© २०२३
उन्नति, प्रगति, क्रमिक परिवर्तन, वृद्धि विस्तार र सकारात्मक परिवर्तन नै विकास हो । प्रतिब्यक्ति आम्दानीमा वृद्धि, कूल ग्राहस्थ्र्य उत्पादन बढ्ने र सामाजिक सुधार, सद्भाव र एकतालाई पनि विकास भनिन्छ । यो बहुआयामिक बिषय हो । विकास राजनीतिक पक्ष, सामाजिक पक्ष, आर्थिक पक्ष, मानवीय पक्ष, संगठनात्मक पक्षसँग सम्बन्धित अवधारणा हो । त्यसैले विकासका लागि सवै पक्षको सकारात्मक सहयोग अपरिहार्य रहन्छ । नेपाल जलसम्पदामा विश्वको दोस्रो धनी देश हो । विश्वको जलस्रोत क्षमताको २.२८ प्रतिशत हुन आउछ । नेपालमा मात्र ६ हजार भन्दा बढी नदीनाला रहेको, समुन्द्र सतहबाट ८ हजार मिटर भन्दा अग्ला हिमालहरू रहेको, ८३ हजार मेगावाट विद्युत उत्पादन हुन सक्ने, सगरमाथाको पानी ब्रान्डिङ्ग गरेर अन्तराष्ट्रियकरण गर्न सक्ने संभावना रहेको छ । नेपालका अधिकांश खोलानालाहरूबाट सरदर २०० अर्ब क्यूबिक फुट पानी बगेको छ भने जमिनमुनीबाट करिब ६३ अर्ब क्यूबिक पानी हुन सक्ने अनुसन्धानकर्ताहरूले उल्लेख गरेको पाईन्छ । जनशक्ति राजनीतिक स्थिरता जस्तै नेपालमा प्राकृतिक स्रोतको प्रयोग गरी देशको विकास गर्न सकिन्छ । तर नेपालमा प्राकृतिक स्रोतहरूको खासै प्रयोग भएको पाईंदैन बरु विदेशबाट अरर्बौं खर्च गरी आयात गर्ने गरिन्छ । विश्वमा नै परिचित भएको सेतो सुन भनेर चिनिने जलविद्युतको अपार सम्भावना भएको मुलुक हो । जलसम्पदाका माध्यमबाट मनग्गै आर्थिक आम्दानी गर्न सक्ने संभावना रहेको छ । भोटेकोशी र त्रिशुलीको र्याफ्टिङ अहिले संसारमा निकै नै प्रख्यात छ । नेपालमा रहेका रमणीय खेलहरूमा बन्जीजम्पीङको राम्रो सम्भावना रहेको छ । यसरी जलस्रोतका विभिन्न तहमा पर्यटकलाई आकर्षण गरी आर्थिक आम्दानी गर्न सकिन्छ । पर्यापर्यटन, धार्मिक पर्यटन, खेलकुद पर्यटन, शैक्षिक पर्यटन, साहसिक पर्यटन र कृषि पर्यटनलाई बढावा दिई पर्यटनमैत्री नीति, योजना तथा कार्यक्रम बनाई सार्वनिक, नीजि साझेदारीको धारणा अनुसार नीजि क्षेत्रसंग सहकार्य र साझेदारी गरी कार्यान्वयन गर्नुपर्दछ । यसैगरी पर्यटकको बसाई लम्बाउने, विभिन्न प्राकृतिक मनोरम दृश्यका पर्यटनका गन्तब्यहरू देखाउने, पर्यटकहरूलाई सःशुल्क घुमाउने, आवासको व्यवस्था गर्ने, यातायातको ब्यवस्था मिलाउने, दृश्यावलोकन गराउने, सूचना तथा सञ्चारको अधिकतम प्रयोग गर्ने आदि कार्य गरेर पर्यटन विकासका माध्यमबाट रोजगारी सृजना गर्ने संभावना थुप्रै छन् ।
नेपालमा रोमाञ्चक खेलहरूमा पदयात्रा र रक क्लाइम्बिङ जस्ता संसारमा नै प्रख्यात छन् । नेपाली कागज, नेपाली करुवा, नेपाली हस्तकलाजन्य सामाग्रीहरू, नेपाली कागजबाट बनेका सामानहरू विश्वमा चर्चित र प्रख्यात देखिएका छन् ।
