© २०२३
२०८१ सालको अन्तिम महिना चैत्र । दिन पनि अन्तिम, वर्षकै । आइतबार । विहानै पुगेका थियौं हामी रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं.८ को दीपनगरमा । त्यहीं छ साहित्यकार डा.हरिप्रसाद भण्डारीको बगैँचाबीचमा शान्त घर । कार्यक्रम थियो चियासँगै सुरुवात् लघुकथा वाचन । लघुकथामा पीएचडी गरेका पहिलो सर्जक डा. पुष्करराज भट्ट चाहिं प्रमुख अतिथि थिए कार्यक्रमका । उनले लघुकथाको सिद्धान्तमा पीएचडी गरेको रहेछन् । यतिबेला उनी भाषा आयोगका सदस्य समेत रहेछन् । कार्यक्रमको आयोजक भने हरिप्रसाद भण्डारी र उनको परिवार थियो । हरिप्रसाद पनि लघुकथामै पीएचडी गर्ने सर्जक हुन् । गएको वर्ष उनले डाक्टरको उपाधि हात पारेका थिए ।
कार्यक्रमको अध्यक्षता र वाचित लघुकथाका समीक्षकका रूपमा साहित्यकार प्रा.डा.कपिलदेव लामिछाने थिए । पाँच दर्जन बढी पुस्तक लेखिसकेका उनले भैरहवामा बसेर साहित्यिक गतिविधिमा आफ्नो रफ्तार बढाएका छन् । लघुकथामा दख्खल राख्ने उनले समीक्षाका क्रममा भनेका थिए– थोरै शब्दमा धेरै प्रहार गर्न सकिने लघुकथालाई प्राज्ञिक विधाका रूपमा विकास गर्नुपर्छ । लघुकथाले आफ्नो छुट्टै विधा पक्रिन नसकेको वर्तमान अवस्थामा यसलाई सिंगो विधाका रूपमा स्थापित गर्न सबै सर्जकहरू चिन्तनशील हुनुपर्ने देखिन्छ । लेख्न नभ्याउँदै फेसबुकमा पोष्ट्याउन हतारोको कारण लघुकथामात्र नभएर सिंगो साहित्य नै ओरालो लाग्न थालेको उनको तर्क थियो । गहिरो अध्ययन, लेखन र स्वसम्पादन आजको साहित्यमा खाँचो रहेको तर्क गरे । वाचित लघुकथाहरूको छोटो तर मीठो समीक्षा गर्दै घरदैलोमा गरिने यस्तो घुम्तिखाले साहित्यिक कार्यक्रमले नेपाली साहित्यको जग बलियो हुने बताए ।
कपिलवन्धु (देवेन्द्र घिमिरे) ले बाग्लुङ्गतिरको साँचो कथा सुनाएर लघुकथा भयो कि नाइँ भनेर सबैसँग प्रश्न गरे । शब्द संख्या, संरचना र सिद्धान्तमा अडिएरमात्र लघुकथा लेख्न गाह्रो हुने कपिलवन्धुले बताए । उनको लघुकथाले जातीयता र उचनीचको भावना आजपनि कायमै रहेको सन्देश दिएको थियो । समाजको विकासक्रममा देखिएको यस्तो खालको असमानताले समाजलाई दुर्गतिमा पुराउने अड्कल सबैले गरियो । रुद्र ज्ञवाली निवृत्त कर्मचारी हुन् । त्यतोभन्दा ठूलो उनी विशिष्ट साहित्यकार हुन् । ‘विमानघाट’ उनको पछिल्लो लघुकथा संग्रह हो । ‘विमानघाट’ शीर्ष लघुकथा सुनाएर सबैलाई सोचमग्न मनाए । मनको धुँवा नदेख्ने समाजलाई आर्यघाटको धूँवाले कति पिरल्दो होला ?
