© २०२३
राजमार्गको गतिलो स्वाद चाख्न नपाएको प्यूठानले अब त्यसको बेग्लै स्वाद लिन पाउने भएको छ । जब झिमरुक १ सौतामारेका सूर्य थापा राष्ट्रिय राजनीतिमा सक्रिय हुँदै गए, उनमा लाग्यो प्यूठानलाई राजमार्गसँग प्रत्यक्ष कसरी जोड्ने होला ? उनमा हुटहुटी चल्यो । निरन्तर प्रयासमा लागे । र, अन्ततः दुई खण्डमा विभाजित भएर एउटा खण्डको मदन भण्डारी राजमार्ग प्यूठानकै माटो भएर जाने निश्चित भयो ।
जुन अहिले कार्यान्वयनको चरणमा गएर निर्माणको थालनी समेत भइसकेको छ । सिमलटारी–पुर्काेटदह–सौतामारे–मच्छी–स्वर्गद्वारी–रोल्पा खण्डले प्यूठानको अधिकांश भूगोललाई समेट्ने छ । झिमरुक गाउँपालिका, प्यूठान नगरपालिका, माण्डवी गाउँपालिका र स्वर्गद्धारी नगरपालिकाको धेरै क्षेत्रलाई यसले प्रत्यक्ष जोड्ने छ । अर्को खण्ड अर्घाखाँची सन्धिखर्क–गोखुङ्गा–मर्कावाङ–खरिवोट–तिराम–दाङ्ग भएर जाने छ ।
केही वर्षअघि निर्माण शुरु भएको यस राजमार्ग विवादले केही समय निर्माणको कामले गति लिएको थिएन् । गुल्मी र प्यूठानका नेताहरुबीच सहमती जुट्न नसक्दा रोकिएको सडक अन्ततः सवै नेतृत्वको सहमतीमा पूनः कार्य सूचारु भयो । पहाडी जिल्ला प्यूठान, गुल्मी, अर्घाखाँची र रोल्पाका नागरिकलाई यसले सडक पहुँच मार्गमा धेरै योगदान दिनेछ ।
राजमार्ग प्यूठान हुँदै लैजाने योगदानमा सूर्य थापाकै विशेष यहल भएको विपक्षी दलले पनि स्वीकार्छन् । नेताको काम नीति बनाउने हो विकास ल्याउने होइन् भन्ने कतिपयको प्रतिक्रिया सुनिन्छ । तर, नेपालको विद्यमान प्रणाली अनुसार विकासको मुल फूटाउन राष्ट्रिय राजनीतिमा पहुँच भएकै नेता हुनु जरुर ठानिन्छ । प्यूठान खण्डका लागि वहुवर्षिय बजेट अन्तर्गत ८६ करोड र अर्घाखाँची गोखुंगा खण्डका लागि ९६ करोड बजेट विनियोजन भएर काम थालनी भएको छ ।
यत्तिले मात्र सूर्यको जिम्मेवारी पुग्यो त ?
सूर्य थापाले राजमार्ग प्यूठान ल्याएको पहलले मात्र उनको जिम्मेवारी पुरा भएको ठानिने छैन् । उनलाई प्यूठानीले यत्तिकैमा विश्राम गर्ने छुट कदापी दिनेछैनन् । सडकसँगै अब प्यूठानको उत्पादनले बजार पाउनुपर्ने छ । तराईबाट भरिएर आएका गाडीहरु रित्तै फर्कने होइन्, प्यूठानको उत्पादन बोकेर फेरी भरिएरै जानुपर्ने छ । हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे हुने बेहाल सडकको अन्त्य हुनुपर्ने छ । घाम लाग्दा चल्ने र पानी आउँदा रोकिने कन्तविजोग सडकको व्यथा अन्त्य हुनुपर्ने छ ।
पर्यटनको क्षेत्रमा विशेष दख्खल राख्ने सूर्यले स्वर्गद्धारीमा करोडौँ बजेट लगानी गरेर अर्र्बौ, खर्बौ आम्दानी गर्ने बाटो देखाउनुपर्ने छ । गाउँ गाउँका पर्यटकीय स्थलहरुको प्रवद्र्धन गर्नुपर्ने छ । गाउँघरमै गुणस्तरीय शिक्षा, रोजगारी र औषधी उपचार खोजेका जनताको आशालाई पुरा गर्नुपर्ने छ । रित्तिदै जान थालेका गाउँघरहरु गुल्जार बनाउनुपर्ने छ । बर्षेनी बढ्दै गइरहेको बसाइसराईलाई रोक्नुपर्नेछ । गाउँमै केही गर्न सकिन्छ भन्ने उदाहरण देखाउनुपर्ने छ ।
यी तमामा प्यूठानीको आशा र अभिलाषालाई पुरागर्ने जिम्मा पनि उनै सूर्यकै काँधमा हुनेछ । राजनीतिक शक्ति र क्षमताले देश, विदेशमा चिनिएका सूर्यले अब आफूमात्र होइन् सिंगो प्यूठानलाई पनि चिनाउनुपर्ने छ । अझ भनौ प्यूठानलाई ‘सूर्यको जिल्ला’ भनेर चिनाउनुपर्ने छ । चिनाउने केबल प्रचारमा मात्र होइन् विकास गरेर देखाउनुपर्ने छ ।
सूर्य बोलीमा एउटा र व्यवहारमा अर्को गर्ने पात्र नभएको उनैको अनेकन शैलीले पुष्टि गरिरहेको हुन्छ । जे बोल्छन्, त्यो गर्छन् । उनले जनतासामु झुट्टा आश्वासन बाढ्दैनन् । केही बोल्छन् त त्यो काम समुन्द्रमूनी गएपनि छाड्दैनन् ।
प्यूठानीले रोज्लान त सूर्य ?
माथीको सवै सपना पुरा गर्नका लागि सूर्य सत्तामा पुग्नुपर्छ । राष्ट्रिय बजेट वाडफाँट हुने पहुँचमा उनी पुग्नुपर्छ । त्यो सुनौलो अवसरमा पुग्ने मूल ढोकाको रुपमा उनलाई अहिले अवसर आएको छ । उनी प्यूठानबाट पहिलोपटक चुनाव लडेका छन् । मंसीर ४ गते हुने प्रतिनिधीसभा सदस्य निर्वाचनपछि मात्र उनीसँग प्यूठानीले गरेको आशा कुन मोडमा जाने भन्ने कुराको छिनोफानो हुनेछ ।
शक्ति र सत्तामा पुगेर मात्र हुँदैन् । त्यसलाई सही ढंगले नेतृत्व गर्ने विशेष दख्खल पनि हुनु जरुर हुन्छ । त्यो क्षमता सूर्यमा भेटिन्छ । स्वभाव खरो भएपनि प्यूठानको विकासका लागि बजेट केन्द्रमा लडेर, कराएर भएपनि ल्याउँछन् सूर्यले भन्ने आम नागरिकको प्रतिक्रिया बजारभरी सुनिन्छ ।
त्यसैले अब प्यूठानमा राजनीतिको मात्र प्रतिस्पर्धा होइन् विकासको पनि प्रतिस्पर्धा गर्ने सँस्कारको बानी बसालौ । अबको प्यूठान कस्तो बन्ने त्यसको फैसला सुन्न र हेर्न मंसीर ४ पर्खौ ।