© २०२३
बुटवल, ९ जेठ । खेलकुदको उर्वरभूमिको पहिचान बनाएको रूपन्देही जिल्ला खेलाडी उत्पादनमात्र नभई राष्ट्रिय÷अन्तर्राष्ट्रिय उपाधिमा आफ्नो बलियो पहुँच बनाएको छ । काठमाडौंमा सम्पन्न आठौ आरबिबि–एनबिए मेन्स/वुमन्स भलिबल च्याम्पियनसिप २०८० को लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गरेको एभरेष्ट भलिबल क्लब च्याम्पियन बन्न सफल भयो । ३ वटा विभागिय टिमहरू, चन्द्रागिरि न्यु डाईमण्ड, कर्णाली प्रदेश र मधेस प्रदेश टिमलाई पाखा लगाउँदै एभरेष्ट उपाधि जित्यो । चौथो पटकमा उपाधि चुमेको एभरेष्टलाई अब हुने लिगको चटारो छ ।
नेपाल भलिबल संघको आयोजनामा सम्पन्न क्लब प्रतियोगिताको छैठौ स्थानसम्म रहेका टिम बिच लिग खेल्ने प्रावधान रहेको छ । अझ एभरेष्ट क्लब च्याम्पियन भएको हुदा पनि अब उसको नजर राष्ट्रिय लिग जित्ने रहेको छ । नेपालको राष्ट्रिय टिमको क्याप्टेन अरूणा शाही, भारतको राष्ट्रिय टिमका ३ जना खेलाडीहरू जिन्सी जोन्सन, सुर्या एस, केपि अनुश्रीसहित युवा खेलाडीहरू निसा चौधरी, आरती चौधरी, अनुषा चौधरी, मिना सुनार, प्रमिला जिसि, रिचा थापा, रितु पुन, रुचि थापा टिम अब फेरी लिगको तयारीमा रहेका छन । काठमाण्डौमा ९ दिनसम्म चल्ने लिग खेल्न सोचेजस्तो सहज भने छैन । मोफसलको क्लब भएको हुदा पनि राम्रो स्पोन्सर पाउन नसकेको क्लबका प्रशिक्षक अर्जुन घिमिरेले दुखेसो गरे ।
‘उपाधि जितेर रूपन्देही र लुम्बिनी प्रदेशकै गौरब बढाएको भएपनि सरकारबाट उपेक्षामा परेको छ ।’—उनले भने । खेलाडी र खेल क्षेत्रलाई हेर्ने नजरिया परिर्वतन हुन नसक्दा पलायनको स्थिति आएको उनले बताए । ‘खेल क्षेत्रमा उपाधि हासिल गर्दा नाम खोज्ने तर लगानी गर्न नखोज्ने मानसिकता मौलाउदो छ,’—उनले भने । नेपालका विभाग र राष्ट्रिय टिमबाट खेलाडीहरू पुनम चन्द, सरस्वती कट्टेल, सुस्मिता क्षेत्री, भावना डागी, तिला चौधरी एभरेस्ट कै उत्पादन भएको उनले बताए । भलिबल खेललाई राष्ट्रिय खेल घोषणा गरेपनि यसका लागि आवश्यक लगानी र योजना सरकारबाट नभएको उनले दाबी गरे । ‘नीजि क्षेत्रको योगदानबाट नै अहिलेसम्म भलिबल उभिएको छ ।’—उनले भने । नेपाल भलिबल संघको क्यालेण्डर अनुसार मोफसलको क्लब खेल खेल्न सक्ने अवस्था नबनेको उनले बताए । क्लबका प्रशिक्षक अर्जुन घिमिरे अहिले क्लबको स्पोन्सरको खोजीमा भौतारिरहेका छन । ‘खेल बुझाउन नसक्दा राम्रो स्पोन्सर पाउन सकिएन ।’— उनले भने ।
बुटवलको एभरेष्ट बोर्डिङ स्कुल महिला भलिबलकै कारण परिचित बनेको छ । जुन विद्यालयले खेलको विकासमा वार्षिक २० लाख रूपैया बढी खर्च गरेको छ । विद्यालयका प्राचार्य कृष्ण न्यौपानेले रूपन्देहीमा एक दशकदेखि निरन्तर एकेडेमी चलाउदै आएको बताए ।
भलिबल खेलका लागि उपयुक्त अग्लो कद भएका खेलाडी गाउगाउबाट खोजेर एकेडेमीमा निशुल्क आवासियसहित शिक्षा दिदै आएको उनले बताए । काचो माटोका रूपमा रहेका युवाहरूलाई नियमित अभ्यासबाट परिपक्क खेलाडी तयार एभरेष्टमा गर्दै आएको उनले बताए । सरकारबाट हुनुपर्ने कामलाई नीजि शैक्षिक संस्थाबाट भएको उनले दाबी गरे । आफुहरूको यो योगदानलाई सरकारबाट मूल्यांकन गरिनुपर्ने उनले आग्रह गरे ।