© २०२३
चन्द्रौटा (कपिलवस्तु), १७ कार्तिक । यतिबेला सन्तोष पन्थ फूल खेतीमा व्यस्त देखिन्छन् । सयपत्री फूलको अहिले बेग्लै महत्व छ । सयपत्री फूल आफैमा सुन्दर र सुगन्धित वस्तु हो । जसले हरेक मानव जातीको आकर्षण खिचेको हुन्छ । त्यसैलाई मध्यनजर गर्दै कपिलवस्तुको शिवराज नगरपालिका–३, खरेन्द्रपुरका एक ३७ बर्षिय एक युवा सयपत्री फूलसँगै रमाउँदै आएका छन् । तिहारमा दिदीबहिनीले टिका लगाइदिँदा सप्तरंगी टिकासँगै मखमली, सयपत्री र गोदावरीको माला लगाइदिने प्रचलन रहि आएको छ ।
२०६३ सालमा विदेश छिरेका उनी दश बर्ष अनुभव लिए । वैदेशिक बसाईपछि स्वादेशमै गएर केहि गर्नुपर्छ भन्ने सोँचले उनी घर फर्किए । एक दशकको इजरायलको बसाईपछि स्वादेश फर्किएका युवा हुन् उनी । त्यसपछि शिवराज नगरपालिका–५, नौडिहवामा ३ बिगहा जग्गा लिजमा लिए । ऋगदेव कृषि फर्म नामक फर्म दर्ता उनले गराए । बाँझो जमिनलाई चिर्दै करिब २० हजार रूपैया लगानीको जोहो गरि काठमाडौं र चितवन शहरबाट फूलको बीउ ल्याइ तरकारी र फूल खेतीपातीको सुरुवात गरे । अहिले उनको फर्ममा एक यादवको १ बच्चासहित तीन जना परिवार बस्ने गर्छन् । अहिले सयपत्री फूलले पन्थको बारी यतिबेला ढकमक्क रंगीचंगी भएको छ ।
दश बर्षे विदेशको बसाइले उनलाई कृषि खेतीपातीप्रति उत्साह थपिएको उनी बताउँछन् । परिवारको सकारात्मक साथ र सहयोगले प्रोत्साहित हुँदै केही महिनादेखि अहिले कृषि फर्म पुनः सञ्चालनमा ल्याएको पन्थले बताए । यसअघि उनले पार्टनरसिपमा लगानी गरेका थिए । केहि समयपछि आपसी तालमेल नमिल्दा फर्म प्रभावित भएको हुन् । घरपरिवारसँग बसेर स्वदेशमै केही गर्नुपर्छ भन्ने योजनाका साथ फेरि पनि पन्थ अगाडि बढेका छन् ।
उनले भने, “फूल उत्पादन गर्न सके बिक्री वितरणमा समस्या छैन । सरकारले विदेशी आयत कम गरि स्वदेशी उत्पादनलाई प्राथमिकता दिने वातावरण मिलाउनुपर्छ ।“ फूलखेती आफ्नो पहिलो अनुभव रहेको बताउँदै बजारमा राम्रो माग रहेको समेत पन्थले उल्लेख गरे । वर्षिक करिब एक लाख जग्गा भाडा तिर्दै आएका उनी कामदार नराखी आफै साझा बिहान माटोसँग खेल्दै आएका छन् ।
नेपाली बजारमा फूलको एकदमै राम्रो माग रहेको बताउँदै फूल उत्पादन गर्न सके स्वादेशमै मनग्ये आम्दानी हुने उनले बताए । अहिले फूलको उपभोग गर्ने विवाह, भाइटिका र पूजा अराधना लगायतको सिजन रहेकोले बढि खपत हुने गरेको सन्तोष बताउँछन् । तिहार नजिकिदैँ गर्दा फूलको माग बढेको छ । यतिबेला घरबाटै फुलको माला बुनेर बेच्ने तयारी रहेको उनले जिकिर गरे ।
उनका अनुसार बजारमा माग अत्याधिक बढेको छ । उनको घरबाटै फूल बिक्री हुने गरेको छ । उपभोक्ता घरमै आउँदा प्रतिकेजी ६ सयका दरले बिक्री गर्ने गरेका छन् । ठूलो परिणामको कोल्ड स्टोर भएपनि आफ्नो क्षेत्रमा नहँुदा असहज भएको गुनासो छ । ठूलो स्टोरमा राख्दा लागत बढी पर्न जान्छ । यता सरकारले भारतीय सत्रपत्री मालाको आयात अनुमति पत्रको सिफारिसमा रोक लगाएको छ । यससँगै तिहारमा भारतीय सयपत्री मालाको आयात नहुने भएपछि फूल व्यापारी हर्षित भएका छन् । नेपाल सरकार सूचना जारी गर्दै यस वर्ष स्वदेशी उत्पादनले तिहारका लागि माग धान्न सक्ने देखिएकाकारण भारतीय सयपत्री मालाको आयात अनुमति पत्रको सिफारिसमा रोक लगाएको छ ।