© २०२३
आधुनिक समयमा पुरातनका कुरा गर्नु व्यर्थ वा अनर्थ लाग्न सक्छ तर अर्को पाटोबाट हेर्ने हो भने यसका पनि अटल र सवल पक्षहरू छन् । नेपाली भनाई छ– आगो ताप्नु मुढाको कुरा सुन्नु बुढाको । वास्तवमा कतिपय अवस्थामा पुराना कुरा र पाका मान्छेहरूको कुरा अकाट्य र अविस्मरणीय हुन्छन् । विज्ञानले प्रविधिको प्रयोग गरेर, अनुसन्धान गरेर कुनै कुराको सत्यतथ्य जाँच गर्दछ भने बुढापाका मान्छेहरूले बर्साैंसम्मको अनुभवलाई सत्य तथ्य जाँच्ने र प्रयोगमा ल्याउने गर्दछन् र ती कुराहरू धेरै हदसम्म ठिक पनि छन् । हामी नेपालीहरू आफ्नो मौलिक सँस्कृति, रीतिरिवाज, सामाजिक चालचलन र मूल्य मान्यता, परम्परा, भेषभुषा र रहनसहनलाई आधुनिकताको नाममा वा विभिन्न बहानामा सहज रूपबाट छोड्न तयार हुन्छौं । विगतमा चलिआएका चालचलनहरू पूर्णरूपमा पालना गर्नुपर्छ भन्ने पनि होइन । समय अनुसार कुरीतिहरू छोड्दै जानु स्वभाविक पनि हो तर ती कुराहरू रीति हुन् कि कुरीति हुन् त्यसको बारेमा अध्ययन अनुसन्धान नै भएको छैनन् । कतै हामी लहडको भरमा कान छाम्नुको सट्टा कागको पछि दौडिरहेका त छैनौं ? हाम्रो देश सामाजिक, साँस्कृतिक, धार्मिक, प्राकृतिक लगायतका विविध पक्षहरूमा बहुलताले भरिपूर्ण छ । त्यो बहुलता नेपाली सभ्यता हो, सम्पत्ति हो, पहिचान हो, आफ्नोपन हो । त्यो आफ्नो पनलाई आफ्नो मन बनाउनु आजको आवश्यकता हो । सुक्ष्मरूपले हेर्दा हाम्रो सभ्यता, सम्पत्ति, पहिचानले बाटो विराएको हो कि भन्ने यो पङ्तिकारको अभिमत, जिकीर रहेको छ ।
हामी दिनानुदिन कृषिका हरेक पक्षमा परनिर्भर बन्दै गएका छौं । पहिले हाम्रै खेतवारीमा उत्पादन हुने धान, गहुँ, तोरीहरूलाई नै विउविजनका रूपमा वर्षौसम्म प्रयोग गर्दथ्यौं । त्यसैबाट उव्जनी राम्रै हुन्थ्यो । कृषि उपजहरू केही दशक अघिसम्म भारत निर्यात गरिन्थ्यो भन्ने सुन्न पाईन्छ । अहिले कृषिउपज आयातमा उल्लेख्य वृद्धि भएको तथ्याङ्क पढ्न पाइन्छ । अहिले विउविजन पनि प्रत्येक वर्ष किन्नुपर्दछ । त्यही विउबाट उत्पादन भएको फसलबाट अर्को वर्ष विउको काम गर्दैन । ग¥यो भने पनि उत्पादन राम्रो हुँदैन । यसरी हाम्रा पुराना विउविजनहरू मासियो र हामी विउविजन र खाद्यान्नमा परनिर्भर बन्न पुग्यौं । पहिले प्राङ्गारिक मलले काम गर्दथ्यो, माटो उर्वरा थियो, उत्पादन राम्रो हुन्थ्यो ।
अहिले आयातित मल प्रयोग हुन थाल्यो । त्यसले माटोको स्वरूप र तत्व नै नष्ट गरिदियो । माटोलाई कडा इट्टा जस्तो बनाइदियो । फलस्वरूप प्राङ्गारिक मलले काम गर्न छोड्यो । हामो विवाह संस्कारमा पनि व्यापक परिवर्तन आएको छ । धेरै पहिले केटाकेटीको अनुपस्थितीमा अभिभावकले नै विवाह तय गरिदिने चलनथियो । केटा केटीको भेट विवाहको दिन हुन्थ्यो भने चिनजान विवाह पछि