्रमहरू पनि यतिबेला निकै चलेका हुन्छन् । दिवा खाजाको पैसा, पुस्तकको पैसा र अन्य के के शीर्षकका पैसा यतिबेला निकासा हुन्छ । त्यसैले होला प्रधानाध्यापकहरूको अनुहार अलि बढी उज्यालो देखिन्छ । एसईई परीक्षा र कतैकतै कक्षा ८ र ५ को परीक्षामा समेत निरीक्षक र उत्तर पुस्तिका परीक्षण गरेर समेत हल्का खाजा वा दुईचार सय हात परिहाल्छ । कपी परीक्षणका लागि कालो र रातो डटपेन पनि पाइन्छ । वर्षैभरी कराउँदा दिक्क मानेका शिक्षकहरू चैत लागेपछि फुर्सद महसुस गर्छन् र सजिलो दिन आएजस्तो मान्छन् । घरदैलोका नाममा छरछिमेक डुल्न पाइन्छ । बाँधिएको बहर फुकेजस्तै शिक्षकहरू खूशी हुन्छन् ।
जब बैशाख लाग्छ तनाव बढ्छ । गाउँतिर विद्यार्थी संख्या घटिरहेको छ । बसाइसराई र बसाईसराईका कारण गाउँहरू रित्तिएका छन् । बृद्धबृद्धाका लागि मात्र सहारा दिइरहेका गाउँहरूमा थोरै मात्र मानिसहरू बसोबास गर्ने भएकाले कक्षाकोठामा विद्यार्थीको संख्या न्यून भैरहेको छ । पहाडी शहरमा विद्यार्थी तानातानमा परेका छन् । शहरमा रहेको थोरै विद्यार्थी तर विद्यालय संख्या बढी र निजी तथा सरकारी विद्यालयको तुलना र विद्यार्थी भर्ना अभियानमा भित्रिएका गलत प्रबृत्तिका कारण बालबालिकाले विद्यालयको स्वतन्त्र रोजाई गर्न पाएका हुदैनन् । यसले गर्दा विद्यालयहरूमा असमान भर्ना चाप देखिन्छ । त्यसैगरी तराईका कतिपय स्थानमा विद्यार्थीको चाप अनुसार कक्षाकोठा र शिक्षकको आपूर्ति भएको छैन । एउटै कक्षामा एक सयभन्दा बढी विद्यार्थी राखेर वर्षैभरी पढाउनु चुनौतिपूर्ण छ । कतै कक्षामा कम विद्यार्थी भएर समस्या कतै कक्षामा धेरै विद्यार्थी भएर समस्या । विद्यार्थी संख्याको चुनौतिसँगै कक्षामा दक्ष शिक्षकको आपूर्ति, पुस्तकालय, प्रयोगशाला, डिजिटल प्रविधिको उपलब्धता र उपयोग, शैक्षणिक विधि र प्रविधि सिप भएका शिक्षकको आपूर्ति, कक्षा शिक्षण सिप, विद्यार्थी स्तर, विद्यालय ब्यवस्थापन र प्रशासनको अवस्था, शिक्षकको उत्प्रेरणा र प्रभावकारी शिक्षण एवम् गुणस्तरीय नतिजाका मुद्दाहरू समस्या बनेर तेर्सिन्छन् ।
जब नयाँ शैक्षिक सत्र सुरू हुन्छ अनि पुरानै चलन दोहोरिन्छ । पात्रोको पाना नयाँ हुन्छ तर कक्षा कोठाभित्रका शैक्षणिक क्रियाकलाप, विद्यालय परिसर र शैक्षिक गतिविधिहरू हेर्दा पहिलेकै प्रबृत्ति दोहोरिएको पाइन्छ । सामान्यतया कुनैपनि शिक्षकले नयाँ योजना वा सामग्री वा क्रियाकलापका बारेमा सोंचेको पाइदैन । अनुभव वर्ष अङ्कमा एक थपिन्छ तर ब्यवहारमा उही रहन्छ । पहिलाजस्तै विद्यार्थीका अवस्थाका बारेमा गुनासा, सेवा सुविधाका बारेमा गुनासा, भौतिक अवस्थाका बारेमा गुनासा, नीति तथा कार्यक्रमका बारेमा गुनासा आउने, दिवस, चाडपर्व आदिका कारण अनियमितता र अवरोधहरूको चाङ बढ्न थाल्छ । सुस्त गतिमा अघि बढ्दै भर्ना र समय तालिका मिलाउँदै गर्दा प्रथम त्रैमासिक परीक्षा र वर्षा विदा सुरू भैहाल्छ । यसक्रममा साउन लाग्छ र एसईई परीक्षाको नतिजा आउँछ । नतिजाका कारण मुन्टो निहुराएर हिड्ने अवस्था आउँछ । भर्नाका समयमा जति मीठा सन्देश भेटिन्छ नतिजापछि बधाईका सन्देश सुन्न पाइदैन । विद्यालयमा सन्नाटा छाउँछ । एक दुईवटा विद्यालयले बधाइ छापेपनि अधिकांश विद्यालयहरू हल्ला गर्ने हैसियतको नतिजा ल्याउन सक्दैनन् । त्यसपछि विद्वानहरूका ब्यंग्य, गाली र अपमानजनक अभिब्यक्तिको वर्षा हुन्छ ।
पक्कैपनि शिक्षा मानव जीवनमा सकारात्मक प्रभाव पार्ने औजार हो तर चाल्नोमा दुध दुएर अडिदैन भने जस्तै शिक्षाको प्रतिफल प्राप्तिका लागि उचित प्रक्रिया सञ्चालन गर्नु आवश्यक हुन्छ । त्यसका लागि हाल भैरहेका विद्यालयको नक्साङ्कन गरी आवश्यकताको आधारमा विद्यालय पुनः वितरण गर्ने, न्यूनतम विषयगत र कक्षागत शिक्षकको ब्यवस्था गरी विद्यार्थी अनुपात बढी भएका विद्यालयमा थप शिक्षकको ब्यवस्था गर्ने, पुस्तकालय, डिजिटल लगायतका भौतिक सुविधा र शिक्षक विकासका कार्यक्रम सञ्चालन गर्ने, विद्यालय सुपरिवेक्षण र उपचारात्मक सुपरिवेक्षणको व्यवस्था गरी साइटबेस्ट सहयोग प्रदान गर्ने, प्रतिस्पर्धात्मक पद्धतिबाट आवधिक प्रकृतिको प्रधानाध्यापक नियुक्ति गर्ने, शिक्षक उत्प्रेरणा बृद्धि हुनेगरी दण्ड र प्रोत्साहनको पारदर्शी पद्धति विकास गरी लागू गर्ने, कमजोर बालबालिकाकालागि अतिरिक्त सहयोगी कक्षाको ब्यवस्था गर्ने, परीक्षा र नतिजा सम्बन्धी दिगो नीति बनाउने र नतिजा सुधारका कार्य गर्ने खालका कार्य गर्नु आवश्यक छ । अन्यथा चैतमा चमत्कारिक विज्ञापन बजाउने विद्यालयहरू साउनमा नतिजा पश्चात् चुपचाप र सुनसान रहनुपर्ने नियति दोहोरिरहन्छ ।