© २०२३
नेपालमा विद्यार्थी—केन्द्रित शिक्षण विधिलाई पवित्र गाई जस्तै मान्ने चलन छ । कतिपय मानिसहरू यस विधिको समालोचनात्मक टिप्पणी समेत सुन्न चाहदैनन् । हालै एकजना शिक्षक मित्रले नतिजा खस्केकोमा शिक्षकहरूमाथि दोष थोपरिएको प्रति गुनासो गर्ने क्रममा “सरकारले विद्यार्थी—केन्द्रित शिक्षण विधिको घाँडो थोपरेको छ” भन्ने वाक्य उल्लेख गरेका छन् । सामान्यतया घाँडो हुनुलाई कुनै वस्तुको खास मूल्य वा महत्व वा आवश्यकता नहुने तर पञ्छाउन नमिल्ने र त्यसले गर्दा कार्यमा वाधा अड्चन आउने गरेको भन्ने बुझिन्छ । नेपालका अधिकांश सामुदायिक विद्यालयका शिक्षकहरूले विद्यार्थी—केन्द्रित शिक्षण विधिलाई अपनाउनु परेकाले विद्यार्थीहरूलाई अनुशासित बनाउन नसकिएको, पढ्न बाध्य पार्न नसकिएको, घोक्ने वानी हटेको कारण सिकाई उपलब्धि कमजोर भएको गुनासो गर्दछन् । वास्तवमा विद्यार्थी—केन्द्रित शिक्षण विधिका केही समस्याहरू छन् ।
विशेषगरी यदि शिक्षकहरू यो विद्यार्थी—केन्द्रित शिक्षण विधिको सही प्रयोगको बारेमा कमजोर ज्ञान राख्दछन् वा कक्षाकोठामा विद्यार्थीको संख्या अत्यधिक छ वा शिक्षण सामग्रीको पर्याप्तता छैन र कतिपय सामाजिक—साँस्कृतिक ज्ञान र पृठभूमिका कारण पनि विद्यार्थी—केन्द्रित शिक्षण विधिको प्रयोग प्रभावकारी हुदैन । वास्तवमा यो विधि कहिलेका लागि, कुन शिक्षण उद्देश्यका लागि, कुन प्रकारको विद्यार्थी र विद्यालय तथा साँस्कृतिक वातावरणमा सम्भव हुन्छ भन्ने कुरा निश्चित गर्नु आवश्यक हुन्छ । वास्तवमा कमजोर विद्यार्थी—केन्द्रित शिक्षण विधिको प्रयोग ब्याख्या न विधि वा घोकन्ते विधिभन्दा बढी प्रभावकारी हुन सक्दैन । कुनैपनि विधिको प्रभावकारिता विद्यार्थीको सिकाइ सँग तुलना गरी मापन गर्नुपर्दछ । विद्यार्थी सिकाइको मापन उनीहरूले परीक्षामा प्राप्त गर्ने नतिजामा आधारित हुन्छ । सरसरी हेर्दा उपलब्ध वातावरणमा शिक्षण गर्दा प्रयोग गरेका अभ्यासहरू र क्रियाकलापहरू विद्यार्थीको नतिजा सुधारका लागि कति प्रभावकारी भए भन्ने तथ्यले महत्व राख्दछ । सायद विद्यार्थीको नतिजा देखेर दिक्क भएको शिक्षकलाई सार्वजनिक रूपमा प्राप्त गालीगलौजका कारण आत्मरक्षाका लागि लेखिएका पंक्तिमा मिसिएको भाव हो विद्यार्थी—केन्द्रित शिक्षण विधिमाथिको कटाक्ष — सरकारले विद्यार्थी—केन्द्रित शिक्षण विधिको घाँडो थोपरेको छ ।
विद्यार्थी—केन्द्रित शिक्षण विधिलाई परम्परागत ब्याख्यानात्मक शिक्षक—केन्द्रित शिक्षण विधिको विकल्पका रूपमा प्रस्तुत गरिन्छ । विद्यार्थी—केन्द्रित शिक्षण विधिमा सिकारुलाई प्राथमिकतामा राखेर उनीहरूको माग अनुसार विषयवस्तु र सिकाई प्रक्रियामा सिकारूको नियन्त्रण रहने गरी के विषयवस्तु कसरी पढ्ने भन्ने पक्षहरू सिकारूको आवश्यकताका आधारमा निर्धारण गरिएको हुन्छ । विद्यार्थी—केन्द्रित शिक्षण विधि अन्तर्गत प्रयोग गरिने समस्या समाधान र प्रयोगमा आधारित