© २०२३
बुद्ध जन्मस्थल लुम्बिनीका विभिन्न क्षेत्रमा जथाभावीरूपमा फालिएका फोहरको थुप्रो हप्तौँसम्म नउठाउँदा पर्यटकहरूमा नकारात्मक प्रभाव पर्ने अवस्था देखिएको छ । खासगरी लुम्बिनीको मूख्य क्षेत्र अर्थात प्रवेशद्वारा वरिपरी बाहिर सडेगलेका वस्तुमात्र नभई काम नलाग्ने अन्य वस्तुहरू अव्यवस्थित रूपमा फालिएको छ । यसले लुम्बिनी आउने पर्यटकलाई गिज्याईरहेको भान हुन्छ । लुम्बिनीप्रति जुन धारणा बनाएर पर्यटक आउँछन, लुम्बिनीको प्रवेशद्वारमै फोहरको थुप्रो देख्दा पर्यटकहरूमा नकारात्मक असर पर्ने अवस्था देखिन्छ । पर्यटकहरूलाई लुम्बिनीको मुख्य आकर्षण मायादेवी मन्दिरको पूर्वी बगैंचा र मुख्य प्रवेशद्वारमा फोहरको दुर्गन्धले बिकर्षण गर्ने अवस्था उत्पन्न भएको छ । त्यसो त लुम्बिनीको सम्पदा र पवित्रताको संरक्षणका लागि स्थानीय पालिकाको रूपमा लुम्बिनी सांस्कृतिक नगरपालिकाको मूख्य जिम्मेवारी छ । लुम्बिनी विकास कोषको भूमिका त्यो भन्दा पनि बढी छ तर ती दुवै संस्था मूकदर्शक देखिएका छन । महिनादेखि लुम्बिनीमा फोहरको थुप्रो अव्यवस्थित रूपमा फालिँदापनि न त पालिका र न त कोषको नै आँखा पुगेको छ । लुम्बिनी पुग्ने स्वदेशी तथा विदेशी पर्यटकले लुम्बिनीको प्रवेशद्वार तथा मुख्य बजार र बस्ती छेउमा जताततै फोहर फ्याँकिएको देख्दा निकै दुःख मान्ने गरेकाछन् । फोहरको व्यवस्थापन नगर्दा वरिपरीको क्षेत्रमा दुर्गन्ध फैलिएको छ । पर्यटकहरू नाक छोपेरै प्रवेशद्वार भित्र छिर्नुपर्ने अवस्था छ । लुम्बिनी सांस्कृतिक नगरपालिकाले समेत स्थानीय घर परिवारलाई घरको फोहर घरमै व्यवस्थापन गर्न वा जम्मा गरिएको फोहर उठाएर बाहिर लैजान नसक्नु भनेको पालिकाको गैर जिम्मेवारी हो । स्थानीय पालिकाको रूपमा लुम्बिनीको फोहर व्यवस्थापन उसको पनि कर्तब्य हो तर फोहर व्यवस्थापनमा लुम्बिनी विकास कोष र नगरपालिका एक अर्कोको जिम्मेवारी भन्दै पञ्छिनु कदापि राम्रो होइन । एकातर्फ फोहर थुप्रिएर समस्या छ, अर्कोतर्फ लुम्बिनीका वरिपरीका क्षेत्रबाट उत्सर्जित फोहर तेलार नदी र सडक किनारको जङ्गलमा फाल्ने गरेकाले त्यसले पर्यावरणमा असर पारेको भन्दै स्थानीयले गुनासो गरेको छन । नदी र जङ्गलको बीचमा फोहर फालेर समस्याको दिगो समाधान हुँदैन भन्नेतर्फ सम्वन्धित निकायले सोच्नु जरुरी छ ।
समस्या के पनि देखिएको छ भने फोहर संकलनमात्रै ठूलो कुरा होइन, त्यसको सही व्यवस्थापन महत्वपूर्ण हो । सामान्यतया घरेलु फोहरमैला, व्यावसायिक फोहरमैला, कृषिजन्य फोहरमैला र निर्माणजन्य फोहरमैलाको समग्र व्यवस्थापन जरुरी छ । लुम्बिनीमा फोहर व्यवस्थापनमा सम्वन्धित निकायको ध्यानाकर्षण नहुनु चिन्ताको बिषय हो । त्यसैपनि लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति सहर हो । लुम्बिनीको सुरक्षा, सफाई, विकास लगायतको क्षेत्रमा अन्तर्राष्ट्रिय चासो र चिन्ता छ । त्यसकारण लुम्बिनीको फोहर व्यवस्थापनमा लुम्बिनी सांस्कृतिक नगरपालिका र लुम्बिनी विकास कोषको गंभीर ध्यान जाओस् । लुम्बिनीमा ‘ग्रीन लुम्बिनी, क्लीन लुम्बिनी’ भन्ने अभियान लिएर प्रत्येक सोमबार ‘ग्रीन डे, क्लीन डे’ को नाराका साथ नियमित सरसफाइ अभियान सञ्चालन हुने गरेको छ । तर, त्यो अभियानले मात्रै पुग्दैन । लुम्बिनीमा प्रतिदिन २० देखि २५ क्विन्टल बढी फोहर उत्पादन हुने गरेको छ । लुम्बिनी क्षेत्रमा ८० बढी होटेल तथा रेष्टुरेन्ट, एक हजार बढी थोक तथा खुद्रा पसल र दैनिक सयौं स्वदेशी तथा विदेशी पर्यटकले उत्सर्जन गर्ने फोहर उही दिनमै व्यवस्थापनमा ध्यान दिनु जरुरी छ । लुम्बिनीको स्वच्छता कायम गर्ने सवालमा स्थानीय पालिका र कोषले मिलेर काम गर्नु जरुरी छ । लुम्बिनीको नाम र सान जोगाउन फोहर बाधक नबनोस् ।