दाङ,२२ पुस ।
दाङको घाेराहीमा उद्यमशीलता विकास र उद्योग स्थावना गर्न प्राेत्साहन गर्ने लक्ष्यका दाङ जिल्ला उद्योग वाणिज्य संघले छैठौं कृषि पर्यटन तथा व्यापार महाेत्सव २०८१ सञ्चालन गर्ने भएको छ । संघले आज घाेराहीमा पत्रकार सम्मेलनगरी “उद्योग व्यापार कृषि एवं पर्यटनको विकास, परनिर्भरमुखी अर्थतन्त्रको निकास”भन्ने नाराका साथमा “छैठौ कृषि पर्यटन तथा व्यापार महोत्सव -२०८१” सञ्चालन गर्न लागेको जानकारी गराएको हाे ।
संघका अध्यक्ष वसन्त जाेशीले महोत्सव संचालनबाट प्राप्त हुने आम्दानीलाई संघको संस्थागत बिकास एवं उद्यमी विकास तथा पर्यटन विकासमा उपयोग गरिने, स्वदेशी उत्पादनमा बृद्धिगरी परनिर्भरमुखी अर्थतन्त्रलाई कम गर्न सहयोग पुयाउने मुल उद्धेश्य राखिएको जानकारी गरायका छन् ।
फागुन २ गते १८ गतेसम्म दाङको घोराही उपमहानगरपालिका -१४ झिगौरामा आयोजना गर्न लागेको महोत्सवमा औद्योगिक तथा व्यापारीक वस्तुहरुको प्रदर्शनी एवं बिक्री, हस्तकला, कृषि, जडिबुटी तथा पर्यटन सूचना एवं सूचना प्रविधिको प्रदर्शनी, विभिन्न प्राविधिक विषयमा जानकारी तथा विज्ञ सहितको अन्तरक्रिया, प्रदर्शनीका आकर्षणका लागि विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु, वाल उद्यान, सांस्कृतिक,कला-साहित्य झल्कने कार्यक्रम र विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुको गतिबिधि रहने, प्रदर्शनी स्थलमा लुम्बिनी प्रदेशका जिल्लाहरुबाट उत्पादित बस्तुहरुका स्टल रहनुका साथै करिब ५ लाख दर्शकहरुले प्रदर्शनी अवलोकन गर्ने र करिव २० करोड रुपैयाको आर्थिक कारोवार हुने लक्ष्य राखिएको छ ।
यसअघि विभिन्न समयमा उद्योग, व्यापार, कृषि एवं पर्यटन लगायत स्थानीय कला संस्कृतिको
प्रबर्द्धनका लागि महोत्सव सफलता पूर्वक सम्पन्न गरि बहुद्देश्यीय सभागृह, सहिद गेट, सुकुम्बासी बस्ती व्यवस्थापनलगायत काम गरेकाे जनाएको छ ।
आर्थिक विकास, सामाजिक तथा सांस्कृतिक विकास एवं आत्मनिर्भर अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुयाउने उद्धेश्यका साथ उद्योग, व्यापार, कृषि एवं पर्यटनको विकासका साथै कला संस्कृतिको संवर्द्धन, शिक्षा, स्वास्थ्य एवं स्थानीय पहिचानलाई प्रवर्द्धन गर्दै स्थानीय स्तरमा रोजगारी सिर्जना गर्न यसले भुमिका खेलेको संघका अध्यक्ष जाेशीले बताए । कार्यक्रमको सहजीकरण संघका महासचिव महेन्द्र बुढाथोकीले गरेका थिए ।