साहित्यकार वनमाली निराकार पाका पुराना साहित्यकार हुन् । कडा बोल्छन्,उस्तै लेख्छन् । ठट्यौली पारामा बोल्न रुचाउने निराकारको ‘फ्यान पाठक’ शीर्षकको लघुकथा सुनेपछि मस्तिष्कमा झन्का दियो । पढ्दै नपढ्ने पाठक कसरी आज लेखकको साख्खै बन्न तारिफ गर्न सक्दो रहेछ भन्ने कुराको गतिलो प्रमाण दिएका उनले समाजप्रति वर्तमानमा देखिएका फ्यान पाठकलाई झटारो हानेका छन् । उनको वाचन शैलीले फ्यानै बनायो पो ! आयोजक हरिप्रसाद भण्डारीले छोरो र आँपको रुखलाई दाँजेर लेखेको लघुकथामा बैदेशिक रोजगार गएको छोरो र आँपको रुखका बारेमा गतिलो तुलनात्मक अध्ययन गरेका छन् । सन्तान परदेसिँदा छोरोकै जन्मदिन रोपेको आँपको रुख हेरेर बाबाआमाले चित्त बुझाउनु परेको कथाले मन चस्क घोच्यो । राम्राराम्रा लघुकथा र यात्रा संस्मरण लेख्न माहिर हरिप्रसाद भण्डारीको मन पनि उस्तै विराट छ । सहभागीहरूलाई उनले घर वरिपरि फैलिएको बगैँचामा घुमाए, बेलौती चखाए । अनारका दाना देखाए । टिम्बूर, दालचिनी, सुपारी, अलैंची, केराका बोट देखाउँदै परिचय गराए । चिकु फल देखेर दंग परियो । कार्यक्रम समापनपछि बगैँचामा फलेका काँक्राको अचार, तरकारी, कुखुरोको मासु र भुजा मज्जाले खुवाएपनि । सिडियोबाट निवृत्त भएका उनले आफ्नो घरमा सानोतिनो भोजै लगाए, डेढ दर्जन साहित्यिक सर्जकहरूलाई ।
‘भिखारी’ लघुकथा सुनाएर कार्यक्रमको उद्घाटन गरेका मित्र उराठी गौतमले वर्तमान दाइजो प्रथामाथि कडा प्रहार गरेका थिए । दक्षिण एसियाकै रोगमात्र होइन महारोग हो दाइजो प्रथा । सरु ज्ञवालीले ‘माफी’ मागिन् लघुकथामार्फत् । डीआर न्यौपानेले सहभागी सबैकाबीचमा ‘प्रतीज्ञा’ गरे लघुकथाबाटै । ‘निर्लज्ज जवाफ’ दिए लघुकथाको सहाराले कमला भण्डारीले । ‘आत्मभाव’ पोखे लक्ष्मण ज्ञवालीले लघुकथाद्वारा । ‘प्रतिमा’ कसको बनाउने विषयमा भएको रन्कारन्की सुनाए–छवि ज्ञवालीले आफ्नै लघुकथामार्फत । सीता पन्थले ‘सूत्र’ सिकाइन सबैलाई लघुकथामार्फत । प्रलेस, नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष डा.मुरारि पराजुलीले घरका दलानमा यसरी साहित्यिक कार्यक्रम हुनुमा खुसी प्रकट गर्दै लघुकथाको विस्तारका लागि चियासँग सुरुवात् गरिएको यो लघुकथा वाचन कार्यक्रम निरन्तर खाँचो रहेको बताए । उनले साहित्यलाई जनमुखी बनाउनु पर्नेमा जोड दिए । गलत मनसुवा भएका ब्यक्तिहरूले राजा जगाउने खालका गैरगणतान्त्रिक प्रवचन दिन थालेको बेलामा साहित्यकारहरूले गणतन्त्रका पक्षमा वकालत गर्दै साहित्यिक पाराले जवाफ दिनुपर्नेमा जोड दिए ।
प्रमुख अतिथिका रूपमा रहेका डा.पुष्करराज भट्टले भने–लघुकथा फाष्टफूडजस्तै भएर कतै यसको अस्तित्व नै घटेर जाने हो कि ! कतै ढड्डीको ढोडजस्तै भएर बिलाउने हो कि ? कतै गजलजस्तै सस्तो भएर जाने हो कि ? चिन्ता व्यक्त गरे उनले । लघुकथा दिनप्रतिदिन संकट पर्दै गएको सुनाए । ढालानन्द चालिसे, संगम पौडेल र म असल स्रोता बनेर लघुकथा ध्यानमग्न भई सुनिरह्यौं । हरि दाइको सुन्दर बगैँचा, फुलेका फलफूलका फूलहरू । चिनेका र नचिनेका बेर्ना र बिरुवाहरू हेर्दै रमाईलो लाग्यो । करिव तीन दर्जन बोटविरुवा रहेको उनको नीजि बगैँचामा हिमालदेखि तराईसम्म फल्ने फलफूलहरू छन् । रहरलाग्दो बगैँचा, बगैँचाबीचमा रहेको एकतले सुन्दर घरको दलानमा लघुकथा वाचन कार्यक्रम भइरहँदा कार्यक्रम नै पर्यावरणमैत्री हुन पुग्यो ।