© २०२३
नेपालगञ्ज, ५ भदौ।
बाँकेको जानकी गाउँपालिका–३ ईन्द्रपुरका २२ वर्षीय अर्जुन कुसबन्ध्या आफ्नो बस्ती नजिकैको आँपबगियाको छहारीमा बसेर सिलौटा र जाँतो खोप्छन् । उनी मात्र होईन, उनका दाजु, भाई र काकाले पनि सधै सँगै बसेर सिलौटा खोपीरहेका भेटिन्छन् । ११ वर्षको उमेरदेखि नै सिलौटा खोप्न सिकेको बताउने अर्जुनले एक दिनभरी खोपेको सिलौटा र जाँतो अर्को दिनभरी साईकलमा राखेर बिक्री गर्न विभिन्न टोलमा लैजाने गरेको बताउँछन् । ‘कहिलेकाँही सबै बिक्री हुन्छ, कुनै दिन त एउटा पनि बिक्री हुँदैन, त्यसै फर्काएर ल्याउँछु,’ उनले भने – ‘अरु काम जानेको छैन, बिक्री नभए पनि सिलौटा खोपिरहन्छु ।’
नेपालगञ्ज–६ फुलटेक्राका जोग्या कुसबन्ध्याले सिलौटा, जाँतो बनाउने र त्योसँगै सनपाटको डोरी बिक्री गर्दै आएका छन् । बाबुआमाले गर्दै आएको पुख्र्यौली पेशा अंगालेको उनी बताउँछन् । तर सिलौटा, जाँतो बनाएर विक्रीका लागि गाउँ–गाउँमा पुग्दा कसैले किन्न नमानेको उनको गुनासो छ । ‘सिलौटा खोप्दा कहिले हथौडाले उङ्ग्ली (औंला) फुटिहाल्छ, कहिले साना टुक्राले आँखामा चोट लाग्छ’, उनले भने –‘यति मेहनत गरेर बिक्री गर्न जाँदा मिक्स्चरको जमानामा सिलौटा के काम ?भन्छन् बहुत दुःख लाग्छ ।’
अन्य वैकल्पिक पेशा नभएपछि नेपालगञ्ज फुलटेक्राका खोद्धा कुसबन्ध्याले पनि पुर्खाले अंगाल्दै आएको पेशालाई निरन्तरता दिइरहेको बताउँछन् । तर बनाएर राखेको सिलौटा बिक्री गर्न मुस्किल भएको उनले पनि सुनाए । महिनाभरि मुस्किलले ५ वटा सम्म बिक्री हुन्छ । उनले भने –‘परिवार ६ जनाको छ, सबैको पेशा यही हो । साँझ विहानको छाक टार्न मुस्किल छ ।’
बाँकेको जानकी गाउँपालिका–३ ईन्द्रपुरकी अरुणी कुसबन्ध्याले श्रीमान र ससुरा सिलौटा बिक्रीका लागि दिनभरी गाउँ डुले पनि बेलुका रित्तो हात घर फर्किने गरेको बताईन् । उनले भनिन्,– ‘सिलौटा बिक्रीको लागि कोहलपुर सम्म जानुहुन्छ, एउटा पनि बिक्री नभएर निराश भएर फर्काएर ल्याउनुहुन्छ ।’
कुसबन्ध्या समुदायका पुरुषहरु सिलौटा, जाँतो बनाएर बिक्री गर्ने र महिलाहरु घर घरमा पुरानो सिलौटा, जाँतो खोप्न जाने गरेको बताउँछन् । सिलौटा खोपेवापत दाल चामल मात्र पाउने गरेको बताउँछिन् सोही ठाउँकी केतकी बुसबन्ध्या । उनी भन्छिन् –‘दिनभरि डुलेर एक दुई ठाउँमा पुरानो सिलौटा खोप्ने काम पाईन्छ, त्यसबापत एक डेढ केजी चामल र दाल पाईन्छ साँझ घर फर्केर त्यही चामल पकाएर छाक टार्छम् ।’
सिलौटा, जाँतो बनाउने ढुंगा नेपालमा नपाईने र भारतको बहराइचबाट किनेर ल्याउने गरेको उनीहरु बताउँछन् । बहराइचबाट खरीद गरेर ल्याएको ढुंगालाई काँटछाँट गरेर उनीहरुले कलात्मक बनाउँछन् र विक्रीका लागि गाउँ–गाउँ पुग्छन् । तर, बिक्री हुँदैन । एउटा सिलौटा बनाउने ढुंगाको मूल्य भारतीय एक सय ५० रुपैयाँ पर्ने गरेको र बनाईसकेपछि चार÷पाँच सयमा बिक्री गर्न पनि समस्या भएको ईन्द्रपुरका पट्वारी कुसबन्ध्याले बताए । आधुनिकतासँगै आफुहरुको पेशा संकटमा परेको उनको भनाई छ । पट्वारीले भने –‘जाँताको ठाउँमा मिल आयो, सिलौटाको साटो मिक्स्चर लिन थाले, सनपाटका डोरी छोडेर प्लाष्टिकको डोरी लिन्छन् हाम्रो मेहनत कसैले बुझ्दैन ।’ यसअघि सिलौटा, जाँतो र सनपाटको डोरी बनाएर बिक्री गर्दै आएपनि आधुनिकतासँगै अहिले पेशामा बिराम लागेको उनको भनाई छ ।
सिलौटा, जाँतो बनाउने ढुंगा यसअघि भारतको बहराईचबाट ठेकेदारले ट्रकमा आफै लोड गरेर बस्ती सम्म ल्याईदिने गरेकोमा हाल नेपालगञ्ज भन्सार कार्यालयले ल्याउन नदिँदा पेशा झन् संकटमा परेको पट्वारीले बताए । अहिले सबैजना साईकलमा थोरै मात्रामा ढुँगा ल्याएर बनाएको सिलौटा जाँतोबाट केही फाईदा नभएको उनले सुनाए ।
नेपालगञ्जमा बनाएको सिलौटा, जाँतो सुर्खेत, दाङ तिर केही मात्रामा बिक्री भएपनि बाँकेमा बिक्री हुन छाडेको पट्वारीले बताए ।
जनजातीभित्रको लोपोन्मुख जाति मानिने पथरकट्टा एवं कुसबन्ध्या समुदायको जनसंख्या बाँकेमा करिव तीन सयको हाराहारीमा रहेको बताईन्छ । उनीहरुले सरकारबाट प्रत्येक सदस्यले सामाजिक सुरक्षा भत्ता पनि पाउँदै आएको बताउँछन् । तर आफूले बनाएका सामग्री बिक्री नभएर पुख्र्यौली पेशा संकटमा परेको र सामाजिक सुरक्षा भत्ताले मात्र जीवन धान्न मुस्किल भएको कुसबन्ध्या समुदायका अगुवाहरु बताउँछन् ।