© २०२३
‘समुदायले नेतृत्व गरौं’ भन्ने नाराका साथ आज विश्वभरी नै एड्स दिवस मनाईदैछ । त्यसो त सुरुवाती दिनमा जस्तो यसको भयावहता विस्तारै घटदै गएको छ । एड्सको जोखिम कम हुँदै गएको छ । चिकित्सक तथा बैज्ञानिकहरूले एड्स नियन्त्रणका लागि गरेको खोज र तयार पारेको भ्याक्सिन तथा औषधीकै कारण यो संभव भएको हो । पहिले एड्स लागेको ब्यक्तिलाई घृणाको रूपमा हेरिन्थ्यो । अहिले एड्सका विरामी दुर्लभ भैरहेका छन । त्यो भनिरहँदा यसको जोखिम भने अझै कम भएको छैन । यसको जोखिम भनेकै असुरक्षित यौन सम्पर्क नै हो । तसर्थ यौनजन्य क्रियाकलाप सुरक्षित रूपमा गर्नु जरुरी छ । केही बर्ष अघिसम्म नेपालमा एचआइभी सङ्क्रमितहरू धेरै समयसम्म लुकेर बस्ने अवस्था थियो तर उपचारात्मक अनि परामर्शात्मक सुविधा प्राप्त हुन थालेपछि संक्रमितहरू खुल्ने अवस्था आएको छ । एड्स भएकाहरूलाई समाजले हेर्ने दृष्टिकोणमा समेत अहिले परिवर्तन आएको छ । तर, अहिलेपनि एचआइभी सङ्क्रमितहरूले समाजमा दुव्र्यवहार सहनुपरेको सुन्नु परेको छ । नेपालमा एचआइभीको पहिलो संक्रमित सन् १९८८ मा देखिएको हो । दिवसकै अवसरमा संयुक्त राष्ट्र संघ अन्तर्गतको युएनएड्सले असमानताहरूको सम्वोधन गर्दै एड्स रोक्न आग्रह गरेको छ । अवका दिनमा एड्सको महामारी नियन्त्रणका लागि समुदायको सचेतना जरुरी छ । एड्स भएकाहरूलाई दुव्र्यवहार होइन, उनीहरूलाई सम्मानको खाँचो छ ।
निश्चितरूपमा नेपालमा एक दशक अगाडीसम्म एचआइभी एउटा महामारीको रूपमा थियो । एड्स भन्नेवित्तिकै डराउनु पर्ने अवस्था थियो । एड्स भएका ब्यक्तिलाई छुन समेत हुँदैन, छोएमा एड्स सर्छ भन्ने गलत मानसिकता थियो । तर विस्तारै एचआइभीप्रतिको ज्ञान र जनचेतनामा बृद्धि हुँदै गयो । एड्स नियन्त्रणमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरूले खेलेको भूमिकालाई कहिल्यै बिर्सन सकिदैन । नेपालमा अहिले यसको जोखिम कम हुँदै गएपनि एड्स संक्रमण हुने ठूलो समूह छ । अहिलेपनि बैदेशिक रोजगारीको क्रममा विदेश गएकाहरू बढी जोखिममा छन । पुरुषसँग शारीरिक सम्पर्क गर्ने पुरुषहरू, सुईद्वारा नशा सेवन गर्ने व्यक्तिहरू, असुरक्षित यौनकर्म गर्ने महिला यौनकर्मी र तिनका सेवाग्राहीहरू जोखिममा रहेका छन । उनीहरूमा सचेतनाको खाँचो छ । हाम्रो समाजमा अझैपनि एड्स बोल्दैमा, नजिक जाँदैमा सर्छ भन्ने गलत मानसिकता छ । त्यो मानसिकता हटाउनु जरुरी छ । विभिन्न सरकारी स्वास्थ्य संस्थाहरूमा निःशुल्क पाइने औषधीको नियमित सेवन र स्वस्थ्य जीवनशैली अपनाएमा एचआइभी सङ्क्रमितहरू अन्य सरह सहज र लामो जीवन बाँच्न सक्छन भन्ने प्रमाणित भैसकेकोले अव धेरै डराउनु पर्ने अवस्था छैन । खासगरी यसको औषधी र सुईको सर्वसुलभताका कारण एड्स पहिले जस्तो भयानक छैन । यो कुरा आम जनसमुदायसम्म पु¥याउनु जरुरी छ । एचआइभी सङ्क्रमितसँग हाँस्दा, बोल्दा, जुठो खाँदा र एउटै चर्पी प्रयोग गर्दा एचआइभी सर्छ भन्ने भ्रममात्र हो । यो भ्रम हटाउन सकियो भने एड्स भएकाहरूलाई हुने दुव्र्यवहारमा धेरै कमी आउनसक्छ ।
तर, यसको जोखिम र संक्रमणबाट भने समयमै बच्नु जरुरी छ । सङ्क्रमितले गरेको रक्तदान, एउटै सुईको प्रयोग तथा सुईजन्य छाला छेड्ने औजार प्रयोग गरेमा र सङ्क्रमित आमाबाट जन्मने बच्चाहरूमा मात्र यसको सङ्क्रमण सम्भावना रहने भएकोले सचेतना भने आवश्यक छ । जेहोस यो बर्षको एड्स दिवसको नाराले पनि धेरै कुरा सम्बोधन गरेको छ । समुदायले नेतृत्व गरेमा एड्सलाई विदाई गर्न सकिन्छ । अवका दिनमा एड्स नियन्त्रणमा सामूहिक प्रयास जरुरी छ