© २०२३
सल्यान, २६ साउन । सल्यानबाट एक वर्षको अवधिमा नौ लाख ८७ हजार ९७ किलो जडिबुटि निकासी भएको छ । राष्ट्रिय वनबाट संकलन भएको चार लाख ४१ हजार १०५ किलो र निजी आवादीबाट संकलन भएको पाँच लाख ४५ हजार ९९२ किलो जडिबुटी जिल्ला निकासी भएको डिभिजन वन कार्यालय सल्यानले जनाएको छ ।
आर्थिक वर्ष २०७९/०८० मा सल्यानबाट निजी आवादी तथा राष्ट्रिय वनबाट विभिन्न प्रजातिका जडिबुटी संकलन गरी निर्यात गर्दा २२ लाख ४८ हजार ५० रूपैयाँ राजस्व प्राप्त भएको डिभिजन वन कार्यालय सल्यानका सूचना अधिकारी विजय पुलामीले जानकारी दिए । जिल्लाबाट सबैभन्दा बढी रिठा निकासी भएको छ । राष्ट्रिय वनबाट दुई लाख ५० हजार किलो र निजी आवादीबाट तीन लाख ६० हजार ३०० किलो गरेर ६ लाख १० हजार ३०० किलो निर्यात भएको सूचना अधिकारी पुलामीले बताए ।
गत वर्ष सल्यानबाट टिमुर राष्ट्रिय वनबाट ९१ हजार किलो र जिनी आवादीबाट एक लाख ५५ हजार २७ किलो निकासी भएको छ भने तेजपात राष्ट्रिय वनबाट ८५ हजार किलो र निजी आवादीबाट ३० हजार ६६५ किलो निर्यात भएको कार्यालयको तथ्यांकमा उल्लेख छ । जिल्लाबाट घोडताप्रे, तिगेडी, अमला, चुथ्राको डाँठ र बोक्रा, काउलोको बोक्रा, गोकुलधुप, पाखनवेद लगायतका जडिबुटी संकलन र निकासी हुने गरेको छ ।
अघिल्लो आर्थिक वर्ष २०७८/०७९ मा सल्यानबाट ६ लाख ७५ हजार ८९ किलो जडिबुटी निकासी भएको थियो भने आ.व. २०७७/०७८ मा सात लाख ७५ हजार १७४ किलो र आ.व. २०७६।०७७ मा ६ लाख ३१ हजार ८०० किलो जडिबुटी निकासी भएको डिभिजन वन कार्यालयले जनाएको छ । जिल्लामा छत्रेश्वरी गाउँपालिका, शारदा, बनगाड कुपिण्डे नगरपालिका लगाएतका क्षेत्रबाट सबैभन्दा बढी टिमुर संकलन र निकासी हुने गरेको छ भने त्रिवेणी, छत्रेश्वरी गाउँपालिका र बागचौर नगरपालिकाबाट अन्यत्रको तुलनामा बढी रिठा संकलन हुनेगरेको छ । यस्तै बनगाड कुपिण्डे नगरपालिका, कुमाख, दार्मा लगाएतका क्षेत्रबाट चुथ्राको बोक्रा र कालिमाटी, त्रिवेणी, कपुरकोट गाउँपालिका लगाएतको क्षेत्रबाट तेजपात संकलन हुनेगरेको कार्यालयले जनाएको छ ।
जडिबुटी खेतीका लागि प्रचूर सम्भावना रहेको सल्यानमा यसको खेती विस्तारका लागि डिभिजन वन कार्यालय संगै वनस्पति अनुसन्धान केन्द्र मुलपानीले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छन् । विभिन्न जडिबुटी तथा वनस्पतिका विरुवा उत्पादन तथा वितरण, वृक्षारोपण अभियान, खेती विस्तारका कार्यक्रम सञ्चालन भइरहेका छन् ।