© २०२३
विश्व आर्थिक मन्दीको असर अझैपनि हटेको छैन । आर्थिक मन्दीले केवल बजारमा प्रभाव परेको मात्र छैन, बजारमा आउने बस्तु अर्थात सामान उत्पादन गर्ने उद्योगमाथि झनै ठूलो असर परेको छ । नेपालमामात्रै होइन विश्वकै ठूला ठूला उद्योगहरू आर्थिक मन्दीका कारण बन्द भएका छन । आर्थिक मन्दीले विश्वलाई प्रभावित गरिरहँदा रूपन्देहीका उद्योगलाई पनि प्रभावित गरेको छ । रूपन्देहीमा पछिल्लोसमय आर्थिक मन्दीको असरकै कारण २१७ वटा उद्योग बन्द भएको सार्वजनिक भएको छ । जसका कारण १२ हजार श्रमिक मजदुरले रोजगारी गुमाएका छन ।
जिल्ला घरेलु तथा साना उद्योग कार्यालय भैरहवाका अनुसार यो आर्थिक वर्षमा २१७ उद्योग बन्द भएका छन । बन्द हुनेमा उत्पादनमूलक उद्योगमा ८४, कृषि तथा वनजन्य उद्योगमा १९, सेवामूलक उद्योग ६३ र पर्यटन उद्योगमा ५१ रहेका छन् । त्यसैपनि नेपालमा रोजगारीको अवसर पर्याप्त नहुँदा युवाहरू विदेश पलायन भैरहेको स्थितिमा रूपन्देहीमै यतिधेरै संख्यामा उद्योग बन्द हुँदा त्यसले पु¥याउने असर गंभीर हुने अवस्था छ । उद्योगीहरू अनिश्चित लोडसेडिङ, बढ्दो आर्थिक मन्दी, बैङ्कको चर्को ब्याजदर र सरकारी नीति उद्योगमैत्री नहुनु र लगानीको बाताबरण समेत प्रभावकारी नहुँदा बन्दको अवस्थामा पुगेको गुनासो गर्छन । निश्चितरूपमा सरकारी प्रोत्साहन छैन ।
उद्योग चलाउन खोज्नेहरू सरकारी नीतिका कारण अरू क्षेत्रमा विस्थापित हुनुपर्ने अवस्था छ । जसका कारण उद्योग बन्द हुने क्रम बढेको छ । रूपन्देहीमा एक वर्षमै २ सय १७ उद्योग बन्द हुँदा यहाँका उद्योगीहरूको अवस्था कता जाँदैछ भन्ने गंभीर चिन्ता उत्पन्न गरेको छ । यसअघि रूपन्देहीमा कोभिड महामारी र त्यसपछि बैंकको व्याजदर लगायतका कारण उद्योगीहरू समस्यामा थिए । कोभिडपछि सुरु भएको आर्थिक मन्दीका असर अहिलेपनि उस्तै छ । जसको प्रत्यक्ष प्रभाव रूपन्देहीका उद्योगमाथि परिरहेको छ । उद्योगीहरू उद्योग बन्द हुनुमा भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरूपमा सञ्चालनमा नआउनु, बैङ्कको ब्याज र बजारको समस्या रहेको सुनाउँछन । साना उद्योग सञ्चालनको समस्या बढी देखिएको अवस्थामा केही ठूला उद्योगहरूले आफ्नो उत्पादन क्षमता २५ देखि ४० प्रतिशतसम्म कटौती गर्न बाध्य भएका छन ।
देशमा धमाधम उद्योग व्यवसाय समस्यामा परिरहँदा राज्यका जिम्मेवार निकायहरू भने गंभीर देखिएका छैनन् । कोभिडपछि उपयुक्त अर्थ नीति अपनाउने संसारका अरू धेरै मलुकको अर्थतन्त्र लयमा फर्किसकेको बेला नेपाल अपवादमै छ । सरकारले अर्थतन्त्रलाई गति दिने नाममा गरिने नीतिगत परिवर्तन र राज्यको अनुदानको लाभ ठूला उद्यमी व्यापारीले मात्र पाएको गुनासो साना तथा मझौला व्यवसायीले गरेका छन् । देशको अर्थतन्त्र भने साना र मझौला उद्योग व्यवसायमा निर्भर देखिन्छ । धेरै उद्योगी व्यवसायीले बैंकहरूको ब्याज दरका कारण व्यवसाय छाड्नु परेको गुनासो गरेका छन् । नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिले उद्योगीहरूमा उत्साहको संचार गर्न सकेन । समस्या रूपन्देहीको मात्र होइन देशैभरी अहिले अधिकांश साना र मझौला उद्योग बन्द हुँदैछन् । यस्तै धेरै व्यापारीले पसल विक्रीमा भएको सूचना टाँसेका छन् । तर, राज्यका जिम्मेवार पदाधिकारी भने टालटुले अभ्यासमा रमाएका छन् । उता बैंकहरू व्यवसायीलाई कालो सूचीमा राख्न र धितो लिलाम गरेर सम्पत्ति बढाउने र सेयरधनीलाई लाभांश दिनेमै केन्द्रित देखिएका छन । कालोसूचीमा परेपछि इमानदार उद्यमी र व्यवसायी व्यवसायबाटै पलायन हुनुपर्ने हुन्छ । यही अवस्थामा देश कहाँ पुग्ला ? चिन्ताजनक अवस्था छ ।
अव सरकारको हातमा छ– देशको उद्योग व्यवसाय जोगाउने कुरा । सरकारले उद्योगी व्यवसायीलाई राहत दिने हो भने उद्योग संरक्षण सम्वन्धि प्रभावकारी कार्यक्रम सार्वजनिक गरोस् । होइन भने यही अवस्थामा अव उद्योग व्यवसाय धेरै बन्द हुनेछन । राज्यबाट उद्योग व्यवसायलाई कुनैपनि प्रकारको प्रोत्साहन छैन । उल्टै करका नाममा सास्ती बढ्दै गएको छ । सानो उद्योग दर्ता गर्न पनि महिनौ लाग्ने कानुनी जटिलता छन् । कर्मचारीहरू उद्योगी व्यवसायीलाई दुहुनो बनाउन चाहन्छन । उद्योगमैत्री नीतिको अभाव छ । अनि कसरी होला नेपालको औद्योगिक विकास ? बन्द भएका उद्योग खोल्नेतर्फ सरकारको रुची नै छैन । बुटवल धागो कारखाना सञ्चालन भएमात्रै पनि करिव एक हजार युवा श्रमशक्ति रोजगारीमा जोडिने थिए । त्यस्तै नीजि स्तरका धेरै उद्योग छन जसले हजारौं रोजगारी दिन सक्छन । अव धेरै ढिलो भैसकेको छ– सरकार उद्योग व्यवसाय संरक्षण गर ।