मात्रै हुन्थ्यो । यस प्रकारको विवाहमा अभिभावकको प्रभुत्व रहन्थ्यो । तत्कालिन सामाजिक संस्कारले त्यो कुरालाई मान्यता दिन्थ्यो, अभिभावकको निर्णयलाई सिरोधार्य गर्ने चलन थियो । मन परे पनि नपरेपनि घरवार राम्रै चलेको थियो । त्यसपछिको चलनमा केटा केटीलाई कुनै दिन देखभेट गराउने, कुराकानी गराउने, पारिवारिक कुराकानी गर्ने र दुबैको कुरा मिलेमा विवाह गर्ने चलन आयो । यो राम्रो पक्ष हो । किनकी जीवनभर साथदिने साथीको छनोट गर्ने अधिकार सम्बन्धित पक्षले प्राप्त गर्ने कार्य राम्रो हो । पहिल्यै भेटघाट र चिनजान हुनु राम्रो हो । त्यसले वैवाहिक जीवनलाई सहज र दिर्घकालीन बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । अहिले आएर विशेष गरेर प्रविधिले विवाहको स्वरूप परिवर्तन गरिदिएको छ । चिनजान अनुहार पुस्तिका, व्हाट्स एप, भाइवर, टिकटक, मेसेन्जर लगायतबाट हुने र त्यसैको आधारमा विवाह हुने गरेको हामीले सुनेका देखेका र्छौ । यस प्रकारका विवाहमा अधिकांश घर परिवारको सहमति हुने गरेको पाइदैन र पनि विवाह भएको हुन्छ । यस प्रकारको विवाह दिर्घकाल जाने सम्भावना पनि कम रहेको सुन्न पाइन्छ । अहिले “लिभिङ टुगेदर” संस्कृतिपनि भित्रीइसकेको छ । यसले हाम्रो समाजको मुल्य, मान्यता, नैतिकतालाई कुन हदसम्म ध्वस्त बनाउने हो ? पारिवारिक संरचना कुनरूपमा विग्रह हुने हो ?
भनिन्छ– सस्कृति हराए देश हराउँदछ । कुनैपनि जातजाति, ठाउँ, समुदाय अनुसार सँस्कृति फरक फरक हुन्छ । त्यही सँस्कृतिले नै जातजाती, ठाउँ, समुदायको पहिचान गराउँदछ । त्यसैले नै उक्त जातजाति, ठाउँ र समुदायको संरक्षण र सम्बद्र्धन गराउँदछ । फरक संस्कृति, फरक पहिचान हो । साँस्कृतिक रूपले हामी भिन्न छौं, सभ्य छौं, शालिन छौं, धनी छौं तर विडम्बना आजकल हामी आफ्नो सँस्कृतिलाई भन्दा अरूको संस्कृति, संस्कारलाई प्राथमिकता दिन्छौं, अनुसरण गर्दछौं र आपूmलाई सभ्य र भव्य सम्झन्छौं, मान्छौं । हाम्रो मौलिक सस्कृतिको जगेर्ना गर्नु पर्छ भन्ने धारणा हराउँदै गएको पाइन्छ । बहुल सँस्कृतिले भरिपूर्ण भएको हाम्रो समाज आयातित् सँस्कृतिबाट प्रेरित र आकर्षित छ । जानेर होस् वा नजानेर होस् हामीले आयातित सँस्कार अपनाउँदै छौं । हाम्रो समाजमा प्रचलनमा रहेको गर्भाधानदेखि मृत्युसम्मका १६ सँस्कार हामीलाई थाहा छैन वा भएरपनि मान्न अप्ठेरो मान्दछौं । विवाह संस्कारका आयातित प्रकारहरू जसले हाम्रो सँस्कृति विकृतमात्र होइन खर्चले पनि धान्न हम्मेहम्मे परिरहेको छ । सक्नेले त गर्छन, गरिरहेका छन् तर नसक्नेपनि कु–संस्कारको चङ्गुलमा फस्न वाध्य छन् । नगरौं छिमेकी र समाजले के भन्ला भन्ने डर, गरौं भने ऋणको भार । विवाह संस्कारमा “वुड् वि ब्राइड”, “वुड् वि गु्रम”, “व्याचलर