© २०२३
इजरायल र हमासबीच युद्धविराम लागू भएपछि हमासले बन्धक मुक्तीको प्रकृया अघि बढाएको छ । जस अनुसार केही इजरायली र विदेशी बन्धकलाई पहिलो चरणमा रिहाई गरेको छ । इजरायलले समेत सहमति अनुसार जेलमा रहेका १ सय ५० जना प्यालेस्टेनीलाई रिहाइ गरेको छ । रिहाई हुनेमा थाईल्याण्ड सहित केही विदेशी नागरिक पनि छन । हमासले बन्धक बनाएका नेपालका बिपिन जोशीको रिहाईको स्थिति भने अहिलेसम्म सार्वजनिक हुन सकेको छैन । नेपाल सरकारले कुटनीति नियोगमार्फत बिपीन जोशीको रिहाईका लागि पहल गर्दै आएको छ तर अरू देशका नागरिक मुक्त हुँदा बिपीनको बिषयमा अहिलेसम्म अवस्था अज्ञात रहनु चिन्ताको बिषय हो । अन्तर्राष्ट्रिय रेडक्रसले इजरायली महिला र बालबालिका तथा थाइल्यान्डका कामदारहरू रिहा भएको जनाएको छ । उनीहरू रफाह सीमा नाका हुँदै इजिप्ट पुगेका छन ।
कतारको मध्यस्थतामा भएको सम्झौता अनुसार लडाइँ पनि चार दिनका लागि रोकिएको छ । इजरायल र हमासले अस्थायी युद्धविरामको अवधिमा ५० बन्धक र एक सय ५० प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्ने सम्झौता गरेको थियो । अक्टोबर ७ तारिखमा हमासले गरेको आक्रमणमा १२ सय जनाको ज्यान गएको थियो भने २ सय ४० जनालाई बन्धक बनाइएको थियो । त्यसलगत्तै इजरायलले गरेको आक्रमणमा १४ हजार जनाभन्दा धेरै मानिस मारिएको गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ । कतारको विदेश मन्त्रालयका प्रवक्ता माजेद अल अन्सारीले बिपीन जोशीको रिहाईका लागि पहल गर्ने प्रतिबद्धता जनाउनु भएको थियो । तर, अहिलेसम्म रिहाईका बिषयमा कुनै जानकारी नहुनुले चिन्ता थपिएको छ । इजरायल र प्यालेस्टाईनबीच केही दिनको युद्धविराम गर्ने सम्झौता भएको छ । तर यो युद्धविरामलाई स्थायी युद्धविराममा परिणत गर्नेतर्फ जोडदार आवाज उठाउनु पर्नेछ । दुई देशबीचको भिषण मानवीय क्षतिमा सभ्य भनिने संसार किनाराको साक्षी हुन पुगेको छ । अस्पतालमा समेत बम वर्षा प्रहार गरेर सुत्केरी आमा र नवजात शिशुको हत्या गरिएको समाचार मानवताको इतिहासको कलंक हो ।सैनिक आक्रमणमा हमासतर्फ बढी क्षति भएको छ । अस्पताल लगायत नागरिक क्षेत्रमा समेत बम वर्षाइएको छ ।
युद्धमा २० हजार नागरिकको मृत्यु भएको सार्वजनिक भएको छ । नेपालका विद्यार्थीहरू समेत मारिएका छन । एक्काईसौं शताब्दीमा पनि शक्ति हुनेले निर्धोमाथि थिचोमिचो गर्दा सिंगो विश्व तमासा हेरेर बसेको देखिने यथार्थमा मानव समुदायकै लागि लज्जाको विषय हो । नेपालले समेत इजरायल हमास युद्धको निन्दा गरेको छ । नेपाल आगामी दिनमा पनि अन्तर्राष्ट्रिय मञ्चहरूमा न्याय र स्वतन्त्रता एवं विश्व शान्तिका पक्षमा दृढतापूर्वक उभिने अपेक्षा छ । कुनैपनि मुलुकको भूमिमा अर्को मुलुकले सैनिक आक्रमण गर्नु संयुक्त राष्ट्रसंघको बडापत्रको उल्लंघन हो । यसैले नेपालले इजरायली र हमास युद्धको विरोध गरेको हो । युद्धको विकल्प शान्ति नै हो । तसर्थ शान्तिका लागि अझैपनि पहल गर्नु जरूरी छ । युद्धका मामिलामा नेपालले अहिले देखाएको अडान यथार्थमा साना मुलुकहरूको प्रतिनिधित्व पनि हो । सैनिक शक्तिका आडमा अर्को मुलुकमाथि आक्रमण र थिचोमिचो गर्दा पनि मौन रहँदा साना राष्ट्रहरूको सार्वभौम सत्ता सधैँ संकटमा पर्छ । यसर्थ युद्धविरामलाई स्थायी शान्तिमा रूपान्तरण गर्नेतर्फ पहल होस् । नेपालका बिपीन जोशीको तत्काल रिहाई गर्नेतर्फ पहल होस् । नेपाल सरकारले रिहाईका लागि दबाब बढाउने काममा ढिलाई नगरोस् ।