© २०२३
काठमाडौं, ११ पुस ।
दुई ठूला दल मिलेपछि सत्ताबाट बाहिरिएको नेकपा माओवादी केन्द्रले समान विचार भएका वाम घटकहरूसँग पार्टी एकता र ध्रुवीकरणमा जोड दिँदै अ ाएपनि ठोस सफलता मिलेको छैन ।
सत्तामा हुँदा निदाउने कम्युनिष्ट दलहरू सत्ता बाहिर रहँदा एकताको बाजा बजाउँदै आएका छन् । माओवादीसँग नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा, महेन्द्रराय यादव नेतृत्वको नेसपादेखि माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी एकता र सहकार्यको संवादमा थिए, तर मिलनविन्दु फेला पर्न नसक्दा एकताको सम्भावना टर्दै गएको बताइन्छ । माओवादी र एकीकृत समाजवादीबीच एकता गर्ने चर्चामात्रै चले पनि विप्लव र नेसपाले भने माओवादीसँग मिसिने औपचारिक निर्णय नै गरिसकेका छन् । नेसपा अझै तयार नै रहे पनि विप्लव नेतृत्वको नेकपा भने तत्काल पार्टी एकताको सम्भावना नरहेको निष्कर्षमा पुगेको छ । माओवादीले औपचारिक निर्णय गरिसकेको छैन । हालै बसेको केन्द्रीय कमिटीको बैठकले माओवादीसँग एकताको आवश्यकता भए पनि प्रचण्डले पहल नगरेकै कारणले एकता अनिश्चित भएको निष्कर्ष निकालेको नेकपाका नेता अनिल विरहीले बताए ।
उनले भने, ‘बैठकमा अधिकांश साथीहरू एकता आवश्यक भए पनि माओवादी र त्यसको नेतृत्वको हिसाबले प्रचण्डले नै पहल नगरेको निचोडमा पुगेका छौं । त्यसैले एकता अनिश्चित बनेको छ, तर गर्दै नगर्ने भन्ने होइन ।’
विप्लवले मात्रै होइन, माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले पनि तत्काल कुनै वामपन्थी पार्टीहरूसँग एकताको सम्भावना नरहेको निष्कर्ष निकालिसकेको छ । समाजवादी मोर्चामा रहेका दुई ठूला दल नेकपा एस र नेकपाले तत्काल एकताको सम्भावना नरहेको निष्कर्ष निकाल्दै गर्दा प्रचण्ड भने अझै उही पुरानै रटानमा छन् । तर पुन र शर्मा एकै ठाउँमा उभिएपछि अहिले प्रचण्ड आन्तरिक रूपमा दबाबमा छन् । शर्माले लिखित रूपमा प्रचण्डलाई नेतृत्व छाड्ने प्रस्ताव औपचारिक बैठकमा राखेका थिए ।
तत्काललाई त्यो दबाब टरे पनि अब बस्ने केन्द्रीय कमिटीको बैठकमा शर्माको त्यो प्रस्तावलाई पनि छलफलमा ल्याउने प्रचण्डको आश्वासन छ । केन्द्रीय कमिटीको बैठक यही पुस २१ गते बस्दैछ । पार्टीभित्र आन्तरिक समीकरणमा अप्ठेरो स्थितिमा रहेका प्रचण्डले आफू निकट रहेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई पनि उपाध्यक्ष बनाएर पार्टीमा फर्काउँदैछन् । विप्लवलाई माओवादीमा फर्काउन पहल गर्ने उपाध्यक्ष कृष्णबहादुर महरा थिए, तर विभिन्न प्रकरणमा मुछिएपछि अहिले उनी पार्टीमा सक्रिय छैनन् । माओवादी केन्द्रका सचिव दिनानाथ शर्मा भने पार्टीले विचार मिल्नेहरूसँग एकता गर्ने ढोका सधैं खुला राखेको बताउँछन् ।
उनले संवादमा रहेका दलहरूसँगको एकताबारे आगामी केन्द्रीय कमिटीको बैठकबाट औपचारिक निर्णय हुने दाबी गरे ।केन्द्रीय सदस्य रञ्जित तामाङले पनि माओवादीलाई २०८४ मा २०६४ को अवस्थामा फर्काउन माओवादीहरू पुनः एकताबद्ध हुन आवश्यक रहेको बताए । उनीमात्रै होइन, पोलिटव्युरो सदस्य रामप्रसाद सापकोटा पनि संगठन निर्माणसँगै माओवादी घटकहरूबिचको एकतालाई तीव्रता दिनुपर्नेमा जोड दिन्छन् ।