© २०२३
सहकारी संस्था दर्ता गरेर जनताको रगत पसिनामाथि ठगी धन्धा चलाउने गिरोहको पर्दाफास भैसकेको छ । राजनैतिक दलका उच्च पदस्थ नेता र कर्मचारीतन्त्रसम्म उनीहरूको जालो विस्तारले सहकारी र लघुबित्त कमाउधन्धाका लागि नै स्थापना भएका हुन भन्दा अन्यथा हुँदैन । यद्यपि सवै सहकारीलाई एउटै डालोमा हाल्न सकिदैन तर जनताको गुनासो बैंक र वित्तिय संस्थाहरू जस्तै सहकारीहरूले बचतकर्ताबाट निक्षेप संकलन गर्ने र उनीहरूलाई नै चर्को ब्याजमा फसाउने गरिएको भन्ने छ । यो कुरामा सत्यता छ । किनभने पछिल्लोसमय सहकारीहरू बचतकर्ताको पैसा उठाएर भाग्ने प्रवृत्ति बढ्दै गएको छ भने लघुवित्तहरूले ऋणीबाट चर्को साँवा ब्याज उठाएर जनतालाई आतंकित वनाएको घटना सार्वजनिक भैसकेको बिषय हो । सहकारीहरू सहकारी नियम अनुसार सञ्चालन हुन नसकेको भन्दै गुनासो आउन थालेको छ ।
कतिपय सहकारीले ऐन नियम विपरित पदाधिकारीहरूले समेत तलव खाएको उदाहरण देखिएको छ । उता लघुवित्तहरूले जनताको उठिबास लगाएको भन्दै जनता आन्दोलित भैरहेका छन । निश्चितरूपमा जनताको पैसामा रजाईका घटनालाई मात्रै अध्ययन गर्ने हो भने पनि सहकारीको नाम अग्रपंक्तिमा आउँछ । गाउँमा भन्दा सहरमा बेथिति बढी छ । सहकारी र लघुवित्तले ठगेका उजुरीका चाङ प्रायः प्रत्येक जिल्लाका प्रहरी कार्यालयमा सुरक्षित रहेको अवस्था छ । राम्रामा गनिने सहकारी पनि केही समयमा टाट पल्टिएका उदाहरण खोज्न गाह्रो छैन तर पनि नयाँ खुल्ने र सदस्य ठगिने क्रम उस्तै छ । ग्यालेक्सी फोरके टेलिभिजनका अध्यक्ष र प्रवन्ध निर्देशक जिबी राई र रवि लामिछानेको कर्तुत सार्वजनिक भैसकेको छ । त्यहीपनि उनीहरू अझै सफेद पर्दाले मुख छोप्ने प्रयत्न गरिरहेका छन । यही बुटवलबाटै सेयर सदस्यहरूको करोडौं रकम कुम्ल्याएर बेपत्ता भएको सार्वजनि भैसकेको छ । यसरी हेर्दा प्रत्येक सहकारीको सुक्ष्म अध्ययन गर्ने हो भने कारबाही गर्नु नपर्ने सहकारीको संख्या अत्यन्त कम नै देखिन्छ । धेरै सहकारी ऐन, नियम र कानुनभन्दा बाहिर गएर सञ्चालनमा छन् ।
तिनै सहकारीको ठगीमा सर्वसाधारण पर्दैछन् । बचतकर्ताले गास छुट्याएर जम्मा गरेको रकमको प्रतिफल पाउन त परको कुरा सेयर रकम पनि सदस्यले गुमाउने अवस्था देखिएको छ । सहकारीको जस्तै अवस्था लघुवित्तको पनि हुँदै गएको छ । लघुवित्तबाट अझै धेरै जनता प्रताडित भएका छन । लघुवित्तबाट पीडित भएकाहरूको आन्दोलन अझै थामिएको छैन । निश्चितरूपमा सहकारीको उद्देश्य सदस्यको जीवनस्तर अझै मजबुत बनाउने र कृषिलाई प्राथमिकता दिनुपर्ने हो । नेपालमा धेरै सहकारी कृषिको नाम जोडेर स्थापना भएका छन् तर काम भने त्यसको ठिक उल्टो गर्दै आएको गुनासो सहकारीकै सदस्यहरूबाट आउने गरेको छ । नागरिकलाई सहज र सरल रूपमा कारोबार गर्न, ऋण दिन र दुःखका बेला साथ दिन सक्ने बन्नु सहकारीको धर्म पनि हो तर सहकारीले धेरै कमाउने नाममा सहकारीको मर्म र भावना भुल्दै गएका छन । एकदुई सहकारीका कारण अरू सहकारी बदनाम हुने अवस्था आएको छ । उता अधिकांश लघुवित्तहरूप्रति जनताको धेरै गुनासो छ । लघुवित्तहरूकै प्रताडनाका कारण कैयौं ऋणीहरूले आत्महत्या गरेको देखिएको छ । सरकारको निर्देशन समेत अटेर गरी सेवाग्राहीबाट आफूखुसी ब्याज उठाउन रोकिएको छैन । सहकारी र लघुवित्तहरूले अहिलेपनि १२ देखि २० प्रतिशतसम्म ब्याज असुलिरहेको गुनासो आएको छ । जनताले आफ्नो साँझ विहानको गास काटेर सहकारीमा जम्मा गरेको पैसा अव फिर्ता आउँछ कि आउँदैन ? सरकारले जवाफ दिनुपर्दछ ।