© २०२३
यतिखेर लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेको छ । ‘लैगिक हिंसा अन्त्यको सुनिश्चितताः महिला र वालवालिकामा लगानीको प्रतिवद्धता’ भन्ने नाराका साथ यो वर्ष १६ दिने अभियान सुरु भएको हो । सन् १९६० नोभेम्वर २५ मा डोमेनिक रिपव्लिकका तानाशाह राफेल ट्रिजुलोद्वारा शासित सरकार विरुद्ध आवाज उठाउने तिन मिरावल दिदीवहिनीको अधिकारकर्मलाई सम्मान गर्दै अभियानको पहिलो दिनलाई महिलामाथि हुने सवै प्रकारको हिंसा अन्त्य गर्ने दिवस भनेर यो दिवस मनाउन थालिएको इतिहास वताउँछ । पछिल्लो समय लैङ्गिकताको आधारमा हुने सवै प्रकारका हिंसा, विभेद, कुरिती, अन्धविश्वास र अपराध वहिष्करण र वन्चितीकरणलाई अन्त्य गर्दै महिला र पुरुषवीच हुने गरेका सवै किसिमका विभेद र असमानता हटाउने उद्देश्य राखेर यो अभियान चलाइएको हो । वालवालिका, किशोर, वयस्क, वृद्ध महिला र सवै लिङ्गका मानिसहरुलाई विना भेदभाव सम्मानित जीवनयापन गर्न सक्षम तुल्याउनु पनि यो अभियानको मुख्य उद्देश्य रहेको छ ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाउँदै गर्दा यो विचमा धेरै दिवसहरु पर्ने गर्छन जसले गर्दा पनि सवै क्षेत्रमा भेदभाव गर्नु हिंसा गर्नु हुदैन भन्ने वोध गराउँछ । स्वयंसेवक दिवस, एडस दिवस, अपांग दिवस तथा मानवअधिकार दिवस जस्ता दिवसहरु यसै वीचमा नै पर्ने गरेका छन । यसरी प्रत्येक वर्ष १६ दिने हिंसा विरुद्धको दिवस मनाउदै गर्दा थुप्रै खाले हिंसाहरु वढिरहेको हामी पाउँछौं । विभिन्न खाले हिंसामा सवैभन्दा धेरै घरेलु हिंसा पर्ने गरेको छ ।घर भित्र हुने हिंसा विपन्न परिवारमा भन्दा सम्पन्न परिवारमा धेरै हुने गरेको छ । ठूला तथा खानदानी परिवार भन्नेहरु इज्जत जान्छ भन्ने डरका खातिर आफु माथिको भेदभाव तथा शारिरीक र मानसिक यातना वाहिर ल्याउन डराउने कारण आफूमाथि हुने थिचोमिचो सहिरहेका हुन्छन र सहँदै एकदिन ती घरहरुमा दुर्घटना निम्तिने गरेको हुन्छ ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान विश्वव्यापी रुपमा सन १९९१ देखि शुरु भएको हो । प्रत्येक वर्ष नोभेम्वर २५ देखि डिसेम्वर १० तारिख सम्म संचालन हुंदै आएको यो अभियान नेपालमा पनि २०५४ देखि संचालन गर्दै आएको छ । नेपाल सरकार मन्त्रीपरिषदको मिति २०७५।८।