© २०२३
राष्ट्रिय तथ्याङ्क विभागले सार्वजनिक गरेको राष्ट्रिय कृषिगणना २०७८ को नतिजाले कृषि प्रधान मुलुक नेपाल विस्तारै कृषिबाट बिमुख बन्दै गएको देखाएको छ । नेपालमा कुल घर परिवारको संख्या ४१ लाख ३० हजार ७८९ रहेकोमा २२ लाख १८ हजार ४१० घर परिवार मात्रै कृषिमा आवद्ध रहेको तथ्याँक सार्वजनिक भएको हो । यसले नेपाल कृषिमा परनिर्भर हुँदै गएको देखिएको छ । कृषि प्रधान मुलुक जहाँ ८० प्रतिशत बढी कृषक थिए । २० बर्षको अन्तरालमै जम्मा ६२ प्रतिशत जनतामात्र कृषिमा संलग्न देखिनु चिन्ताको बिषय हो । रूपन्देहीकै कुरा गर्दा जिल्लामा १ लाख १७ हजार ३३३ कृषक परिवारले ६५ हजार ५५५ हेक्टर जग्गामा कृषिकार्य गरिरहेको तथ्याङ्क सार्वजनिक हुनु दुःखलाग्दो कुरा हो । यसले के देखिन्छ भने नेपालमा कृषि गर्ने घर परिवार कृषिबाट बिमुख हुँदैछन । रूपन्देहीमा कृषिमा आवद्ध परिवार मध्ये ७१ प्रतिशत पुरुष र बाँकी २९ प्रतिशत महिला रहेको तथ्यांक छ । अर्को चिन्ताको कुरा छ– लुम्बिनी प्रदेशमा कृषि पेशामा आवद्ध रहेका घर परिवारहरू मध्ये ५१ प्रतिशत घर परिवारलाई वर्षभरि खान पुग्दैन् । लुम्बिनी प्रदेशमा कृषि पेशा गर्नेमध्ये ४९ प्रतिशतलाई मात्रै वर्षभरि खान पुग्छ । आखिर किन यस्तो भैरहेको छ ? यसमा गंभीर समीक्षा गर्नु जरुरी छ । सरकार यो बिषयमा कुनै बहस, छलफल नै गर्न चाहँदैन । उत्पादन घटिरहेकोले यो अवस्था आएको हो भन्ने अनुमान गर्ने हो भने पनि भोलीको दिनमा यो चिन्ताकै बिषय हो । कृषि प्रधान मुलुक कृषिबाट बिमुख हुँदै जाने र खान समेत नपुग्ने अवस्था आउनु भनेको नेपाललाई खाद्यान्नमा परनिर्भरतातर्फ धकेल्दै जानु हो । यो गंभीर बिषय हो तर यो बिषयमा सोच्नै कसैलाई फुर्सदसम्म छैन ।
हाम्रो देश कृषि उत्पादनमा आत्मनिर्भर हुनैपर्छ र अर्थतन्त्रलाई भरथेग गर्ने भरपर्दो आधार कृषि नै हो भन्ने विषय अव टाढाको बिषय बन्दै गएको छ । त्यसो त बजेटमा कृषिलाई पहिलो प्राथमिकतामा राख्दै आत्मनिर्भरताका लागि कृषि उत्पादन कार्यक्रम अगाडि सार्ने गरिएको छ । औद्योगिक विकासको आधार निर्माणका लागि पनि कृषिलाई नै केन्द्रबिन्दुमा राखेको देखिन्छ । तर, यी सवै सरकारका प्राथमिकता मात्रै हुन, काममा देखिने बिषय चाहिँ होइनन् भन्दा अत्युक्ति नहोला । हुन त आत्मनिर्भरताको बहस अहिले मात्र सुरु भएको होइन । हरेक वर्ष कृषिजन्य वस्तुको आयात उकालो लाग्दै जाने र बार्षिक ४० अर्ब बढीको चामल र अन्य खाद्यान्न आयात गर्नुपर्ने अवस्था आउनु भनेको निश्चय नै परनिर्भरताको संकेत हो । कृषिमा यसैगरी परनिर्भरता बढ्दै जाने हो भने मुलुकको आर्थिक विकास कसरी होला ? सोचनीय बिषय छ । अर्कोतर्फ नेपाल जलस्रोतमा विश्वकै दोश्रो धनी देश भनिन्छ । तर बिडम्बना हाम्रो देशमा बाह्रै महिना सिञ्चित हुने खेतीयोग्य जमिन ५० प्रतिशत पनि छैन । विगतमा किसानको आय वृद्धि र रोजगारीमा उल्लेख्य भूमिका खेलेका उद्योगलाई रुग्ण बनाइएको छ । उखु खेती गर्ने किसानको बिलौना कहिल्यै समाधान हुने भएन । यता धानको मूल्य नपाउँदा कृषक निरास छन । उत्पादन लागत समेत नउठने भएपछि कृषितर्फको आकर्षण घट्दै छ र यसले मुलुकलाई परनिर्भरतातर्फ धकेल्ने निश्चित छ । अव नसोचे कहीले सोच्नै ? सम्वन्धित निकायको ध्यान जाओस् ।