पार्टी”, “हल्दी”, “मेहन्दी”, गर्भाधानमा “वेवि सावर”, जन्मदिनमा “केक” काट्ने, मन्दिर जाने, आरोग्य र दिर्घायुको प्रार्थना गर्ने, दियो बाल्ने, गच्छे अनुसार दान गर्ने, अरूको भलाईको काम गर्ने आदि कार्यलाई मिल्काएर हामी केक काट्न र स्टुराँतर्पm लाग्छौं । आम्दानीको स्रोत घट्दो छ । खर्च गर्ने आयातित सँस्कृति बढ्दो छ । “घाँटी हेरेर हाड निल्नु, “मौकामा हिरा फोर्नु, बेमौकामा कौडी नछौड्नु” भन्थे बाउवाजे, नाति नातिना भन्छन्– आज खाएगा भोली देखाजाएगा” । “ऋणम् कृतम घृतम्पिवेत” को मन्त्र जपेर बाँचीरहेका नाति नातिनाहरू अमेरिका, क्यानडा, वेलायत, जापान लगायत युरोपियन देशहरूको सपना देखिरहेका छन् । संस्कार भन्दा कार ठूलो देख्ने पुस्ता र सोही कुरा सिकाउने शिक्षाले संस्कृति जोगाउने कल्पना गर्नु मुर्खता हुन सक्छ ।
नेपाली समाज, परिवेश, भौगोलिक अवस्था र माटो सुहाउँदो पाठ्यक्रम निर्माण हुन सकिरहेको छैन । डलरको खेती गर्ने कथित शिक्षाविद्हरूले निर्माण गरेको शिक्षाले विदेशी दक्ष जनशक्ति निर्माण गरिरहेको छ । बौद्धिक पलायनमा हाम्रो शिक्षा नीति र सरकारी योजनाले अहम् भूमिका खेलेको छ । हिमाल, पहाड र तराइका गाउँ रित्तिदो छ । क्रमशः सहर पनि रित्तिदो छ । कक्षा १२ पास गरेपछि स्नातक पढ्ने विद्यार्थी भेट्न मुस्किल भएको छ । हाम्रो शिक्षा नीति, राजनीति, कृषि नीति, श्रमनीति लगायतका नीतिहरूले हिमाल, पहाड, तराईलाई समेट्न सक्ने र जनशक्ति स्वदेशमै रोक्न सक्ने नीति निर्माण गर्न सकेन । अन्य देशले कृषि उत्पादन र मालसामानको निर्यात गर्दछन् । हामीले दक्ष युवाशक्ति निर्यात गरेर आएको रेमिट्यान्सबाट देश चलाएका र्छौ । गाउँको माटो विर्सिएर युवा भारत, खाडी मुलुक, अमेरिका र युरोपका देशहरूमा भविष्य खोजिरहेको छ । छरछिमेक, चियापसलदेखि विभिन्न ठाउँका गफगाफ सुन्दा यहाँ बसेर केही छैन, भविष्य छैन भन्ने निरन्तर सुनिरहेको छ । त्यसैले त्यो युवाले आफ्नै देशको शिक्षा, स्वास्थ्य, उद्योग, व्यापार, कृषिमा विश्वास गर्दैन, गर्ने अवस्थापनि छैन । रोजगार, स्वरोजगारबाट घरवार चल्दैन । किनकी सरकारका नीति नियम युवामैत्री छैन, रोजगारमूलक छैन । उद्योगधन्दाहरू दिनप्रतिदिन धरासायी बन्दैछन्, बन्द हुँदैछन् । राजनीति सेवा नभएर व्यापार र उद्योगको रूपमा स्थापित भएको देशमा कुन युवाले देशमा नेपाली मन र नेपालीपन देख्ला ? त्यसैले स्थानिय, प्रदेश र संघीय सरकारका हरेक योजना, नीतिनियम, शिक्षामा नेपालीमन, नेपालीपन हुनु जरुरी छ । वाल्यकालदेखि नै नेपाली मन र नेपालीपन सिकाउनु, बुझाउनु र देखाउनु जरुरी छ । नेपालीपन र मन भएको शिक्षा दिनु आवश्यक छ । नेपालीमन र पनमा ढुक्क देखिने दक्ष युवा जनशक्ति निर्माण गर्नु देशभक्तिपूर्ण काम हुनेछ ।