२ को निर्णय अनुसार हरेक वर्ष मंसिर ९ लाई महिला हिंसा विरुद्धको दिवसको रुपमा मनाउने गरिएको छ । यसलाई सेतो रिवन अभियान पनि भन्ने गरिन्छ । सन १९८९ डिसेम्वर ६ का दिन क्यानडाको मोन्छेरल विश्वविद्यालयको पोलिटेक्निक कलेजमा मार्क लेपिन भन्ने २५ वर्षे युवकले १४ छात्राहरुको सामुहिक हत्या गरेको थियो । यसको सम्झनामा क्यानडाका युवाहरुको प्रयत्नमा सन १९९१ मा करिव १ लाख व्यक्तिको सहभागितामा महिला हिंसाविरुद्ध पुरुषहरुलाई जागरुक वनाउने उद्देश्यले अंग्रेजी वर्णमालाको भिलेन्सको भि अक्षरलाई उल्टो वनाउँदा हुने आकारमा लगाइने सेतो रिवन म हिंसा गर्दिन, म आफू हिंसा सहन्न र देखेमा प्रतिकार गर्दछु भन्दै जीरो टोलेरेन्स अभियानका रुपमा शुरु गरिएको थियो ।
लैङ्गिक हिंसा भन्नाले लिङ्गका आधारमा गरिने हिंसा वा कुनै व्यक्ति, महिला, पुरुष अथवा तेस्रो लिङ्गी भएकै कारण गरिने भेदभावपूर्ण व्यवहार अथवा महिला भएकै कारण घर धन्दा सवै गर्नुपर्छ, खाना पकाउने, लुगा धुने जस्ता सवै काम महिलाका हुन र पुरुषले गर्नुहुदैन अनि यो सवै गरे पुरुषको आयु घटछ भन्ने जस्ता मान्यता वोकेको समाज अहिलेपनि कायमै छ । महिलामाथि गरिने थिचोमिचो र भेदभावपूर्ण व्यवहार नै हिंसा हो । यसैगरी पुरुष सिधासादा छ, परिवारमा सहअस्तित्व कायम राख्न खोज्छ, श्रीमति कमाउन जान्छिन् र श्रीमानले घर सम्हालेका छन् भने यो सवै देखेर श्रीमानलाई जोइटिंग्रे हुतिहारा श्रीमतीको कमाईमा वाँचेको छ भनेर कुरा काट्ने र त्यस्तै खाले व्यवहार देखाउने भनेको पुरुषमाथिको हिंसा हो । तेस्रो लिङ्गी भन्ने थाहा पाउँदा साथ त्यो भनेको के हो, छ्या तिनीहरुको लिङ्ग कस्तो हुन्छ होला, तिनीहरुको चालचलन कस्तो आदी जस्ता क्रियाकलापले उनीहरुलाई जिस्क्याउनु भनेको हिंसा हो । माथि उल्लेखित क्रियाकलापले कसैलाई पनि भेदभावपूर्ण व्यवहार गर्नु नै हिंसा हो ।
लैङ्गिक हिंसाका कारणहरुमा परम्पराका आधारमा गरिने हिंसा, परापूर्वकाल देखि चुलो घर परिवार खेतिपाती वस्तुभाउ आदि सवै समाल्ने महिला अनि आयआर्जनका निम्ति घर वाहिर गै कमाउने पुरुष भनेर अहिलेपनि महिलालाई घर वाहिर जान नदिने चलन छ । यो परम्परागत आधारमा गरिने हिंसा हो । यस भित्र धार्मिक कुराहरु पनि पर्छन जस्तो निराहार वर्त वस्ने परिवार, श्रीमानको आयु वढोस, सवै राम्रो होस, विध्नवाधा नआओस आदी भनेर कामना गर्ने जिम्मा विशेषगरि परम्पराका रुपमा महिलाले नै लिने गरेका छन । महिलालाई वोक्सी भन्ने, छोरीलाई सन्तान नसम्झिने र यी त पराइघर जान्छन भनेर हेप्ने यो सवै परम्परावादी हिंसामा पर्दछन् ।