नेपालका चाँदीका र तामाका भाँडाहरूको सम्भावना विश्वबजारमा नै निकै राम्रो छ । नेपालमा बहुमुल्य पत्थरहरूको उत्खनन र प्रशोधन गर्न सकिने सम्भावना देखिएको छ । युरोप, अमेरिका,अष्ट्रेलियामा नेपाली पश्मिना र गलैंचाको बजार राम्रो छ । इलामको चिया र गुल्मीको कफीले अन्तराष्ट्रिय बजारमा स्थान पाएको छ । अहिले पनि नेपालबाट उच्च गुणस्तरीय अर्गानिक चिया र कफी अमेरिका लगायतका विकसित देशहरूमा गइरहेको अवस्था छ । नेपाल छाला र छालाजन्य जुत्ताको निम्ति आत्मनिर्भर भइसकेको छ । यस्तो अवस्थामा नेपालमा उत्पादन भएका सामानहरू छिमेकी मुलुकहरू भारत र चीनमा पठाई प्रसस्त आम्दानी गर्न सक्ने संभावना रहेको छ । नेपालमा जलस्रोत प्रयाप्त भएकोले सिंचाई गर्न सजिलो छ । संसारमा हरियो तरकारीमा निकै राम्रो मानिने नेपालमा बाह्रै महिना नै बेमौसमी र अर्गानिक तरकारीहरू उत्पादन गर्न सकिन्छ । तराई, पहाड र हिमालमा फरक फरक प्रकृतिका माछाहरू हामी पालन गर्न सक्छौं । चिसो ठाँउमा हुने ट्राउट माछाको यति धेरै माग छ कि कल्पना गर्नै सकिदैन । पशुपालन र मत्स्यपालनलाई ब्यवसायिकरण गरी ब्राण्डिङ्ग गर्नु पर्दछ । नेपालमा अर्गानिक खेतीको आगामी दिनमा निकै राम्रो सम्भावना छ । बिषादीमुक्त तरकारी, फलफूल उत्पादन गर्न प्रसस्त सिंचाई सुविधा छ । कृषकलाई तालीम, हाते ट्याक्टर, कृषि उपकरण, मलबिउमा अनुदान, तालीम र कृषकलाई प्रोत्साहन मात्र दिन सकेमा नेपाल भित्र बहुप्रतिभाका कृषक भेटाउन सकिन्छ । यसरी कृषिका माध्यमबाट रोजगारी सृजना हुन सक्ने धेरै संभावना छ ।
सडक पूर्वाधार निर्माणमा अस्फाल्ट, प्रिमिक्स वा ओटासिल गर्दा चाहिने अलकत्र किन्दा नै नेपाली पैसा बाहिरिन्छ र नेपालीले रोजगारी पनि पाउदैनन् । तर हामीकहाँ प्रसस्त सिमेन्ट उद्योगहरू छन् र थप स्थापना गर्ने धेरै स्थान पनि छन् । त्यसैले सडक पूर्वाधार निर्माण गर्दा सडकलाई आर. सि. सि. वा साधारण धुले सडकलाई पि.सि.सि. गर्दा नेपालीले रोजगारी पाउने, नेपाली सिमेन्ट उद्योग र उत्पादनहरूले अवसर पाउने र नेपाली पैसा नेपाल मै रहने प्रसस्त संभावनाहरू रहेका छन् । अहिले जग्गा वितरणलाई वैज्ञानिक बनाउनु पर्दछ । जग्गा वितरणमा धेरै समस्याहरू छन् । समस्या समाधानको लागि जग्गा बाँझो राख्ने प्रचलन हटाउन पर्दछ । जग्गा बाँझो राखेको पाइएमा सरकारले जग्गा आफ्नै नाममा लिन सक्ने कानुनी व्यवस्था गर्नुपर्छ । एक व्यक्तिले देशको जुनसुकै जिल्लामा जग्गा खरिद गर्दा उसको परिवार कानुनी रूपमा छुट्टीभिन्न नभएसम्म जग्गाको हदबन्दी कडाईका साथ लागू गर्ने, परिवारका सदस्यपिच्छे खरिद गरेका जग्गालाई सगोलको हदबन्दीमा कायम गर्नु पर्ने लगायतका कामहरू गर्नुपर्छ । बाँझो रहेको जग्गाहरूमा सरकारीस्तरबाट फलफूल कृषि खेतीहरू गरी अरर्बौं रकम जोगाउन सकिन्छ । हाल जतिपनि कृषि तथा पशु फार्महरू छन्, ती सबै किसानलाई हस्तान्तरण गर्नुपर्छ । कृषि, वागवानी, चरण क्षेत्र सुरक्षित हुनुपर्छ । किसानमैत्री नीति निर्माण गरी कृषि क्षेत्रको व्यवसायिकरण गर्ने गरी अल्पकालिन, मध्यकालिन र दीर्घकालिन योजना बनाउनु पर्दछ । जसले गर्दा एकातिर कृषि उत्पादनमा वृद्धि भई विदेशबाट खाद्यान्न आयात गर्नु पर्दैन । कृषियोग्य जमिनको चक्लाबन्दी बन्द भई कृषि उत्पादनमा वृद्धि गर्न सक्ने धेरै संभावनाहरू