© २०२३
गौतमबुद्धले २९ वर्ष बिताएको प्राचीन शाक्य गणराज्यको राजधानी तिलौराकोट दरबार क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने तयारी भइरहेको सुन्दा कपिलवस्तुका मात्रै होइन, लुम्बिनी प्रदेशकै जनतालाई खुसी बनाएको छ । तिलौराकोट नेपालकै ठूलो खुला संग्रहालय हो । अहिलेसम्म तिलौराकोट सम्पदा क्षेत्रको संरक्षणमा ध्यान नदिँदा त्यहाँ रहेका ऐतिहासिक तथा पुरातात्विक बस्तुहरू त्यत्तिकै नष्ट र खेर गैरहेका छन । तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठनको जवाफ पर्खिरहेको सुन्दा लुम्बिनी प्रदेशबासी गौरवान्वित हुने अवस्था आएको छ । अहिलेसम्म तिलौराकोटमा गरिएका अध्ययन अनुसन्धानबाट गौतमबुद्धको राजप्रसाद रहेको पुरातात्विक प्रमाण, बुद्ध ग्रन्थ, चिनियाँ यात्रीको यात्रा वृत्तान्त र उत्खननबाट प्राप्त सामग्रीले सुरक्षित स्थल रहेको प्रमाणित भए अनुसार संरक्षित क्षेत्रका रूपमा सूचीकृत गर्ने काम भइरहेको बताइएको छ । तिलौराकोट अहिलेसम्म पनि विश्व सम्पदा सूचीमा सूचिकृत नहुनु बिडम्वनाको कुरा थियो । तर अव पुरातत्व विभाग समेत तातिएकोले सन् २०२४ सम्ममा सूचीकृत गर्ने तयारी अनुसार युनेस्कोले पठाएको जवाफ अनुसार तयारी गरेर आगामी विश्व सम्पदा सम्मेलनमार्फत थप प्रक्रिया अघि बढाइने भएको छ । मठ मन्दिर तथा पुराना नेपाली मौलिकता बोकेका घरलाई विश्व सम्पदामा सूचीकृत गर्न युनेस्को तयार देखिएको छ । यसले गौतमबुद्धको जन्मस्थल लुम्बिनीसंगै बुद्धले बिताएको २९ बर्षे शैशवकालको पहिचान र संरक्षणमा ठूलो उपलब्धि हासिल हुनेछ ।
यसअघि कपिलवस्तुको राजप्रासाद क्षेत्र तथा शुद्धोधनको ऐतिहासिक राजप्रासाद दरवार रहेको प्राचीन तिलौराकोटमा यसअघि भएको उत्खननले तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचिकृत हुन महत्वपूर्ण सहयोग प्राप्त भएको हो । अहिलेपनि तिलौराकोट उत्खननका क्रममा महत्वपूर्ण ऐतिहासिक भग्नावशेषहरू प्राप्त भएका छन । ती भग्नावेशषले प्राचीन तिलौराकोटको राजधानी कपिलवस्तु नै रहेको प्रमाणित गरेका छन । उत्खननवाट प्राप्त बुद्धकालीन ऐतिहासिक वस्तुहरूले अव भगवान गौतमबुद्धले विताएको शैशवकालका २९ वर्ष अन्य कहीं नभएर यहीं तिलौराकोट नै हो भन्ने प्रमाणित भैसकेको छ । यद्यपि तिलौराकोटमा यसअघि पनि उत्खनन् नभएको होइन । प्रत्येक वर्ष हुने उत्खननवाट प्राचीन तिलौराकोट दरवार क्षेत्रमा नयाँ नयाँ ऐतिहासिक वस्तुहरू प्राप्त भैरहेका छन र ती वस्तुहरूले समग्र कपिलवस्तुकै ऐतिहासिक गरिमा अभिवृद्धिमा सघाउ पु¥याएका छन । बर्षौंदेखि जीर्ण र ओझेलमा पर्दै आएको तिलौराकोट क्षेत्रमा अहिले भैरहेका गतिविधिले निश्चितरूपमा यस क्षेत्रको विकास संभव छ भन्ने पुष्टी भैरहेको छ । खासगरी भगवान बुद्धले विताएको २९ वर्षे बाल्यकाल तिलौराकोट दरवार यही क्षेत्र हो भन्ने विश्वले प्रमाणित गरिसकेको छ । अव कोही कसैले दाबी गर्दैमा प्राचीन तिलौराकोटको अस्तित्व हराउन सक्दैन । भारतले नक्कली कपिलवस्तु वनाएको भन्ने भ्रममा विदेशी पर्यटकहरूलाई गुमराहमा पार्ने प्रयास नभएको होइन तर विश्वका वरिष्ठ पुरातत्ववीदहरूले तिलौराकोट नेपालकै कपिलवस्तुमा पर्दछ भन्ने प्रमाणित गरिदिएका छन र भ्रममा कोही पर्नुपर्ने अब कुनै कारण र आवश्यकता पनि छैन । अव खाँचो छ त केवल कपिलवस्तुको समग्र विकास र तिलौराकोटको भग्नावशेषहरूको समुचित उत्खनन् । त्यो पनि अव छिटै तिलौराकोट विश्व सम्पदा सूचीमा सुचिकृत भएपछि संभव हुने कुरामा दुई मत हुनै सक्दैन । तिलौराकोट दरबार क्षेत्र अहिलेसम्म आँखाको कसिंगर मात्रै भएको थियो । तिलौराकोट मात्र होइन कपिलवस्तुमा दर्जनौं ऐतिहासिक स्थान छन जहाँ बुद्धकालीन अवशेषहरू लोप हुँदै गएका छन । तिनको खोजीनीति गर्ने कार्य भैरहेको छैन । अब मात्र तिलौराकोटको उत्खननले मात्रै अव पुग्दैन । कपिलवस्तुको विकास तवमात्र संभव छ जब समग्र बुद्धकालीन ऐतिहासिक क्षेत्रहरूको विकास र उत्खननमा सरकारले ध्यान दिनेछ । तसर्थ अब तिलौराकोटको उत्खननसंगै बुद्धकालीन दुई दर्जन बढी ऐतिहासिक सम्पदाहरूको संरक्षणमा ध्यान दिनु जरुरी छ ।