कोही सम्पन्न छ, ठूलो महलमा वस्छ, मनपरी खर्च गर्दछ र नजिकै विपन्न मानिसको घर छ, सानो झुपडी छ भने ठूलो घरको फोहर सानो झुपडी माथि फयाँक्ने अनि त्यो परिवारका सदस्यले लगाएका कपडा लत्ता हेरेर खिस्सी गर्ने जस्ता क्रियाकलापहरु पनि हिंसामा पर्दछन । त्यति मात्रै होइन एउटा वुहारीले टन्न दाइजो लिएर आइ भने उसलाई ससम्मान राख्ने र अर्की वुहारीले ल्याउन सकिन अथवा ल्याइन भने उसलाई फरक खाले व्यवहार गर्ने, दासी सम्झिने गर्नुपनि आर्थिकका कारण गरिने भेदभाव हो र यो हिंसामा पर्दछ । हाम्रो मुलुक अथवा कहीं पनि आफ्नो भाषा धर्म, चालचलन छन । त्यस्तै धर्म फरक पर्यो भनेर हिन्दु धर्म मान्नेले मुस्लिमलाई वा क्रिश्चियनले हिन्दुलाई छिछी र दुरदुर गर्ने अनि आफुले मान्ने धर्म नै ठुलो हो भनेर झँै झगडा गर्ने यो पनि आ–आफनो धर्म र संस्कृति माथिको हिंसा हो भनेर वुझ्नुपर्छ । यस्ता प्रवृत्तिहरु हाम्रो समाजवाट हट्नु पर्छ ।
रुपन्देहीमा लैङ्गिक हिंसा र विभेदका क्रियाकलाप धेरै छन् । घरेलु हिंसा, शारीरिक र मानसिक हिंसा आदि सवैभन्दा धेरै यही क्षेत्रमा हुने गरेको छ । विवाहजन्य हिंसा जुन वालविवाह वहुविवाह अहिले पनि अल्लारे उमेरमा माया जालमा फस्ने र विचार नपु¥याइ भागीविवाह गर्ने अनि पछि हिंसामा पर्दै जाने भैरहेको छ । त्यति मात्रै होइन तराइ भेकमा अहिलेपनि परम्परा धान्ने नाममा वालखैमा विवाह गर्दिने चलन छ र त्यसैमा दाइजोको प्रथा कायमै छ । जसलेगर्दा महिला जिउँदै जल्नुपर्ने, मानसिक शारीरिक यातना खेप्नुपर्ने जस्ता क्रियाकलापको हिंसामा पर्ने गरेका छन् । अर्को अहिलेपनि वहुविवाह गर्ने चलनको पूर्णरुपले अन्त्य हुन सकेको छैन । कुनै न कुनै वहानाले वहुविवाह भैरहेको छ । वैधानिक वहुविवाह भन्दा अवैधानिक वहुविवाहले अरु महिलाहरु हिंसामा परेको देखिन्छ । वहुविवाहको सजायको ऐन प्रयाप्त छैन । कमजोर ऐनकानुनको फाइदा उठाउने काम भैरहेको छ । त्यसैमा अरु विचल्लीमा परिन्छकी भनेर पिडितले उजुरी गर्नै डराएको देखिन्छ जस्ले गर्दा वहुविवाह गर्न पुरुषहरुको मनोवल वढेको देख्न सकिन्छ । लैङ्गिक हिंसा हरेक क्षेत्रमा हुने गरेको छ । सामाजिक संजालको दुरुपयोगवाट पनि हिंसा भैरहेको छ । नागरिकता तथा पहिचानजन्य हिंसा प्लस टु गरिसक्यो तर नागरिकता पाउनवाट वन्चित छ भने त्यो पनि एक प्रकारको हिंसा नै हो । मास्टर डिग्री गरेको छ तर रोगगारी छैन वेरोगार भएर वाँच्न गाहे हुनु स्वभाविक हो र तर यो पनि एक प्रकारको हिंसा हो । मानव वेचविखन ओसारपसारमा परेको छ, यो त झनै ठुलो हिंसा हो । कामकाजी ठाउँहरुमा यौंन हिंसा हुने गरेको छ तर आवाज उठाए रोजगारी खोसिने डरले पेटका सवालका खातिर पनि पिडितहरु यो सवै सहन वाध्य छन । यस्ता सवै खाले हिंसावाट मुक्त गराउन प्रत्येक वर्ष १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान चलाउनु परेको छ । हिंसा विरोधी अभियान चलाए सँगै यस्ता हिंसाहरुवाट मुक्त हुने अवस्था आउनुपर्छ ।