© २०२३
सेवाग्राहीको सेवालाई चुस्तदुरुस्त र प्रभावकारी बनाउन कपिलवस्तुको शिवराज नगरपालिका यतिबेला प्रविधिमैत्री बनेको छ ।
सेवाग्राहीको जनगुनासोलाई कम गर्न सिसी क्यामराद्वारा निगरानी बढाइएको हो । सिसी क्यामरा जडानले सुशासन, पारदर्शिता र सेवाग्राहीलाई सेवा प्रवाहमा सहजता आउने प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले विश्वास व्यक्त गरे । प्रमुख प्रशासकीय अधिकृत पौडेलले कार्यालयमा सेवा लिन आउने सेवाग्राहीको काममा कर्मचारीहरूले ढिलासुस्ती र आलटाल गर्ने गरेको जनगुनासो बढेपछि सिसी क्यामरा जडान गरिएको बताए । सिसी क्यामरा जडानले सेवीग्राहीको सेवालाई पारदर्शी बनाउन सकिने पौडेलको भनाई छ ।
नगरपालिकाले विभिन्न शाखाहरूको निगरानी गर्न नगरप्रमुख नेत्रराज अधिकारी र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा मनिटर राखिएको छ । नगरपालिका कार्यालयमा विभिन्न शाखामा र बाहिर प्राङ्गगणसम्मको निगरानी हुने गरी १६ वटा सिसी क्यामरा गरिएको छ । पौडेलका अनुसार सिसी क्यामरा जडानमा करीब ४ लाख खर्च भएको जनाए । क्यामरा जडान पश्चात कर्मचारीले सेवाग्राहीलाई चुस्तदुस्त सेवा प्रवाह गरे नगरेको निगरानी गर्न सजिलो भएको प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताए । साथै सेवाग्राहीले पनि क्यामराको निगरानी छ भन्ने थाहा पाएपछि कार्यालयभित्र अनुशासित ढंगले बस्ने गरेका र जथाभावी फोहोर गर्ने जस्ता प्रवृत्तिमा समेत कमी आएको नगरप्रमुख नेत्रराज अधिकारीले बताए ।
नगरपालिकाको कार्यालयमा मात्रै नभएर सेवाग्राहीको सेवालाई मध्यनजर गर्दै वडा प्रहरी कार्यालय चन्द्रौटा र इलाका प्रशासन कार्यालय चन्द्रौटामा पनि सिसी क्यामरा जडान गरिएको छ ।
चन्द्रौटा बजार चोकमा पनि सिसी क्यामरा जडान गरी वडा प्रहरी कार्यालयबाट निगरानी गरिएको छ । चन्द्रौटा बजार क्षेत्रमा हुने विभिन्न अपराधिक घटनामा कमी ल्याउन र अपराध अनुसन्धानमा सहज होस् भनी सिसी क्यामरा जडान गरिएको प्रहरी निरीक्षक महेश्वर उपाध्यायले बताए ।यता इलाका प्रशासन कार्यालयमा पनि जनगुनासोमा कमी ल्याउन सिसी क्यामराबाट निगरानी बढाएको प्रशासन प्रमुख नरबहादुर खडकाले बताए ।
कर्मचारीले सेवाग्राहीलाई छिटो छरितो सेवा नदिने, पहिले आएका सेवाग्राहीको पालो मिचेर पछि आएका सेवाग्राहीको काम छिटो गरिदिने, अनियमितता जस्ता जनगुनासो बढेपछि कार्यालयको कामकाज र जनताले पाउने सेवा सुविधालाई चुस्तदरुस्त बनाउन २ लाख ३३ हजारको लागतमा ५ वटा क्यामरा जडान गरिएको शाखा अधिकृत जगदीश अर्यालयले बताए ।