© २०२३
मुलुकभरमै मुस्लिम समुदायको बाहुल्यता रहेको कपिलवस्तुमा दोस्रो ठूलो चाड (ईद उल अजहा) बकरईद धुमधाम संग मनाइएको छ । ईदकै अवसरमा कपिलवस्तु नगरपालिका–१ स्थित ईदगाह र नगरपालिका वडा नम्बर ४ स्थित इमाम अहमद बिन हम्मल मस्जिदमा सामूहिक नबाज पढिएको छ । सो अवसरमा कपिलवस्तु नगरपालिका–१ स्थित जामा मस्जिद तौलिहवाका ईमाम मौलाना अलि हसनले केन्द्रिय सरकारले ईस्लाम धर्माबलम्बीको महान पर्व ईद उल अजहामा बिदा नदिनु दुःखद भएको गुनासो गरे । “हामी सम्पुर्ण मुस्लिम समुदायले ईदको नवाजमा मुलुकमा शान्ति र सम्बृद्धिको कामना गरेका छौ । तर हाम्रो दोस्रो महान चाड बकर ईदमा सरकारले बिदा नदिँदा दुःख लागेको छ ।” मौलाना अली हसनले भने । सो अवसरमा मौलाना अली हसन नजामीले धार्मिक बिधि अनुरूप नवाज पढाएका थिए ।
मुस्लिम बाहुल्यता रहेको कपिलवस्तुमा मुस्लिम समुदायले इदगाहा, करबला, मदरसाहरूमा विशेष नवाज तथा पाठगरि घर घरमा खसीको बलि दिएर सो पर्व मनाउँदै गरेका हुन् । खसि, राँगा लगायतका पशुहरूको कुर्वानी (बली) दिई आफन्त नातागोता तथा इष्टमित्र सँग खुसी साटेर यो चाड मनाइने गरिन्छ । अरबी क्यालेन्डर अनुसार जिलहिज्जा महिनामा पर्ने बकर ईद मुस्लिम समुदायले तिन दिन सम्म मनाउने गरिन्छ ।
आफ्ना अनुयायी हतरत ईब्राहीम अलहीस सलामलाई अल्लाहले सबैभन्दा प्रिय चिज कुर्वानी गर्न गरेको अल्लाहको आदेशानुसार उनले आफ्नो छोरा ईस्माईल अलहीस सलामलाई कुर्वानी दिन खोजेका थिए । त्यसैबेला अल्लाहको अर्सिवादले छोराको ठाउँमा दुम्भ अर्थात् भेडा जस्तो देखिने चौपाया कुर्वानीका लागि पठाएका थिए । यसैको स्मरणमा बकरईद मनाइने गरेको ईस्लाम धर्मावलम्बी बताउँछन् । कुर्वानी दिइएको खसीको मासुको एक भाग गरीब, एक भाग आफन्त र नातगोता तथा एक भाग कुर्वानी दिनेले खाने चलन रहेको मुस्लिम अगुवा मुख्तार अकहद खाँले बताए । नेपालभरमै रहेका मुस्लिम धर्माबलम्बीको महान पर्वमा बिदा नदिएर सरकारले मुस्लिम धर्माबलम्बी माथि अन्याय गरेको उनको गुनासो थियो । “प्रदेश सरकारले बिदाको घोषणा गरे पनि केन्द्र सरकारले देशैभर बिदा दिएको भए हामी सबै मुस्लिम समुदाय खुसी हुने थियौ ” उनले भने । बकरा ईदका अवसरमा कपिलवस्तु नगरपालिका ४ मा रहेको इमाम अहमद बिन हम्मल मस्जिदमा ५ सय बढि महिलाले सामूहिक नवाज पढेका छन् । महिलाहरूलाई पर्दा लगाएर छुट्टै नवाज पढ्ने व्यवस्था गरिएकोले महिलाहरू बालबालिका सहित नवाज पढ्न मस्जिदमा पुगेका थिए । यसै अवसरमा मुस्लिम समुदायले जिल्लाको तौलिहवा, चन्द्रौटा, अभिराव, कृष्णनगर लगायतका स्थानमा रहेका ईदगाहमा गई नवाज पढेका छन् ।
नेपालगन्जमा पनि धुमधाम
ईस्लाम धर्मावलम्बीको दोस्रो ठूलो पर्व ईद–उल–अजाह (बकरईद) को पहिलो दिन नेपालगन्जमा धुमधामका साथ मनाएका छन् । ईद मनाउन मुस्लिम समुदाय मात्र होइन, अन्य समुदायको समेत उपस्थिती थियो । अन्य समुदायले मुस्लिम समुदायलाई शुभकामना दिए । नेपालगन्ज निवासी शहरी विकास मन्त्री मो. ईश्तियाक राईले नेपालगन्जको ईदगाह मस्जिदमा सामुहिक नमाज पढेरे सबै नेपाली मुसलमान समुदायका साथै देशबासीलाई शुभकामना दिदै समुदायको पर्वमा राष्ट्रिय बिदाको लागि आफुले पहल गरेको बताउदै उनले मुलुकमा अमनचैन, शान्ति, सम्बृद्धीको कामना गर्दै पर्व मनाउन आग्रह गरेका छन ।
नेपालगन्जको बीपी चोकमा रहेको ईदगाह मस्जिदमा बुधबार बिहान ८ बजे बकराईद ईद–उल–अजाह को सामुहिक नमाज पढेर बकरा ईद मनाउन सुरु गरिएको छ । ईदगाहमा सामुहिक नमाज पढे लगत्तै सबै ईस्लाम धर्मावालम्बीहरूले कुर्वानी (पशुबली) को लागि नजिकको सामुहिक स्थानमा पुगेका थिए । बकरईदमा कुर्वानी (पशुबली) दिने चलन भएकोले नेपालगन्जका मुस्लिम समुदायहरू आ–आफ्नो घरमा कुर्वानीको लागि खसी, भेडा, दुम्बा, भैसी, राँँगा जस्ता जानवरको जोहो गरि सकेका छन् । भेडा, खसी बाख्रा, दुम्बा जस्ता साना जनावरमा १ जनाको मात्र कुर्वानी हुने चलन छ भने राँँगा भैसी, उट जस्ता ठूला जनावरमा ७ जना मिलेर कुर्वानी गराउन सकिने परम्परा रहेको मौलाना अब्दुल जब्बार मञ्जरीले जानकारी दिए । अन्तर धार्मिक तथा सामाजिक सद्भाव क्षेत्रीय समितिका सह–संयोजक समेत रहेका मुस्लिम धर्मगुरु मञ्जरीले कुर्वानी गराएको मासु तीन भाग गरी एक भाग गरिबमा बाँड्ने, एक भाग छरछिमेकमा बाँड्ने र एक भाग घरमा पकाएर आफु र आफन्तलाई खुवाउने प्रचलन रहेको जानकारी दिए ।
कपिलवस्तु नगरपालिका वडा नम्बर ४ स्थित इमाम अहमद बिन हम्मल मस्जिदमा सामुहिक नवाज पढदै मुस्लिम महिला । मस्जिदमा पाँच सय बढि महिलाले सामुहिक नवाज पढेका थिए ।
तस्बिर : खग प्रसाद चापागाई/बुटवल टुडे