© २०२३
पाल्पा, २९ साउन ।
निस्दी गाउँपालिका अर्चलेकी सरस्वती सुनारी विगत केही समयदेखि समयमै विद्यालय जान पाएकोमा निकै खुसी छन् । समयमै विद्यालय पुग्न पाएसंगै आफ्नो पठन पाठनमा समेत सुधार आएको उनी बताउँछिन् ।
अर्चले गाउँकै शिवकुमार नेपाली पनि समयमै विद्यालय पुग्न नपाउँदा पहिलो पिरियड सधै छुट्थ्यो । तर आजभोलि समयमै विद्यालय जाने र आफु जस्ता २० भन्दा बढी छात्रछात्राको पठन पाठनमा पनि सुधार आएको उनी बताउँछन् ।
खाना खाएर विद्यालय जाने समयमा खानेपानीको लागि लाइनमा बस्दा सधै पढाई छुटाएका सुनारी र नेपाली जस्ता विद्यार्थीलाई आफ्नो घर आँगनमा खानेपानीको सुविधा भएपछि राहत मिलेको छ । जसका कारण उनीहरु समयमै विद्यालय पुग्न पाएको स्थानीयको भनाई रहेको छ ।
अर्चलेको सातदोबटे बस्तीमा खानेपानीको समस्याका कारण समयमा नै विद्यालय पुग्न नपाएको विद्यार्थी र तिनका अभिभावक एक गाग्री पानीको लागि बस्ती भन्दा तल दुई घण्टा लगाएर परकुलामा भएको कुवाको पानीमा विहान ३ बजेदेखि पानी भर्ने पालो कुर्नु पथ्र्यो । सुख्खा मौसममा पानी भर्दाभर्दै सकिन्थ्यो । पानी जम्मा नभए सम्म कुर्नु पथ्र्यो । बिहान ३ बजे उठेर पँधेरामा पुग्दा उज्यालो हुन्थ्यो भने कहिले केटाकेटीहरु विद्यालय जाने समय हुन्थ्यो । यस्तो संकटको दिन सामना गरियो । “पुराना दिनहरु अहिले सम्झदा सपना जस्तै लाग्दछ”–स्थानीय खेम कुमारी सुनारी भन्छिन् ।
खानेपानी तथा सरसफाई डिभिजन कार्यालय आर्थिक तथा प्राविधिक सहयोगमा लिफ्टिङ योजनाको पूर्वाधार निर्माण कार्य पूरा गरी गाउँको टंकीमा पानी पु¥याई वितरण गर्न लागिएपछि सात दोवाटे गाउँका ९४ परिवार एक गाग्री पानीका लागि आधा रातमा उठ्नु पर्ने बाध्यताको अन्त्य भएको स्थानीय अनुपमा राई बताउँछिन् ।
खानेपानीको समस्याका कारण टाढा टाढाबाट छोरी दिन तयार हुँदैनथे । यस्तो सामाजिक विभेद थियो । पानीको समस्याका कारण विकासका गतिविधिहरु पनि शुन्य नै थिए । जब निर्वाचनको समय आउँथ्यो तव नेताहरुलाई पानी ल्याइदिने आश्वासन जस्तै भएको थियो । “चुनावपछि नेताका बचनहरु बिर्सने प्रवृत्तिले पनि पछाडी परेको होइन, पारिएको हो”– स्थानीय झममाया विश्वकर्मा बताउँछिन् ।
सात दोवाटेको ९४ घर परिवारलाई स्थानीय वडादेखिका संघीय तहका जनप्रतिनिधिले खानेपानीको समस्या देखाएर मत लिने बलियो आधार मात्र बनाए । यहाँको मुख्य समस्या समाधानको लागि वडा तहका जन प्रतिनिधिले पहल र प्रयत्न नगर्दा खानेपानीसंगै अन्य विकासका कार्यमा पछाडि परेको स्थानीयहरुको अनुभव रहेको छ ।
बस्ती भन्दा तलबाट लिफ्टिङ गरिएको योजनाको लागि पूर्वाधार निर्माणको कार्यसँगै मुख्य टंकीमा पानी पठाउने काम भयो । अब शाखा लाइन बिस्तारको काम बाँकी छ । आउने वर्षमा एक घर एक धाराको अभियान पूरा हुने खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका सूचना अधिकारी संजिव अधिकारी बताउँछन् । योजना पूरा गर्ने गरी बजेट आउँदैन त्यसले गर्दा ढिलाई भयो, बजेट अनुरुपको काम पूरा भएको र हाल सम्म झण्डै ४० लाख रुपैयाँ खर्च भएको उनले बताए ।
काकाकुल जस्तै भएको गाउँमा पानी आउँदा खुसीको कुनै सिमा नै छैन । खानेपानीको समस्या समाधानको बाटोमा पुगेपछि स्थानीयहरुको जीवनशैलीमा परिवर्तन आएको छ । पानी नै विकासको मुख्य मेरुदण्ड भएको स्थानीय तथा खानेपानी उपभोक्ता समितिका अध्यक्ष युग जंग बहादुर सुनारी बताउँछन् ।
स्थानीय ७० वर्षीय खुम बहादुर सुनारी गाउँमा खानेपानी आउँदा आफुलाई सपना जस्तै लागेको बताउँछन् ।