शिक्षण क्रियाकलापहरू परम्परागत घोकन्ते सिकाइका तुलनामा बढी विद्यार्थीको क्षमता बढाउने, उनीहरूको सहभागिता बढाउने र अर्थपूर्ण सिकाईका लागि सहयोगी हुने विश्वास गरिन्छ । विद्यार्थी—केन्द्रित शिक्षण विधिले एक्काइसौं शताब्दीका सीपहरूको विकास, संज्ञानात्मक विकासका साथै समालोचनात्मक चिन्तन, स्वतन्त्र अनुसन्धान र सिकाई लचकता जस्ता सिपहरूको विकास, स्वतन्त्र र सहकार्यात्मक सिकाइमा जोड दिएको हुन्छ । विद्यार्थी—केन्द्रित शिक्षण विधिको प्रयोग बढिरहँदा सिकाई उपलब्धि कमजोर हुँदै जानुले यस विधिको असफलता हो कि भन्ने संशय फैलनु स्वाभाविक पनि हो । यस विधिको असफलतालाई केही विद्वानहरूले प्रत्यारोपण गरिएको मुटुलाई शरीरले अस्वीकार गरेको भनी प्रतिकात्मक टिप्पणी पनि गरेका छन् । यो विधिको प्रयोगमा समस्या देखिएका छन् । उदाहरणका लागि विद्यार्थीहरूलाई शारीरिक रूपमा समूहमा विभाजन गर्ने तर कक्षाकोठाको अगाडि उभिएर आमसभामा भाषण गरे जस्तै शिक्षण गर्ने वा शुन्य शैक्षणिक सामग्रीको प्रयोग गरेर कसरी विद्यार्थी—केन्द्रित शिक्षण हुन्छ ? त्यस्तै विद्यार्थी स्वतन्त्र सिकाईका नाममा पूर्णरूपमा विकसित वा तयार नभैसकेको बालकमा थुप्रै निर्णयहरू गर्न छाडिदिंदा प्रभावकारी हुन सक्दैन । वास्तवमा विद्यार्थी—केन्द्रित शिक्षण विधिको अतिरञ्जित प्रचारका कारण नीतिगत अपेक्षा यथार्थवादी हुन सकेन कि ? नेपालको सन्दर्भमा यो विधिको सान्दर्भिकता, आवश्यकता र वातावरण बनेको हो कि होइन ? यो विधिको प्रयोग नीति लागू भएको सूचना आम शिक्षक समुदायमा पुग्यो कि पुगेन ? शिक्षकहरूलाई यो विधिको आधारभूत पक्षको अभिमुखीकरण गरी तयारी गरियो कि गरिएन ? वास्तवमा शिक्षकहरूको कमजोर क्षमता, शिक्षक तयारी नहुनु, स्रोत सामग्रीको अभाव, ठूलो भिड लाग्ने कक्षा, सिकाइ र परीक्षण÷मूल्याङ्कनको तालमेल नहुनु, असहयोगी ब्यवस्थापन, शिक्षक तयारी विना थोपरिएको अंग्रेजी माध्यम शिक्षण जस्ता कारणहरूले गर्दा विद्यार्थी—केन्द्रित शिक्षण विधिको प्रभावकारिता नभएको देखिन्छ । कुनैपनि हस्तक्षेपकारी उपायहरूको सफलतामा त्यहाँको सामाजिक—साँस्कृतिक वातावरणको पनि प्रभाव रहन्छ । उदाहरणका लागि नेपालका अधिकांश समुदायमा साना बालबालिकाले बयस्कहरूसँग प्रश्न सोध्ने संस्कार छैन । जब कि प्रभावकारी प्रश्न सोध्ने, जिज्ञासा र विचार अभिब्यक्त गर्ने वानी भयो भने मात्र विद्यार्थी—केन्द्रित शिक्षण विधिको कक्षाकोठामा प्रयोग हुन सक्छ ।
विद्यार्थी—केन्द्रित शिक्षण विधिको सफल कार्यान्वयनका लागि विविध पक्षमा सुधार आउनुपर्दछ । शिक्षण कार्य विद्यार्थीको सहभागिता र उत्प्रेरणामा भएको हुनुपर्छ । यसका लागि अभ्यास गरेर सिक्ने, खेल विधिबाट सिक्ने, सिक्ने र सिकाउनेका विच खुला अन्तरक्रियाको वातावरण, सजायरहित सुरक्षित वातावरण हुनुपर्दछ । शिक्षकहरूले आफू र विद्यार्थीका विचमा शक्तिको दरार प्रदर्शन गर्नु