© २०२३
पाल्पा, २८ साउन । डाँडा डाँडाको पाहारिलो ठाउँ उत्तरतिर सेताम्मे हिउँको बर्को ओढेर उठिरहेको हिमाल देखिने ठाउँ हो तिन पिप्ले । भिरालो भिरालो त कतै सम्मो परेका ठूला ठूला बारीका पाटाहरूमा प्रशस्त मात्रामा अन्नका वालीहरू झुलिरेहेका, सिमी बोडी, लहरिएका कागती सुन्तलाहरू । तिनै जमिनको किनारामा तीन तर्फ फैलिएका वरण्डाहरू सहितका घरहरू एक दशक अगाडिसम्म मिश्रीत समाज रहेको बस्ती देख्दा बाहिरबाट जानेहरू सबै लालाहित हुन्थे । अहिले त्यो गाउँको चलहपहल एकादेशको कथा बन्दै गएको छ ।
साविकको मदनपोखरा गाविसको १ हालको तानसेन नगरको ९ लाई एक दशक अगाडिसम्म सडक संजालले जोड्न नसके पनि अत्यन्तै रमाइलो बस्तीका अधिकांश घरहरू आज विगतको इतिहासको साक्षी मात्र भएका छन । सुन्तला लिच्ची, सिमी बोडी फल्ने उर्वरभूमी जंगलमा परिणत भएको छ ।
पछिल्ला दिनहरूमा खेप्नै नसक्ने गरी बाँदरले सताउन लागेपछि बस्ती नै छाडेर अन्यत्र बिस्थापित हुन परेको स्थानीयहरूको गुनासो छ । बारीमा लगाएको अन्न बाली फलफूल, कन्दमुल, बाँदर बँदेल दुम्सी जस्ता वन्यजन्तुले वाली स्याहार्नै नपर्ने गरी नोक्सान गरेपछि एउटै टोलबाट २० भन्दा बढि परिवार बिस्थापित भएको इन्द्र बहादुर पचभैया बताउँछन । दिउँसोमा ठूलो सख्यामा बाँदर रातीमा बँदेल, मृग दुम्सी जस्ता वन्य जन्तुले वाली नै नोक्सान गरेपछि ८० भन्दा बढि खेतियोग्य जमिन बाँझो रहेको उनले बताए ।
पछिल्लो समयमा वन्यजन्तुका कारण गाउँ नै छाड्नु पर्ने समस्या यहाँको मात्र होइन माथागढी गाउँपालिका चिँदीपानीकी बुद्धीमता नेपाली भन्छिन् बारीको अन्न, फलफूल तरकारी जस्ता त सक्यो सक्यो घर भित्र पकाएर राखेको खाना र अन्नहरू समेत सुरक्षित हुँदैन । यस्तो भएपछि गाउँ भनेर बस्न व्यर्थ नै भयो । हुने खानेले त पहिले नै गाउँ छाडेका छन् । हँुदा खानेले जसोतसो गाउँ कुरेका छन अब बादरले उठिबास लगायो । स्थानीय कोश बहादुर राना बताउँछन ।
पहिले पहिले गाउँमा बस्ती बाक्लो थियो बाँदरहरू वनमा मात्र सीमित थिए । वन्य जन्तु धपाउनको लागि बन्दुकहरू टोल टोलमा थिए त्यसले पनि वन्य जन्तु नियन्त्रण भएका थिए । अहिले बारीमा ५० देखि २०० सम्मका एउटा बथान हुन्छ, एउटा बथानले १० रोपनीमा लगाएको अन्न वाली १० मिनेट मै सखाप बनाउँछ । बाँदरको कति बथान छ भन्ने थाहा छैन काली गण्डकी नदीमा पौडीएर वारी आउँछ । महिला तथा बाल बालिकालाई आक्रमण गर्ने प्रयत्न गर्दा सातो नै जान्छ । यसै क्रमले पनि यहाँबाट फाँटमा बसाइँ सर्ने क्रम बढेको पूर्वखोला छाप्दीकी जमुना खनाल बताउँछिन । गाउँमा बस्ती नै छैन भन्न त भएन तर पहिलेको तुलनामा ९० प्रतिशत कम भएको उनले बताइन ।
