© २०२३
भैरहवा, २३ पुस ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका ले पूर्वाधार विकास तथा पुँजीगत रकम खर्चलाई तीव्रता दिएको छ । पुँजीगत बजेटको लक्ष्य हासिल गरी असारे विकासलाई कम गर्न सयममै ठेक्का लगाउने, ठेक्का सम्झौता गरी काम अगाडि बढाउने काम अहिले धमाधम भैरहेको सिद्धार्थनगर नगरपालिकाका प्रमुख ईस्तियाक अहमद खानले जानकारी दिए ।
पालिकाहरुमा खासगरी समयमै ठेक्का नखोल्ने र बिभिन्न बहानामा बजेट फ्रिज गराउने समस्या छ । त्यस्ता समस्या रोक्न सिद्र्धानगरले आर्थिक बर्षको सुरुवात देखि नै ठेक्का लगाउने काम गरेको नगरप्रमुख खानले बताउनुभयो । नगरपालिकामा चालु आर्थिक बर्षमा पूर्वाधार बिकास शाखामा मात्रै उनसाठ्ठी योजना कार्यान्यनको चरणमा रहेका छन् । नगरपालिकाका पूर्वाधार बिकास तथा वातावरण व्यवस्थापन महाशाखा प्रमुख साकार श्रेष्ठका अनुसार यी सवै निर्माण तर्फका योजना हुन् । योजनाहरु नगरका १३ वटै वडामा सञ्चालनमा रहेका छन् । खासगरी सडक, ढल, नाला, भवन निर्माण तर्फका योजनाहरु कार्यान्वयनमा आएका हुन् । जसमध्ये वडा नं. ३ मा रहेको अधुरो टेकवाण्दो भवनमा थप पूर्वाधार निर्माण, वडा नं. ३ मा रहेको बसपार्कको स्तरउन्नती र वडा नं. ११ मा बन्न लागेको कान्जीहाउस, शवदाहस्थल र पार्क निर्माण रहेका छन् । कान्जिहाउसमा छाडा पशुचौपायका लागि सेड र शवदाह स्थलतर्फ मलामी बस्ने प्रतिक्षालयका साथै जलाउने स्थानमा सेड निर्माण गरिने छ ।
त्यस्तै नगरका बिभिन्न वडालाई जोडेर ६ दशमलव ५ किलोमिटर एकतर्फी नाला निर्माण हँुदै छ । सडक तर्फ ग्राभेल सडक पाँच दशमलव ७ किलोमिटर निर्माण हँुदै छ । सडक तर्फ आरसिसी सडक पनि निर्माण हुँदै छ । सार्वजनिक सम्पत्ती संरक्षणको लागि १ सय ४० मिटर लामो पर्खाल निर्माण पनि यसै बर्ष गरिदै छ । विद्यालयतर्फ वडा नं २ मा रहेको बहिरा बाल माध्यमिक विद्यालयमा चारकोठे भवनको तला थप, वडा नं ५ स्थित भैरहवा नमुना उच्च माध्यमिक बिद्यालयमा चार कोठे भवनको छत ढलान, बडा नं ११ स्थित भुजौली प्राविमा तीन कोठे तला थप्ने काम पनि धमाधम भैरहेको छ । त्यस्तै वडा नं १० मा रहेको सुर्यदेव माध्यमिक विद्यालयमा दुई कोठे भवनको छत ढलान, वडा नं २ मा रहेको मेउडीहवा आधारभूत विद्यालयमा शौचालय निर्माण, वडा नं ८ मा रहेको लिलाराम माध्यमिक विद्यालयमा पनि शौचालय निर्माणको काम भैरहेको छ ।