हुदैन । सिकारूका लागि उपयुक्त चुनौति वा कठिनाइस्तर मिलाई कार्य दिनु अर्को सुधारात्मक उपाय हो । यदि कुनै विद्यार्थीले कुनै कार्य गर्न नसक्ने वा असफल हुने संकेत छ भने तत्काल उपचारात्मक कार्य गर्नु पर्छ । विद्यार्थीको सिकाइस्तर र पूर्व ज्ञानका आधारमा उपयुक्त प्रकारको चुनौति दिनुपर्छ । एउटा शिक्षकले सबै विद्यार्थीहरूका लागि दृष्टि पु¥याउनु सम्भव नहुने भएकोले सामुदायिक स्वयम्सेवक शिक्षकको नियुक्ति गरी शिक्षण गर्नु प्रभावकारी उपाय हुन सक्छ । त्यसैगरी कक्षामा खुला प्रश्नका माध्यमबाट विद्यार्थीहरूलाई वार्ता, बहस, छलफलमा सक्रिय बनाउनु उपयुक्त देखिन्छ । विद्यार्थी—केन्द्रित शिक्षण विधिको अर्को तरिका सिकारूको बैयक्तिक जीवनसँग पाठ्यक्रमको तालमेल हुनु हो । नेपालको सन्दर्भमा सरकारले दिएको पाठ्यक्रम पढाउनुपर्ने भएकोले विषयवस्तुलाई दैनिक जीवनसँग जोड्नु आवश्यक छ । उदाहरणका लागि त्रिकोणको पाठ शिक्षणका क्रममा विद्यार्थीका घरघरमा त्रिकोण आकारका सामान के के छन् सूचि बनाउन लगाउन सकिन्छ । अंग्रेजी वा नेपाली विषयमा जीवनी लेखनमा आफ्नै बुवाआमाको जीवनी लेखन गर्न लगाउन सकिन्छ । विद्यार्थीको भाषाको प्रयोग गर्ने वा कोड स्वीचिङ्ग गर्ने, विषयवस्तुलाई दैनिक जीवनसँग जोड्ने, ज्ञानको वैयक्तिकरण गर्ने र विषयवस्तुका साथै सिप विकासमा सन्तुलन कायम गर्नु आवश्यक छ । शिक्षण कार्यमा विषयवस्तु (ज्ञान), सिप र अभिबृत्तिको सन्तुलन हुनु आवश्यक छ । यसका साथै मूल्य र सक्षमता विकास अहिलेको आवश्यकता हो । त्यसैले विद्यार्थीहरूलाई विषयवस्तुको सँगसँगै समालोचनात्मक चिन्तन, सिर्जनात्मक चिन्तन, नागरिक सिप जस्ता गुणहरूले सुसज्जित गर्नुपर्छ । यसकालागि शिक्षकहरूलाई थप तालिमको आवश्यकता पर्दछ । किनभने कतिपय शिक्षकहरू ज्ञान शिक्षण गर्न सक्षम छन् तर घोकन्ते शिक्षाको अतिरिक्त चिन्तनमा आधारित सिपकालागि एक्काइसौं शताब्दिका सिप सँगसँगै विकास गर्नु आवश्यक छ । अर्को महत्वपूर्ण पक्ष परीक्षणमा विद्यार्थीलाई सोच्ने र मौलिक विचार प्रकट गर्ने अवसर दिने पद्धति विकास गर्नुपर्छ ।
विशेषगरेर संज्ञानात्मक पक्षलाई मूल्याङ्कन गरिने हाम्रो परीक्षा प्रणालीहरू विद्यार्थीको सुधारात्मक र उपचारात्मक मूल्याङ्कन विधिहरू अपनाउनेतिर कमै मात्रामा ध्यान गएको देखिन्छ । संक्षेपमा भन्नुपर्दा विद्यार्थी—केन्द्रित शिक्षण विधिको प्रयोग पवित्र गाईका रूपमा नभै स्थानीय परिवेश र सन्दर्भ, तथ्यमा आधारित रही फरकफरक शैक्षणिक विधिका लागि शिक्षकहरूलाई तयार गर्नुपर्छ । वास्तवमा कुन शिक्षण विधि प्रभावकारी भनेर शिक्षण विधिको प्रभावकारिता मापन भन्दा मूलरूपमा सिकाई हासिल गराउनु नै शिक्षणको मुख्य लक्ष्य भएकोले नीतिनिर्माता, पाठ्यक्रम निर्माता, विद्यालय ब्यवस्गापन र नेतृत्व, शिक्षकहरूले विद्यार्थीलाई केन्द्रमा राखेर शिक्षण प्रक्रियामा संलग्न हुनु आजको आवश्यकता भएको छ ।