खेतियोग्य जमिन आफ्नो बाबु बाजेको थाल थलोलाई एका एक छाडन त रहर नै होइन बाध्यता हो । गाउमा खेतीकिसानी गरेर बस्न बेग्लै आनन्द आउछ २, ४ पैसा कमाउन बलियो माध्यम भए पनि कृषि उपज दु.ख गरेर लगायो । स्याहार्ने समयमा क्षण भरमा नै कता बाट, कहिले हुल बाधेर आउँछ थाहा हुँदैन यस्तो भएपछि खेति गर्न कसलाई रहर हुन्छ र ? भन्दछिन बराङदीकी स्थानीय कमला घिमिरे ।
वन्य जन्तु नियन्त्रण तर्फ सरकारले समय मै नीति र कार्यक्रमहरू ल्याउनु पर्दछ । यही अवस्था कायम रहेका गाउघरहरू सुनसान हुनेछन । स्थानिय, प्रदेश तथा संघिय सरकारले विद्युत, खानेपानी, सडक, स्वस्थ्य, शिक्षा जस्ता क्षेत्रमा ग्रामिण योजना लागु गरेको छ । सरकारको लगानी भए पनि वन्य जन्तु नियन्त्रण हुन नसके सरकारको गाउघरमा गरेको लगानी बालुवामा पानी जस्तै हुने स्थानयि कृषक कृष्ण प्रसाद भुषाल बताउँछन । गाउँमा सरकारकोलगानी बढदो छ तर पनि वन्य जन्तुका कारण गाउ घर छोडनेको सख्या पनि उत्तिकै छ । रैनादेवी छहरा गाउँपालिका छहराकी खेम कुमारी घर्ती पनि ५ रोपनी क्षेत्रफलको जग्गामा लगाएको मकै सखापै बनाएपछि पुरानो थलो छाडेर जान बाध्य भएको बताउँछिन ।
तीन तलाको वरण्डा सहितको घर छाडेर तानसेनमा एउटा कोठामा सीमित हुन परेकोमा आफू मानसिक रूपमा अस्वस्थ्य भएको बताउने तिनाउ गाउँपालिका कोलडाँडाकी बाल कुमारी राना भन्दछिन वँदेलले उठिबास नै लगायो । पछिल्लो समयमा बाँदरका कारण तानसेन बजार, कसेनीको सराई, रुप्सेको खहरे मदनपोखराको दमकडा, रामपुरको रामपुर बजारमा बसाई सरेर बसोबास गर्नेको संख्या दिनप्रति दिन बढदै गएको स्थानीय सरकारका प्रमुखहरू बताउँछन ।
स्थानीय सरकारले कृषिमा ठुलो लगानी गरेको लगानीको राम्रो प्रतिफल आउन नसक्नु भनेको वन्य जन्तुको समस्या हो । सरकारले वन्य जन्तुलाई नियन्त्रणमा नल्याए गाउँ रित्तिने विषयमा दुईमत नभएको रैनादेवी छहराका अध्यक्ष रुक्मागत भट्टराई बताउँछन । कृषिमा यान्त्रिकरण आधुनिकीकरण, उन्नत जातको बिउ बिजन देखि गाउँगाउँमा संकलन केन्द्र स्थापना भएका छन । आलु, मुला, तरुल, बोडी सिमी जस्ता तरकारीका खेतिहरू गर्न नै नपर्ने भएको छ । कृषकले दुःख गरेर लगाएको अन्न वाली निमेस भर मै वन्यजन्तुले सखापै बनाए पछि कृषकको मन नै खुम्चिएको छ । यस्ता वन्य जन्तुु नियन्त्रणका लागि सरकारले नीति नियम नबनाए केही वर्ष मै उर्वर भूमि जंगलमा परिणत हुने रिब्दीकोट गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारी बताउँछिन् ।