© २०२३
कपिलवस्तु, ३० असोज- डिभिजन वन कार्यालय कपिलवस्तुले तिलौराकोट साझेदारी वन क्षेत्रमा शिकारीको पासोमा परेको बयष्क चितुवाको उद्धार गरेको छ । कपिलवस्तु नगरपालिका वडा नम्बर ६ तिलौरीमा आईतबार बिहान शिकारीले थापेको पासोमा परेको चितुवा लाई डिभिजन वन कार्यालयले उद्धार गरि तिलौराकोट साझेदारी वनमा छोडेको हो ।
उद्धार गरेको चितुवा (कमन लियोपर्ड) का रुपमा परिचत छ भने यसको बैज्ञानिक नाम प्यान्थरा पार्डस हो । ७५ ईन्च लम्बाई र ३१ ईन्च उचाईको सो चितुवा ५० किलो हाराहारीमा रहेको डिभिजन वन कार्यालय कपिलवस्तुका सहायक वन अधिकृत मदनमोहन साण्डिल्यले जानकारी दिए । डिभिजन वन कार्यालयले उद्धार गरेको चितुवालाई पशु बिज्ञ केन्द्र तौलिहवाबाट खटिएको पशु प्राबिधिकको टोलीले बेहोस बनाई लठ्याए पछि तिलौराकोट साझेदारी वनका छोडिएको हो । पछिल्लो समय साझेदारी वनले चलाएको संरक्षणका कार्यक्रमले सो वन क्षेत्र वरिपरि जैविक बिबिधता बढ्दै गएको तिलौराकोट साझेदारी वन कपिलवस्तुका संयोजक जय प्रकाश पाण्डेयले बताए । साझेदारी वन क्षेत्रमा जैबिक बिबिधता बढेर चितुवा सहितका बन्यजन्तु देखिने क्रम बढे पछि डिभिजन वन र सव डिभिजन कार्यालयका बन्यजन्तुको उद्धार गर्ने युनिट र औजारको आवश्यकता देखिएको उनको भनाई छ । “वनको संरक्षणका कार्य सगै जैविक बिबिधता बढेका छन । अहिले यस साझेदारी वनमा चितुवा, हरिण, निलगाई सहितका वन्यजन्तुका प्रजाती देखिएका छन । डिभिजन वन र सव डिभिजनहरुमा वन मन्त्रालय र प्रदेश सरकारले वन्यजन्तु उद्धारका कार्यक्रम र उपकरण सहितको टोली व्यवस्था गर्नु पर्ने आवश्यकता खड्किएको छ ।” पाण्डेयले भने ।
उद्धार गरिएको चितुवालाई लठ्याएर तिलौराकोट साझेदारी वन भित्र छोडिएको डिभिजन वन कार्यालय कपिलवस्तुका डिभिजन वन प्रमुख बिजयराज सुवेदीले जानकारी दिए । जंगलमा छोडिएको चितुवाको निगरानी गरिने तथा स्थानियलाई समेत सर्तकता कायम गराईने सुवेदीले बताए । पछिल्लो समय कपिलवस्तुका वन क्षेत्रमा जैविक बिबिधता बढे सगै वन्यजन्तु उद्धार गर्ने तालिम प्राप्त जनशक्ति र उपकरणको आवश्यकता देखिएको छ ।