© २०२३
बाँके, ३२ साउन ।
नेपालगन्जको ‘मुटु’ मानिने धम्वोझी चोक अर्थात वीरेन्द्र चोक ! २०३९ राजा वीरेन्द्रको शालिक स्थापना भएदेखि धम्वोझी भनिने ठाउँ वीरेन्द्र चोकका रुपमा परिचित भयो । तर २०६३ सालको जनआन्दोलनकारीले उक्त चोकमा रहेको शालिक ढलाइदिए । शालिक नभए पनि जनमनमा उक्त चोक राजा वीरेन्द्रकै नाममा परिचित रहेको बताउँछन् राप्रपा युवा नेता ऋषीराज देवकोटा ।
शालिक पुनस्र्थापनाको मुद्दाले अहिले राजनीतिक रंग लिएको छ । राजनीतिक मुद्दा बनेको शालिक पुनस्र्थापनाको बिषय मुख्यगरी राप्रपाले उठाएको छ । स्वतस्फुर्तरुपमा पनि यी कुरा उठ्दै आएका छन् । पछिल्लो समय यहाँका राजतन्त्र समर्थक युवा र सामाजिक कार्यमा लाग्दै आएका तेजबिक्रम शाहले यो मुद्दा उठाउँदै आएका छन् । उनीहरुले सहमतिबाटै शालिक राख्ने बताएका छन् ।
विवादको केन्द्र भएकोले धम्वोझी चोकमा ‘अलर्ट’ भएर बस्छन् । २०५८ साल जेठ १९ गतेको दरवार हत्यकाण्डमा
राजा वीरेन्द्र सहित राजपरिवारका सदस्यको निधन भयो । त्यसपछि राजा बनेका ज्ञानेन्द्रका बिरुद्धमा उठेको दोस्रो जनआन्दोलनको घानमा दिवंगत राजा वीरेन्द्रको शालिक पर्यो ।
आन्दोलनकारीले धम्वोझीचोकमा राखिएको वीरेन्द्रको शालिक भत्काइदिए । कमजोर अबस्थामा रहेका कारण त्यसबेला राजतन्त्र समर्थकहरुले बोल्न सकेनन् । गणतन्त्र आएको लामो समयपछि भने राप्रपा लगायत हिन्दुवादी संगठनले भत्काइएका राजाका शालिक पुनस्र्थापना गर्ने अभियान नै शुरु गर्दा सरकारले त्यसलाई रोक्न खोज्यो । जसका कारण पटक–पटक भिडन्तको अवस्था सिर्जना भयो ।
गत पुस महिनामा पृथ्वीनारायाण शाहको जन्मजयन्तीका अवसरमा युवाहरुले एकाबिहानै वीरेन्द्रको शालिक ठड्यान खोजे । ठुलो दलबल सहित आएको प्रहरीले शालिक राख्न दिएन । शालिक राख्न आएका युवासंग झडप हुँदा थुप्रै घाइते भए र धम्वोझी चोक रणभूमीमा परिणत भइदियो ।
राप्रपाका युवा नेता ऋषिराज देवकोटा भन्छन्–‘बलजफ्ती इतिहास मेटाउन खोजियो । हामीले पुनस्र्थापना गरौं भन्दा बल प्रयोग गरिन्छ ।’ धम्वोझी चोकमा राजा वीरेन्द्रको शालिक पुनस्र्थापना हुनुपर्ने स्थानीयको आवाज दबाउन नहुने देवकोटाको भनाई छ । झडप लगत्तै धम्वोझी चोकको अवस्था बुझ्न उपमेयर कमरुद्धिन राई सहित पुगेका मेयर प्रशान्त बिष्टले छलफल र निकास बिना जबर्जस्ती शालिक राख्ने कामले शान्ति सुरक्षामा असर पुगेको बताएका थिए । एकपक्षीय तरिकाले काम गर्न नहुने उनको भनाई थियो ।