छन् । यसरी कृषिका माध्यमबाट रोजगारी मिल्ने र सुकुम्बासी समस्या समाधान पनि हुने संभावना रहेको छ । नेपाललाई प्रकृतिले धेरै धनी बनाएको छ । तर हामीले उक्त प्रकृतिको स्रोतलाई प्रयोग गर्न सकेका छैनौं । देशले आफूसँग जे छ त्यहीबाट विकल्प खोज्नुपर्ने हुन्छ । नेपालबाट पानी काठ ढुङ्गा गिट्टी बालुवा तामा म्याग्नेसियम चुनढुङ्गा सुन अभ्रख जस्ता प्राकृतिक स्रोतको उच्चतम प्रयोग गरेको खण्डमा नेपालको अर्थतन्त्र विकासमा अन्य विकल्पको आवश्यकता नै नपर्ने देखिन्छ । यिनै खानीजन्य माध्यमबाट रोजगारी सृजना भई युवाहरूलाई स्वदेश मै अडाउन सकिने संभावना रहेको छ । नेपालमा प्रशस्त मात्रामा भएर पनि प्रयोग हुन नसकेको प्राकृतिक स्रोत वनजङ्गल पनि हो । हामीलाई वार्षिक सत्र करोड क्यूबिक फिट काठको आवश्यकता पर्दछ । जंगलबाट दुई करोड क्युविक फिट पनि काठ निकालिंदैन । हामीले राम्ररी वन व्यवस्थापन गरेमा विदेशमा मात्रै वार्षिक २०० अर्बको काठ बेच्दा पनि हालको वनलाई खासै असर नपर्ने देखिन्छ । नेपालमा वार्षिक रूपमा प्रयोग हुने काठको विकल्पमा मलेसियन काठ, न्यूजिल्याण्डको काठ, यूपीभीसी, आल्मोनियम, फलाम आदि गरी १५ करोड क्युबिक फिट आयात गर्दा नेपालको अरर्बौं रकम बाहिर गएको छ । राम्रोसँग वन ब्यवस्थापन गरी प्रसस्त रोजगारी सृजना गर्न सक्ने र आर्थिक उपार्जन हुन सक्ने संभावना रहेको छ । नेपालमा भएका सडकहरूलाई समय मै मर्मत संभार गर्ने । नेपालीलाई धेरै ऋणि बनाएर मात्र विकास हुदैन । नयाँ नयाँ सडक निर्माण भन्दा पनि भईरहेका सडकको समयमा स्तरोन्नति गर्नु पर्दछ । कृषिमैत्री, वातावरणमैत्री र पर्यटन मैत्री सडक पूर्वाधार निर्माण गरी गाँउ गाँउ र टोल टोलमा विना अध्ययन खोलिने सडकहरूलाई निरूत्साहित गर्नु पर्दछ । यातायातको सहज पहुँच र सहुलियतपूर्ण भाडादर बनाई सिण्डिकेट र एकाधिकारको अन्त्य गर्नु पर्दछ । जसले गर्दा ढुवानी र सामाग्रीमा समेत कालो बजार हुदैन । मालसामानको ढुवानीमा सहजता गर्दा पर्यटन, कृषि, उद्योग, जलविद्धुत, खानी तथा खनिजजन्य ब्यवसायमा वृध्दि भै रोजगारी सृजना हुने धेरै संभावना रहेको छ ।
यिनै संभावनाहरूलाई परिणाममुखी बनाउन दक्ष जनशक्ति उत्पादन गर्नुपर्दछ । राजनीतिक स्थिरता र प्राकृतिक स्रोतको दिगो विकासका माध्यमबाट अधिकतम उपयोग, सडकको समयमा मर्मत सुधार, कृषि र कृषिजन्य उत्पादन र पर्यटनलाई ब्यवसायिकीकरण, प्राविधिक निःशुल्क शिक्षाको ब्यवस्थापन, बैज्ञानिक वन ब्यवस्थापन, जमिनको हदबन्दी कायम र चक्ला बन्दी नियन्त्रण, वातावरणमैत्री विकास र विस्तृत अध्ययन सहितको पूर्वाधार विकास, असंलग्न परराष्ट्र नितिको पालना, स्वदेशी उत्पादनको बजारीकरण, खानी र खनिजजन्य वस्तुको उपयोग, वातावरणमैत्री यातायात पूर्वाधार, द्वन्दको उचित ब्यवस्थापन गरी संभावना नै संभावना भएको हाम्रो देशमा विकास र रोजगारीका माध्यमबाट प्रतिभापलायन हुनबाट रोकिने र देश आर्थिकरूपमा सबल हुन गई आत्मनिर्भर हुने धेरै संभावनाहरू रहेका छन् ।