© २०२३
नेपालको इतिहासका लागि दुई महत्वपूर्ण दिन राष्ट्रिय टोपी दिवस र राष्ट्रिय मेलमिलाप दिवसको संयोग सोमबार एकै दिन परेको छ । नेपालमा यी दुई दिनले विशेष अर्थ राख्छन । राष्ट्रिय टोपी दिवस हाम्रो गौरव हो । अर्कोतर्फ नेपाली कांग्रेसका संस्थापक महानायक बीपी कोइराला आठ वर्षको भारत निर्वासनपछि स्वदेश फर्कनुभएको सोमबारकै दिन थियो । अर्थात पुस १६ । यो दिनलाई नेपाली कांग्रेसले राष्ट्रिय मेलमिलाप दिवसका रुपमा मनाउँदै आएको छ । जे होस्, नेपालमा विविध कार्यक्रम गरि सोमबार दुवै दिवस मनाइएको छ । मेलमिलापको औचित्य स्वीकार गर्दै बिपी नेपाल फर्किनुभएपछि नेपालको आन्तरिक राजनीतिले नयाँ धार र दिशा लिएको थियो । त्यसले नेपालको एकता अझै कसिलो बनाएको थियो भन्दा फरक पर्दैन । उता टोपी दिवसले पनि नेपालको हिमाल, पहाड, मधेश तराई सवैलाई जोडेको छ । आज राष्ट्रिय टोपीको पहिचान पहाड र हिमालमा मात्रै होइन तराई र मधेशको पनि गहना बनेको छ । तसर्थ टोपी र मेलमिलापले नेपालको राष्ट्रियता झल्काएको छ । त्यसो त सोमबार अङ्ग्रेजी नयाँ वर्षको संयोग पनि परेको छ । त्यसैले त्रिसंयोगको यो दिन नेपालका लागि ऐतिहासिक थियो । सन् २०२४ को पहिलो दिन नेपालमा राष्ट्रिय टोपी दिवस मनाईन्छ । नेपालमा टोपीले राष्ट्रिय एकता सुदृढ गर्न र टोपी हाम्रो देशको शान, पहिचान हो । राष्ट्रिय पोशाक पनि हो टोपी । जंगबहादुर राणाकी बहिनी डम्बरकुमारीले आफ्ना दाजुलाई खुशी पार्न पहिलोपटक टोपी बनाएर उपहार दिएको संस्कृतविद्को भनाई छ । टोपी आज नेपालमा मात्रै होइन नेपाल बाहिर रहेका नेपाली समुदायले समेत लगाउने गर्छन् । विशेषतः भाद्गाउँले टोपी र ढाका टोपीलाई नेपाली टोपीका रुपमा लिने गरिन्छ । मुलुकमा पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको भन्दै केही युवाको अगुवाईमा २०७० सालदेखि हरेक वर्षको जनवरी १ लाई टोपी दिवस र पौष १७ गतेलाई राष्ट्रिय पोशाक दिवसको रुपमा मनाउन सुरु गरिएको थियो ।
नेपाल बहुजातीय र बहुसाँस्कृतिक मुलुक भएकाले यहाँ थुप्रै जातीय टोपी र पोशाक पनि छन् । यसर्थमा नेपाल भादगाउँले र ढाका टोपीमा सम्मृद्धमात्र होइन, जातीय र संस्कृति पहिचानका धेरै टोपीको विशेषता भएको मुलुक पनि हो । यसलाई हामीले राष्ट्रिय पर्वको रुपमा मनाउनु जरुरी छ । सरकारले टोपीलाई राष्ट्रिय पोशाकको एक अभिन्न अंग घोषणा गर्नुपर्दछ । नेपाली टोपी सबै नेपालीको साझा पहिचान र एकताको प्रतीक भएको सन्देश दिनु जरुरी छ । टोपी दिवसले सबै नेपालीबीच भावनात्मक एकताको सन्देशसमेत दिन्छ । नेपाली टोपी राष्ट्रिय पहिचान र स्वाभिमानको परिचायक हो । तसर्थ यसको संरक्षण र सम्बद्र्धन गर्नु सबैको दायित्व हो । नेपालका विभिन्न समुदायले आ–आफ्नो पहिचान र परम्परा झल्किने टोपी लगाउने गरेका छन् । यो लहरसँगै पछिल्लो समय नेपालमा टोपी लगाउनेको संख्या बढिरहेको छ । अतः सोमबारको दिनले दुईवटा दिवसलाई एउटै राष्ट्रियताको सूत्रमा जोडेको छ । टोपी दिवस र मेलमिलाप दिवसले राष्ट्रियता सम्बद्र्धनमा टेवा पु¥याउने विश्वास गरिएको छ । यो दिवसले सद्भाव बृद्धिमा उल्लेखनीय योगदान पु¥याएको छ ।