© २०२३
परिचय—
रुख तथा बिरुवा आफै उम्रेर वा लगाएर भयको हरियाली क्षेत्र नै वन हो । हाम्रो सामाजिक मान्यता अनुसार वनलाई सार्वजनिक क्षेत्रको रूपमा बुझ्ने गरिन्छ । वनलाई जङ्गल, झाडी, आरण्य शब्दले समेत जनाइन्छ । अङ्ग्रेजी भाषामा वनलाई फरेष्ट, जङ्गल भनिन्छ । व्यक्तिगत जग्गामा व्यवस्थित गरिएको वनलाई निजी वन भनिन्छ भने सार्वजनिक रूपमा वनलाई रानी वन, राष्ट्रिय वन भन्ने चलन छ । राष्ट्रिय वनको निश्चित चौकिल्ला तोकी तोकिएका स्थानीय समुदायलाई विधिविधानपूर्वक व्यवस्थापन गर्न दिइएको क्षेत्रलाई सामुदायिक वन भनिन्छ । त्यसै गरी बीस प्रतिशत वा सोभन्दा कम भूमि क्षेत्रमा छहारी हुने अवस्था भएर वन विनाशको स्थितिमा रहेको वनलाई औद्योगिक कच्चा पदार्थको उत्पादनसमेतका लागि प्रयोग गर्दै वन बढाउने उद्देश्य राखी स्थानीय समुदायसित सम्झौता गरी हस्तान्तरण गरिएको वन कबुलियत वन हो । वनलाई विनाशबाट जोगाउन र निम्न आय भएका समुदायको आर्थिक स्थिति माथि उठाउन यसले राम्रो सहयोग पुयाउँछ ।
ऐतिहासिक तथा सांस्कृतिक पृष्ठभूमि—
सृष्टिको आदि कालको फिरन्ते जीवन बिताइरहेका मान्छेको जीवन जिउने आधार वन थियो । एकान्त शान्त ठाउँमा तपस्या गर्न मान्छेले वनकै सहारा लिन्थे । कुनै व्यक्तिलाई कुनै सर्त हार्दा वा राज्य अपराधमा दण्ड दिँदा वन पठाउने चलन थियो । त्रेता युगमा राम, द्वापर युगमा नल राजा, पाँच पाण्डव वनमा लखेटिएको इतिहास पुराण प्रसिद्ध छ । ध्रुवले, सवरीले वनमै तपस्या गरेर ईश्वर प्राप्त गरेको कुरा विभिन्न पौराणिक कथाहरूमा पाइन्छ । शौनकादि अठ्ठासी हजार ऋषिहरू नैमिषारण्य नामक वनमा शास्त्रार्थ गरी ज्ञान साधना गर्थे भन्ने पौराणिक कथनले वन क्षेत्र ज्ञान आर्जनको थलो रहेको भन्न सकिन्छ । यसरी वन जीवन जिउने आधार मात्र नभएर ज्ञान परख गर्ने, साधना गर्ने क्षेत्रका रूपमा प्रयोग भएको देखिन आयो ।
हाम्रा पूर्वजले ऋग्वेद कालमा नै हरिया बोटबिरुवाले सूर्यको शक्ति लिन सक्छन् भन्ने बुझेका थिए । यो कुरा ऋग्वेदको मण्डल १० सूक्त १३९ मन्त्र १ मा उल्लेख छ । यो जान्दाजान्दै पनि खाडी क्षेत्रको वन विनाश भएर मरुभूमि बन्न पुग्यो । पीपल, वर, समी, डुम्री, आँप जस्ता छहारीदार वृक्षले मरुभूमीकरण हुनबाट रोक्छन् भन्ने चेत आएपछि यी वृक्ष समूहलाई पञ्चपल्लव शुभ वृक्ष भन्ने गरियो । राम वनबास गएका बखत पञ्चवटीमा बसेको कुराले यिनै पञ्चपल्लवको महत्व गाएको छ । असाध्यै रुखासुख्खा ठाउँमा पनि उम्रने हुर्कने बढ्ने यी बोटबिरुवाहरू हुर्कन सकेनन् भने मरुभूमीकरणको सुरुवात भयो भनी जान्नुपर्छ भनिन्छ । मरुभूमीकरण विरुद्धको यात्रामा महत्वपूर्ण सूचकका रूपमा रहेका यी पञ्चपल्लवलाई विष्णु (पीपल), ब्रह्मा (वर, वट सावित्री), शिव (समी) अनि आँप र डुम्रीलाई पार्षद भनेर हुर्काउने बढाउने बडो शुभ प्रचलन छ ।
