© २०२३
बुटवल, १६ माघ ।
युवा खेलाडी छनौटको मुख्य आधार मानिने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको प्रदेश छनौट खेललाई मर्यादित र भब्य बनाउने गरी तयारी थालिएको छ । प्रदेश खेलकुद परिषद लुम्बिनीको संयोजनमा सुरक्षा निकाय, खेलकुद संघ, विशेष आमन्त्रित सदस्यहरुसहित निर्देशन समितिको मंगलबार बसेको बैठकले प्रदेश छनौट प्रतियोगिता फागुन ११ देखि १३ गतेसम्म रुपन्देहीमा गर्ने निर्णय गरेको छ ।
लगातार दुई वर्ष उत्कृष्ट बनेको प्रदेशबाट यस वर्ष पनि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई मर्यादित र उत्कृष्ट बनाउने गरी प्रदेश खेलकुद परिषद लुम्बिनी लागेको सदस्यसचिव जयप्रकाश भट्टराईले बताए । राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता संचालन (पाँचौ संशोधन) निर्देशिका २०८० अनुसार रुपन्देहीमा प्रदेश प्रतियोगिता गर्ने तयारी बैठक बसेको उनले बताए । यसपटक भलिबल, कबड्डीमा महिला र पुरुष गरी २÷२ टिम, एथलेटिक्स (महिला र पुरुष) गरी ११÷११, उसु, तेक्वान्दो र कराँते अफिसियल खेलका रुपमा सहभागिता हुनेछ ।
यसैगरी १२ जना खेलाडी, १÷१ जना प्रशिक्षक र ब्यवस्थापक रहने छन् । भलिबलमा १०÷१० जना खेलाडी, एक जना ब्यवस्थापक र एक जना प्रशिक्षकमध्ये एक जना महिला हुने प्रावधान छ । प्रदेशबाट केन्द्रमा ११५ जना खेलाडीले भाग लिन पाउने प्रावधान छ । यसैगरी छनौटको आधारमा मार्शल आर्टमा प्रथम खेलाडीले मात्र भाग लिन पाउने छन् । दोस्रो हुने खेलाडीले भाग लिने प्रावधान खारेज गरिएको छ । न्युन बजेटमा उत्कृष्ट प्रतियोगिता आयोजना गर्ने चुनौती आईपरेको उनले बताए ।
१४ औ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता काठमाडौमा फागुन १६ देखि १८ गतेसम्म हुने छ । लुम्बिनी प्रदेशबाट उत्कृष्ट खेलाडीहरु पठाउने उनले बताए । प्रदेशका पालिकाहरुमा छनौट खेल सकेर अब जिल्ला छनौटको तयारी भैरहेको उनले बताए । माघ मसान्तभित्र जिल्लास्तरीय प्रतियोगिता सम्पन्न गर्न निर्देशन दिईसकेको भन्दै उनले योसंगै प्रदेशको तयारीमा लाग्ने बताए । पालिकास्तरमा संचालन भएका प्रतियोगिताबाट छनौट भएको जिल्ला प्रतियोगितामा भाग लिन्छन । जिल्लाबाट उत्कृष्ट भएको प्रदेशमा जाने गर्छ भने त्यसमा पनि उत्कृष्ट राष्ट्रिय प्रतियोगितामा भाग लिन्छन् ।
कार्यक्रममा पुर्व जिल्ला शिक्षा अधिकारी टेक बहादुर थापाले उद्घाटन सत्रमा मार्चपास सहित खेल संस्कारलाई विकास गर्ने र खेलाडीलाई आकर्षित बनाउन सुझाव दिए ।
नेपाल एण्टि डोपिङ एजेन्सीका संयोजक डा असिम भण्डारीले एन्टि डोपिङका बारेमा खेलाडीहरुलाई सचेतना गराउने काम नेपालमा जरुरी रहेको बताए । “खेलाडी उत्पादन गर्न खेलाडी, समाज, देशको ठूलो लगानी हुन्छ । खेलाडीको शरीरमा प्रतिबन्धित औषधि भेटिएमा थाहा नभएको भन्न नपाउने हुँदा पनि धेरै सचेत हुनुपर्छ”–उनले भने । एउटा खेलाडीले अन्जानमा औषधि सेवन गरे ब्यक्तिगत मात्र नभई देशलाई नै ठूलो क्षति हुने उनले बताए । आफू चार वर्ष कार्यकालमा सबै खेलाडीसम्म पुग्ने बताए ।