© २०२३
प्रत्येक दिन सरदर २० जना नेपालीले आत्महत्या गर्ने गरेको भयावह तथ्यांक सार्वजनिक भैरहँदा सांसदहरूले गंभीर चिन्ता व्यक्त गरेका छन् । सांसदहरूले आत्महत्या न्यूनिकरणका लागि सरकारलाई प्रभावकारी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न समेत सुझाव दिएका छन् । सिंहदरवारमा प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको बैठकमा उनीहरूले आत्महत्या दर दिनहुँ बढ्दै गएको अवस्थामा पनि आत्महत्या रोकथाम सम्बन्धमा प्रभावकारी काम हुन नसकेको प्रति चिन्ता व्यक्त गरेका हुन । आत्महत्या बढ्दै जानुको कारणको पहिचान गरी प्रभावकारी जनचेतनामूलक कार्यक्रम गर्न सरकारलाई सांसदहरूको सुझाव छ । निश्चितरूपमा अहिले देशैभरी आत्महत्याको दर बढेको छ । विभिन्न कारणले हुने आत्महत्या रोकथामका लागि परामर्शसहितको चेतनामूलक कार्यक्रम, मनोपरामर्श, योग तथा ध्यान, अभ्यास लगायतका कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने आवश्यकता देखिएको छ । उता गृह मन्त्रालयले कार्ययोजना नै बनाएर आत्महत्या न्यूनिकरण अभियान सुरू गरिसकेको जनाएको छ । आत्महत्याका घटना रोकथाम गर्न अव सरकारले हरेक अस्पताल, विद्यालय तथा पाठ्क्रममै मनोपरामर्शका कार्यक्रम चलाउनुपर्ने कुरामा सांसदहरूले गरेको खबरदारी वास्तवमै मननीय छ । स्वास्थ्य मन्त्रालयको मापदण्डमा एकसय बेडभन्दा बढीको अस्पतालमा अनिवार्यरूपमा मानसिक स्वास्थ्य चिकित्सक खटाउने व्यवस्था रहेको छ तर त्यो कार्यान्वयनमा आउन सकेको छैन् । यसतर्फ सरकारको ध्यान जाओस् ।
अहिले देशैभरी आत्महत्याको दर बढिरहेको अवस्थामा त्यो किन ? भन्ने बिषयमा अव बृहद् अनुसन्धानको आवश्यकता छ । रूपन्देहीको रुद्रपुरमा एक समय आत्महत्याको दर एकदमै बढ्दा त्यहाँको प्रहरीले आत्महत्याविरुद्ध जनचेतनामूलक कार्यक्रमका साथै स्थानीय समुदायमा मनोपरामर्शको कार्यक्रम चलाएको थियो । अहिले लुम्बिनी प्रदेशको पहाडी जिल्ला अर्घाखाँचीमा आत्महत्या गर्नेको संख्या विकराल बन्दै गएको देखिएको छ । अर्घाखाँचीमा पछिल्लो ६ बर्षमा ३ सय ३१ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको तथ्यांक छ । नेपालमा वार्षिक तथ्यांक अनुसार औसत ६ हजार ९४८ जना व्यक्तिले आत्महत्याको कारण प्रत्येक वर्ष ज्यान गुमाईरहेका छन् । त्यसमध्ये महिला भन्दा पुरुषले बढी आत्महत्या गरेको देखिन्छ । डिप्रेसन, लागूपदार्थ तथा मादक पदार्थको प्रयोग सम्बन्धी समस्याहरू, परीक्षामा असफलता देखासिकी तथा प्रचारप्रसार, सामाजिक सञ्जालको गलत प्रयोग, अन्तरवैयक्तिक र पारिवारिक द्वन्द्व, प्रेम, अनैतिक सम्बन्ध, लिभिङ टुगेदर, वैवाहिक सम्बन्धमा देखिएका आपसी भावनात्मक असन्तुलन लगायतका कारणले आत्महत्या गर्ने देखिएको विभिन्न अनुसन्धानबाट देखिएको छ । त्यसैगरी अति न्यून आय, सामाजिक सहायताको अभाव, दीर्घ रोगहरू, शारीरिक अपाङ्गता, वंशानुगत समस्या, आफूलाई मुल्यहिन महसुस गर्ने, भविष्यप्रति निराश हुनुका साथै आउँदा दिनहरूमा राम्रो हुन सक्छ भनी सोच्नै नसक्ने आदीका कारणले पनि आत्महत्याको दर बढिरहेको देखिएको छ । मानिसहरूले निराशाबादी कुराहरू गर्ने र आफुलाई असहाय महसुस गर्ने, एक्कासी धेरै खुशी हुने अनि एक्कासी शान्त हुने, एक्लै एकान्त स्थानमा बस्न मन पराउने, साथीभाई, आफन्त, इष्टमित्रहरूलाई दुःखका कुरा सुनाउने, बाँचेर केही गर्न सकिएन भन्ने जस्ता वाक्यांशहरू प्रयोग गर्न, झर्को मान्ने, मादक पदार्थ तथा लागूपदार्थ सेवन गर्ने मात्रा वढाउने, सामाजिक सम्पर्कबाट टाढा हुन खोज्ने आदी लक्षण देखाएमा त्यस्तो मानिसलाई परामर्श दिएर आत्महत्या गर्नबाट रोक्न सकिन्छ । यो बिषयमा सरकारको ध्यान जानु जरुरी छ । बढ्दो आत्महत्याका घटना न्यूनिकरण गर्न आत्महत्या न्युनीकरण सम्वन्धि विभिन्न कार्यक्रम गर्नुपर्ने आवश्यकता छ । आत्महत्या न्यूनिकरणको प्रभावकारी माध्यम भनेको जनचेतना र मनोपरामर्श नै हो । अतः विद्यालय स्तरबाटै विद्यार्थीहरूमा मनोपरामर्श दिने लगायतका उत्साहबर्धक कार्यक्रम ल्याउन सकियो भने आत्महत्या रोकथाम हुन सक्छ । आत्महत्याको जोखिममा रहेका नागरिकहरू तथा आम नागरिकलाई लक्षित गरी मानसिक स्वास्थ्य सचेतना कार्यक्रम सञ्चालन गर्नेतर्फ अव ढिलाई नगरौं ।