© २०२३
सम्वत् २०७८ माघ २५ गते मंगलबार खेमराज मृत्युसँग हारे । तर हारेर पनि उनले जितेर गएका छन् । भौतिक रुपमा मरेर पनि उनी सदा सर्वदा बाँच्ने गरी गएका छन् । किनभने आफू बाँच्ने र अरुलाई बचाउने उनको जीवन दर्शन थियो । हारेर पनि जित्ने र मरेर पनि बाँच्ने उनको जीवनबोध थियो ।
000
एक करोड ३२ लाख रुपैयाँ एउटा सामान्य नेपालीका लागि बहुतै ठुलो रकम हो । अचानक, ५९ वर्षको अल्प आयुमै महायात्रामा निस्कँदा त्यत्रो रकम मानवीय सेवाका लागि सहयोग गरी जानु भनेको महान् कीर्तिस्तम्भ नै खडा गर्नु हो । सेवाको त्यो धरोहर खडा गर्ने धरहरा, खेमराज पुन लाखौंलाख प्रियजनहरुलार्ई रुवाउँदै बुधबार मध्यदिन बुटवलको मगरघाटबाट धुवाँ बनेर महायात्रामा निस्केका छन् ।
त्यस अघि उदास बिहानमा शोकाकुल बुटवलले आँसु खसाल्दै उनको लौकिक शरीरलाई मायाले हेरेको थियो । उनलाई पुष्पगुच्छा र मनको श्रद्धाले सुम्सुम्याएको थियो । ३६ वर्ष अघिबाट बुटवलमा सबैको साझा र प्यारा, उनको महायात्राको साक्षीस्वरुप सबै क्षेत्रका सयौं मानिसहरु जुटेका थिए ।
सम्वत् २०७८ माघ २५ गते मंगलबार खेमराज मृत्युसँग हारे । तर हारेर पनि उनले जितेर गएका छन् । भौतिक रुपमा मरेर पनि उनी सदा सर्वदा बाँच्ने गरी गएका छन् । किनभने आफू बाँच्ने र अरुलाई बचाउने उनको जीवन दर्शन थियो । हारेर पनि जित्ने र मरेर पनि बाँच्ने उनको जीवनबोध थियो ।
कारागारमा रहेका महिला बन्दीहरुका असहाय छोराछोरीको कापीकिताबका बीचमा मजुरको रङ्गीन प्वाँख बनेर उनी बाँचिरहनेछन् । तिनका खाजाका बट्टामा अभिभावकको माया बनेर बाँचिरहनेछन् । अनेक कारणले शिक्षा र स्वास्थ्यबाट वञ्चित बालबालिकाको झोलाभित्र कापी र किताब बनेर बाँचिरहनेछन् । तिनका पेन्सिल–इरेजर बनेर बाँचिरहनेछन् । तिनले श्रद्धापूर्वक आ–आफ्ना मनमा कोरेको एक सत्पात्रको तस्वीर बनेर बाँचिरहनेछन् ।
खेम ओमी पुन कल्याणकारी प्रतिष्ठानको आर्थिक सहयोगमा पढेर देशको दुर्गम ठाउँहरुमा असहाय विमारीहरुको सेवा गरिरहेका चिकित्सकहरुको चम्किलो सेतो एप्रोनमा उनी चम्किरहनेछन् । राष्ट्रको पुनर्निमाण गरिरहेका इन्जिनियरहरुको औजारहरुमा उनी चम्किरहनेछन् । कानुन, वनविज्ञान र वित्तशास्त्रमा उच्च शिक्षा हासिल गरी मानवीय कर्ममा होमिएका नयाँ पिढीँका इमान्दार अनुहारमा मुस्कान बनेर बाँचिरहनेछन् ।
जीवनभरि उनले आफ्नो कमाइको ठूलै हिस्सा दानमा दिए । खुद्रामसिना छोडेर खास खास रकम जोड्दा एक करोड ३२ लाख हुँदो रहेछ । तर उनको दाहिने हातले गरेको दान देब्रे हातले थाहा पाएन । देब्रे हातले गरेको दान दाहिनेले थाहा पाएन । उनले कहिल्यै प्रचार चाहेनन् । निरन्तर चुपचाप मानवीय सेवा गरिरहनु नै उनको पहिचान भयो । छोरा राजु पुन र बुहारी सरिता श्रीसको विहेमा उनले कुनै तामझाम गरेनन् । भोजभतेर गरेनन् । बरु १० लाख रुपैयाँमा ‘राजु–सरिता भोजन अक्षयकोष’ राखिदिएर ‘खान पुगोस्, दिन पुगोस्’ भन्ने आदर्श स्थापना गरिदिए । त्यसैले उनी भोका मानिसहरुको तृप्त अनुहार र तिनको रगतमा उर्जा भएर बाँचिरहनेछन् ।
एक दर्जनभन्दा बढी सामाजिक संघसंस्थामा विभिन्न नेतृत्व र भूमिकामा रही समाज सेवाको क्षेत्रमा निरन्तर सेवा गरेका खेमराज अति साधारण मानिस थिए । खाली खुट्टाबाट नै जीवनको यात्रा सुरु गरेका उनी किशोरवयमा जीवन संघर्षको यात्रामा हेलिदै हेलिदै सम्वत् ४२ मा उनी बुटवल आइपुगेका थिए । बुटवल नै उनको कर्मभूमि बन्यो ।
उनको शरीरमा लाहुरेको रगत नै बगिरहेको थियो । संस्कारमा पनि लाहुरे समाज नै घोलिएको थियो । व्यवहारमा मगर जातिको ‘विन्दास’ खानपान थियो तर समयको एउटा बिन्दुमा उनको जीवन यात्राले नयाँ मोड लियो । त्यसपछि उनले जीवन र जगतलाई अनेक माध्यमबाट पढे । जीवन र मृत्युको बोध भएपछि जिउनुको सार खोज्न थाले । अध्ययन, अध्यात्म, प्रकृति, तथ्य र सत्यमा घोत्लिए । तथ्यमा उभिएर सत्यलाई स्वीकार गर्ने गरी आदत परिवर्तन गरे । अनि त्यही परिवर्तित आदत र अथकित कर्मले उनी सफल व्यवसायी त बने नै तर त्यो भन्दा ठूलो कुरा, उनी मानवीय सेवाको रत्न बने ।
सन् १९६५ को भारत–पाक युद्धमा वीरगति प्राप्त गरेका उनका बाबा नायब सुवेदार मन बहादुर पुन शहीद हुन् । उनी नयाँ दिल्लीको जगत प्रसिद्ध इन्डिया गेटमा आफ्ना सहयोद्धाहरुसँग महान् शौर्य र वीरताका गाथासहित बाँचिरहेका छन् । उनै शहीदका सुपुत्र खेमराज भने आफ्नो कोमल मन, परोपकारी विचार, मानवीय चिन्तन, उच्च मानवीय व्यवहार र दानको कथागाथा बोकेर युगौंयुग बाँचिरहने छन् ।