© २०२३
सल्यान प्रशरीले चार नाल भरुवा बन्दुक र त्यसमा लाग्ने गोली बारुद बरामद गरेको छ । जिल्लाको कुमाख गाउँपालिका वडा नम्बर तीन स्थीत बजारमा केही व्यक्तिका घर बारी र झाडीमा लुकाई छिपाइ राखेको अवस्थामा अवैद्य चार नाल भरुवा बन्दुक, एक नाल ब्यारेल, फलामका छर्रा, केप र बारुद बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख एवम् डिएसपी भरत बिकले जानकारी दिए ।
स्थानीय केही व्यक्तिले अवैद्य रुपमा लुकाई छिपाई हतियार राखेको र ती हतियार वन्य जन्तुको चोरी शिकारीमा प्रयोग हुनुका साथै समाजमा शान्ति विथोल्न समेत प्रयोग भएको भन्ने गोप्य सूचनाको आधारमा केही व्यक्तिको घरमा छापा मार्दा हतियार बरामद भएको डिएसपी विकले बताए ।
डिएसपी विकले अवैद्य हतियारको प्रयोगले समाजमा आतंक सृजना हुने मात्रै नभएर राज्य विरुद्र उत्रन खोज्ने विद्रोही शक्तिले समेत दुरुपयोग गर्न सक्ने खतरा रहेको हुँदा अवैद्य हतियार नियन्त्रण अभियान सुरु गरिएको जानकारी दिए ।
यसैबीच प्रहरी निरीक्षक भानु शर्मा नेतृत्वमा गएको प्रहरी टोलीले अवैद्य हातहतियार राखेको अभियोगमा तीन जनालाई नियन्त्रणमा लिएको जानकारी दिएको छ । कुमाख गाउँपालिका वडा नं. ३ चिनाली बजार निवासी ५० बर्षीय शेरबहादुर पुन, सोही ठाँउ निवासी ५२ बर्षीय छविलाल चलाउने, सोही ठाँउकै ४५ बर्षीय मनबहादुर रानालाई अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।पक्राउ परेकाहरु विरुद्ध हातहितयार खरखजाना ऐन २०१९ बमोजिम मुद्दा चलाएर कारवाही प्रक्रिया अगाडि बढाउने प्रहरीले बताएको छ ।