वर र पीपल लगाएर हुर्की हज्जार हज्जार पात भएको यकिन भएपछि विवाह गर्ने चलन छ । विवाह गर्दा पीपल दुलाहा, वर दुलही र समी लोकन्धी मान्ने चलन छ । तर समी प्राचीन कालको आगोको स्रोत भएकाले विवाहको अग्नि साछीका रूपमा समीलाई मान्ने चलन पनि छ । चौपारीको वर पीपल झैँ भनेर दम्पतिको अटल सौभाग्यको उपमा दिइन्छ । कस्तो छ हाम्रो दाम्पत्य जीवन संस्कारको उपमा ! आँपको बगैँचा लगाउने र प्रतिष्ठा यज्ञ गर्दा १०८ गाईलाई नुन खुवाउने चलनले पनि धर्तीलाई हरियो भरिलो पार्ने हाम्रो पुरानु चलन वन संरक्षणका लागि कति गौरव गर्न लायक छ । धन्य हुन् ती हाम्रा पूर्वज जसले बोटबिरुवामा साक्षात् ईश्वर आरोपित गर्न सिकाए ।
बोटबिरुवाप्रतिको निर्भरतालाई उच्च सम्मान दिँदै हाम्रा पूर्वजले कल्पवृक्षको परिकल्पना गरे । आफ्नो जीवन निर्वाहका लागि जे चितायो उही प्राप्त गर्न सकिने त्यो मनचिन्ते कल्पवृक्ष अर्थात् वन । त्यति मात्रै कहाँ हो र नेवार समुदायमा बेलविवाह र अन्य समुदायसमेतमा रहेको ज्योतिष शास्त्र अनुसार बहुविवाहको दोष रहेको कुमार केटाले सो दोष हटाउन आँकसित विवाह गर्ने परम्पराले बोटबिरुवासितको कुटुम्ब नाता साँच्चै अचम्म लाग्दो छ । चेपाङ समुदायमा छोरीको विवाहमा च्युरीको बोट दाइजो दिने प्रचलनले बोटबिरुवालाई महत्वपूर्ण धनसम्पत्ति मान्ने सुन्दर सन्दर्भ मान्न सकिन्छ ।
घर त रित्तो बास मात्रै हो । वनविना जीवन निर्वाह चल्दैन भन्ने कुरालाई जोड दिन्छ “घर ओडार वन भँडार (भण्डार)” उखानले । वनमा पाइन्छ घर लगे चाहिन्छ, वनबाट आए बान्ने (बाँध्ने) थन (थुन) बाट आए तान्ने जस्ता उखानले पनि वन आश्रित भावना झल्काउँछन् । हाम्रो राज्य व्यवस्था र वन— पशुपालन तथा कृषि पेसाबाट जीवन निर्वाह गर्न लागेपछि मान्छेको फिरन्ते जीवन कुनै ठाउँमा स्थायी बसोबासमा रूपान्तरण भयो । यसले भूस्वामीत्वको आवश्यकता जन्मायो । अनि समुदाय, राज्यको विकास हुँदै गयो । पालित पशुको सङ्ख्या, चर्चेको जमिनको क्षेत्रफलका आधारमा व्यक्ति सम्पन्न विपन्नको मूल्याङ्कन हुने भएपछि सार्वजनिक जमिन हडप्ने होड नै चल्न लाग्यो । यसरी वन विनाशको सुरुवात भयो । आफ्नो समाजबाट गलहत्तिएका, आफ्नो समाजमा बस्न मन नपरी अर्कै समाज वा राज्यमा गएका व्यक्तिलाई त्यहाँका राजाले वा तालुकदारले सार्वजनिक वनको चारकिल्ला तोकी फँडानी गरी गुल्जार गरी बस्नू भनी जमिन दिन्थे । हाम्रो देशको कुरा गर्दा विभिन्न ठाउँका बाढी पहिरो पीडितलाई तराईका विभिन्न क्षेत्रमा वन फँडानी गरी बसोबास गर्न दिएका तमाम उदाहरण छन् । त्यसो त कुनै नागरिकले आफूलाई जग्गा कम हुनाले जहान पालनपोषण गर्न गाह्रो भयो भनी माल अड्डामा निवेदन दिई वनको जग्गा प्राप्त गर्ने चलन पनि रहेको पाइन्छ । पृथ्वीनारायण शाहका पालादेखि राणाकालसम्म विभिन्न सरकारी ओहोदामा रहेका व्यक्तिलाई जागिर वा खान्गी भनी जग्गा दिने प्रचलन थियो । त्यस्तो जग्गालाई डिही, इजर भन्ने गरिन्थ्यो । अहिलेपनि त्यस्ता जग्गाका कारण स्थाननाम स्थापित भएको पाइन्छ । त्यसैगरी आफ्नो जग्गा जमिनको अगलबगलमा रहेको वनलाई तनुवा (तन्काएर) भित्राउने चलनले पनि राष्ट्रिय वन निजी वन हुने गरेको थुप्रै प्रमाण फेला पार्न सकिन्छ ।
नेपालमा वि.सं. २००७ देखि २०१९ (ई.सं. १९५१—१९६३) सम्म जङ्गल फँडानी उच्च रहेको देखिन्छ । औलो रोगको प्रकोपदेखि डराएर मधेसमा पहाडबाट बसाइसराई निकै कम रहेको अवस्थामा औलो नियन्त्रण हुन लागेपछि बसाइसराई उच्च हुन पुग्यो । पूर्वदेखि पश्चिमसम्म चारकोस चौडा झाडी नेपालको चारकोसे झाडीका नामले प्रसिद्ध थियो । बसाइसराईको चापले उच्च वन विनाशलाई रोक्न नेपाल सरकार वन विभागले २००८ सालमा “हरियो वन नेपालको धन” नारा अघि सारेको थियो । वन संरक्षणका सन्दर्भमा यो नारा आजसम्म पनि उत्तिकै प्रिय र चर्चित छ । पहाडी भिरालो पाखामा जङ्गल, खोरिए फाँड्ने र ती फाँडिएका रुख पात सुकेपछि आगो लगाई मकै, गहत, पिँडालु जस्ता पाखा बाली लगाउने चलन पुरानै हो । ओकलदोकल नामको बालखेलमा खोरिए फाँडिस् ? … । केरा लगाइस् ? जस्ता संवादमा आएको खोरिए फँडानीका कुरा माथिका सन्दर्भसित मिल्न आउँछ । जैविक विविधताको आधारशीला वन— सौर्य शक्तिले नै संसारका जीवजन्तुको जीवन चल्छ भन्ने प्रमाणित भएको छ । सूर्यको शक्तिलाई आफूमा समाहित गरी जीवन सञ्चालन गर्ने क्षमता केवल हरिया बोटबिरुवामा मात्र हुन्छ भन्ने कुरा पनि उत्तिकै प्रमाणित तथ्य हो । जीवनको अत्यन्तै आधारभूत कुरा प्राणवायु सन्तुलन यिनै हरिया बिरुवाले गरेका हुन्छन् । यसले वन क्षेत्रको परिभाषा केवल स्थल क्षेत्रमा मात्र सीमित नगरी जल क्षेत्रमा पनि फैलाउनुपर्ने देखिन आयो । जलचर, उभयचर र स्थलचर प्राणी भने जस्तै जल वन, सिमसार वन र स्थल वन ! अझैसम्म नभनिएको कुरा ।
क्रमशः